२ पुस, काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपाने घाइते भएकी थिइन् । उनलाई उपचारका लागि बल्खुस्थित वयोदा अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
‘आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते हुनुभएको थियो । उहाँको आज उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।
यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया 4