+
+
Shares

गुनासो बढेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले लगायो फुड सप्लिमेन्ट सिफारिसमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकहरूलाई बिरामीको पुर्जामा न्यूट्रास्युटिकल्स नलेख्न कडा निर्देशन दिएको छ।
  • औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले न्युट्रासिटिकल्स चिकित्सकले औषधिको रूपमा प्रेस्क्रिप्सन गर्न नपाइने बताए।
  • प्रतिष्ठानले चिकित्सकलाई औषधि लेखेपछि बिरामीलाई अस्पताल फार्मेसी वा अन्य पसलबाट खरिद गर्ने अधिकार सुनिश्चित गरेको छ।

६ पुस, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सकहरूलाई बिरामीको पुर्जामा न्यूट्रास्युटिकल्स (आहार–पूरक) नलेख्न र नलेखाउन कडा निर्देशन दिएको छ ।

निर्देशन जारी हुनुअघि प्रतिष्ठानका केही प्रोफेसर चिकित्सकले बिरामीको पुर्जामा न्यूट्रास्युटिकल्स लेखेर किन्न लगाएको गुनासो बढ्दै गएको थियो ।

प्रतिष्ठानका एक कर्मचारीका अनुसार चिकित्सकले दैनिक दजनौं पुर्जामा न्यूट्रास्युटिकल्स लेखेर बिरामीलाई किन्न पठाउने गरेका छन् ।

‘बट्टामै ‘औषधीय प्रयोगका लागि होइन भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर चिकित्सक कमिसनको नाममा यस्तो काम गर्दै आएका छन्,’ प्रतिष्ठानका ती कर्मचारीले भने ।

कमिसनको लोभमा महँगा, प्रतिबन्धित र औषधीय प्रयोजनमा नपर्ने वस्तुहरू निमुखा बिरामीलाई लेखेर आर्थिक र स्वास्थ्य हानी भइरहेको ती कर्मचारीको भनाइ छ ।

प्रतिष्ठानमा चिकित्सकको सल्लाहमा शरीरको कमजोरी कम गर्न भन्दै फुड सप्लिमेन्ट खाने क्रम बढेको छ ।

विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल पुगेकाहरूलाई चिकित्सकले कमजोरी हटाउन यस्ता सप्लिमेन्ट ‘प्रेस्क्राइब’ गर्ने गरेको ती कर्मचारी बताउँछन् ।

यस्ता सप्लिमेन्ट चिकित्सकले प्रेस्क्राइब गर्न हुने वा नहुने विषय बेलाबेलामा उठिरहन्छ ।

कतिपय स्वास्थ्य संस्थाले न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्दा बिरामीको स्वास्थ्यमा जटिलता निम्तिने हुँदा यसमा विशेष सावधानी अपनाउन निर्देशन दिएका छन् ।

सबैतिर विरोध सुरु भएपछि आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युट्रासिटिकल्स प्रतिष्ठानमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रेस्क्राइब गर्न रोक लगाएको छ।

प्रतिष्ठानले शिक्षक तथा कर्मचारीहरूको व्यावसायिक विकास, अनुशासन र संस्थागत सुशासन कायम गर्ने उद्देश्यसहित ६ बुँदे सर्कुलर जारी गरेको छ ।

‘प्रतिष्ठानका चिकित्सकले बिरामीलाइ औषधि लेख्दा न्यूट्रास्युटिकल्स नलेख्नुहुन् र नलेखाउनहुन् हुन् निर्देशन दिइन्छ,’ सर्कुलरमा भनिएको छ ।

तर नेपाल चिकित्सक संघले न्युट्रासिटीकल्स, फुड सप्लीमेन्ट र डाइट्री सप्लीमेन्ट ९पूरक आहार० बिरामीलाई प्रेस्क्राइब गर्नु पाउनुपर्ने दाबी गर्दै आएको छ ।

विभाग भन्छ – आहार–पूरक नाममा औषधि बिक्रीले स्वास्थ्य जोखिम पर्छ

औषधी व्यवस्था विभागका अनुसार न्युट्रासिटीकल्स, फुड सप्लीमेन्ट र डाइट्री सप्लीमेन्ट (पूरक आहार) चिकित्सकले औषधीको रुपमा प्रेस्क्राइब गर्न पाइँदैन ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार औषधिको रूपमा प्रयोग हुने धेरै भिटामिन तथा खनिजयुक्त उत्पादनहरू ‘आहार–पूरक’ भन्दै बिक्री–वितरण हुनु नागरिकको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ ।

