News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
३ पुस, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ ।
‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको छ ।
फेलोसिप कार्यक्रममा सरकारी प्रतिष्ठानले नै चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिएको भन्दै चिकित्सकहरूले विरोध जनाएका थिए । जसका कारण न्याम्सको फेलोसिप भर्नाको कार्यतालिका नै बिथोलिएको छ । यसअघि १ पुसदेखि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको न्याम्सले शुल्क विवादका कारण भर्ना १५ दिन पछाडि सारेको छ ।
न्याम्सले सञ्चालन गर्दै आएको एक वर्षे फेलोसिप कार्यक्रममा अधिकतम ८ लाख ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । विदेशी चिकित्सकहरूका लागि १८ हजार अमेरिकी डलर तोकेको छ ।
न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतले फेलोशिप कार्यक्रमका प्रशिक्षार्थीलाई मासिक ४८ हजार निर्वाह भत्ता दिने निर्णय गरेको बताए । ‘चिकित्सा शिक्षा आयोगले तोकेको स्नातकोत्तर तहका प्रशिक्षार्थीले पाउने भत्ता बराबरको रकम दिने निर्णय गरिसकेका छौं’ उपकूलपति बस्नेतले भने, ‘अहिले यो ४८ हजार रुपैयाँ छ । सबै सम्बन्धनमा पाएका कलेजलाई पत्र पठाइसकेका छौं ।’
डा. बस्नेतले फेलोशिपको शुल्क परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन भएको बताए । तर, यी विषयहरू विद्यार्थीहरूको वास्तविक समस्याभन्दा पनि चुनावी एजेन्डाको रूपमा बढी उठाइएको उनको दाबी छ । ‘यो मुद्दा अहिले चिकित्सक संघको चुनावी भोट माग्ने माध्यम बन्यो’ डा. बस्नेतले भने ।

प्रतिक्रिया 4