२ पुस, सुनसरी । कोशी प्रदेशमा सवारी चालकको लापरबाहीका कारण सबैभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी दुर्घटनामाथि विश्लेषण गर्दै बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालकको कारण सबैभन्दा बढी ८० प्रतिशत दुर्घटना हुने गरेको पाइएको हो । सुनसरीको इटहरीस्थित उक्त कार्यालयले कोशी प्रदेशले हेर्ने गरेको छ ।
चालकको लापरबाहीपछि जथाभावी बाटो काट्ने, ओर्लन र चढ्न हतार गर्ने यात्रु आफ्नै कारण ९.५ प्रतिशत दुर्घटना हुने गरेको कार्यालयले खुलाएको छ ।
सडकको अवस्थाको कारण ५.३ प्रतिशत र ओभर लोड, टायर पन्चर र ब्रेक फेल भएर ४ प्रतिशत दुर्घट्ना भएको तथ्यांकमा उल्लेख छ ।
यी बाहेक मौसम र चौपायाको कारण पनि दुर्घटना हुने गरेका छन् । यी सबैखाले दुर्घटनाका कारण मंसिर महिना भित्रमात्र कोशी प्रदेशमा ३२ जनाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परेर ९ सय ७९ जना घाइते भएका छन् ।
पछिल्लो समय दैनिक सवारी दुर्घट्ना बढी रहेको सन्दर्भमा मंसिर महिनाभित्र भएका सवारी दुर्घटनाको विश्लेषण गर्दा कुल ५ सय ८१ दुर्घट्नामा ८० प्रतिशत अर्थात ४ सय ६५ दुर्घटना चालकको कारण भएको देखाइएको छ ।
तथ्यांक अनुसार मंसिर महिनामा ८ सय ६२ सवारी साधन दुर्घटनामा परेका थिए । ती मध्ये चालकका लापरबाहीमा तीव्रगति, चालकको असक्षमता, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन (मापसे), गलत ओभर टेक, चालक निदाउनु र यान्त्रिक गढबढी रहेका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरिक्षक सन्तोष श्रेष्ठकाअनुसार सडकमा सवारी दुर्घट्ना बढ्नुमा तीव्रगति मुख्य कारण रहेको छ ।
तीव्रगतिका कारण दुर्घटना भएका सवारीसाधनको संख्या २ सय ४७ वटा रहेको छन् । चालकको लापरबाहीले हुने ८० प्रतिशत दुर्घटनामा नियन्त्रण गरिएका ९६ वटा सवारीसाधनका चालक नै असक्षम पाइएको श्रेष्ठले बताए । सवारीसाधन चलाउदा चलाउँदै निदाउने चालकका कारणले पनि दुर्घटना भएका छन् । त्यस्ता चालकहरू २ जना रहेका छन् ।
एक महिनाको अवधिमा कोशी प्रदेशमा ८ हजार ३ सय ३८ सवारी साधन र चालकलाई कारबाही गर्दा ८४ लाख ४४ हजार रुपैया राजस्व पनि संकलन भएको श्रेष्ठले जानकारी दिए । सवारी अवस्था दुरुस्त नहुँदा पनि यात्रु चढाउने मध्ये ५ हजार ५ सय ७५ सवारीसाधन जाँच गर्दा ९ सय ७१ सवारीसाधनलाई दुरुस्त गरेर मात्र यात्रु चढाउन भनेर छाडिएको पनि श्रेष्ठले जानकारी दिए ।
ट्राफिक प्रहरीले मंसिर महिनामा स्वरूप परिवर्तन गरेर ध्वनिप्रदूषण फैलाउने ३३ वटा मोटरसाइकल चालकलाई समेत कारबाही गरेको छ । मापसे गरेर सवारी चलाउने ४ सय ५३ चालकलाई कारबाही गर्दा २ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । मोटरसाइकल हराउनु सामान्य भए पनि हराएको भनिएको तर ट्राफिक प्रहरीले फेला पारेका बोलेरो जिप ५ थान अनुसन्धानका क्रममा रहेका छन् ।
प्रतिक्रिया 4