‘विभागले आहार पूरकको नियमन गर्दैन । यदि कसैले आहार पूरकको नाममा औषधि बेचेको पाइयो भने मात्र हाम्रो क्षेत्राधिकारमा आउँछ,’ उनले भने ।

चिकित्सकहरूले प्रिस्क्रिप्सन गर्दा प्रमाणमा आधारित हुनुपर्ने उनको भनाइ छ ।

‘चिकित्सकले तथ्य, अनुसन्धान र प्रमाणित खोजका आधारमा मात्र औषधि सिफारिस गर्नुपर्छ। अन्दाजमा दिने कुरा हुँदैन,’ उनले भने ।

दर्ता नभएका उत्पादन प्रिस्क्रिप्सन गर्न नहुने भन्दै बजारमा उपलब्धताका आधारमा मात्र हेर्दा स्वास्थ्यमा जोखिम बढाउने पूरक आहार पाइएको उनको भनाइ छ ।

सरकारले २०४९ मा राजपत्रमा प्रकाशित गर्दै केही समिश्रणहरूलाई प्रतिबन्ध लगाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार औषधि विभाग र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबीचको विवादित उत्पादनलाई दुवै निकायले छुट्टै सूचीकरण गर्नुपर्ने भएपनि अझै स्पष्टता नआएको ढकालले बताए ।

‘बजारमा खाद्यबाट अनुमति लिएका तर औषधीय तत्व मिसिएका उत्पादन भेटिएका छन् । यस्ता उत्पादनले नागरिकलाई औषधि खाएजस्तो भ्रम दिन्छ, तर गुणस्तरीय र सुरक्षित भन्ने सुनिश्चित हुँदैन,’ ढकाल भन्छन् ।

उदाहरणका लागि भिटामिन डी अत्यधिक सेवन गर्दा हानिकारक हुने, खनिज तथा एन्टीअक्सिडेन्ट नामका केमिकल तत्वहरूको अध्ययन नभएको र सम्भावित हानि हुने उनको भनाइ छ ।

विभागमा दर्ता भएका सीमित उत्पादनहरूमा भिटामिन बी कम्प्लेक्स, भिटामिन ए, डी, क्याल्सियम, मल्टिभिटामिन लगायतका छन् । तर बजारमा अनुमति नलिइ मिसावट गरिएका उत्पादनहरूको समस्या बढ्दो छ ।

त्यसैगरी प्रतिष्ठानले चिकित्सकले औषधि लेखेपछि बिरामीलाइ अस्पतालकै फार्मेसी पठाउन र त्यहाँ उपलब्ध नभएमा बिरामीलाई स्वेच्छाले अन्य औषधि पसलमा खरिद गर्ने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरेको छ ।

यसैगरी, तोकिएको समयमा हाजिरी अनिवार्य गर्न, ड्युटी समयपछि समेत हाजिरी गर्नुपर्ने, अनुपस्थित भएमा लिखित सिफारिस आवश्यक हुने तथा हाजिरी नपुगेमा तलब रोक्का वा कटौती हुने प्रावधान स्मरण गराइएको छ ।

विभागीय प्रमुख तथा प्राध्यापकहरूले विदा लिँदा सम्बन्धित पदाधिकारीमार्फत उपकुलपतिको कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि सर्कुलरमा समेटिएको छ ।

फस्र्ट अनकल ड्युटी गर्ने शिक्षक तथा कर्मचारीलाई हप्तामा शनिबारसहित मात्र विदा दिइने, शनिबार र अनकल ड्युटीको भुक्तानी विभागीय प्रमुखको सिफारिस र निर्देशकको कार्यालयको प्रमाणिकरणपछि मात्र हुने व्यवस्था गरिएको छ ।

साथै, प्रत्येक शाखा तथा प्रमुखले साताको पहिलो दिन हुने बैठकमा आफ्नो शाखाको साप्ताहिक प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्नुपर्ने उल्लेख छ । प्रतिष्ठानले यसअघि पनि समय–समयमा यस्ता निर्देशन जारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?