News Summary
Generated by OK AI. Editorially reviewed.- रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ सेयर खुलाएको छ।
- कम्पनीले आईपीओबाट प्राप्त रकम उद्योगको क्षमता विकासमा खर्च गर्ने जनाएको छ।
- आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
७ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ ।
सर्वसाधारण समूहमध्येको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुलेको हो ।
बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएकाले सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ पर्नेछ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले आईपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । अधिकतम २० हजार कित्तासम्म आवेदन भर्न सकिनेछ ।
वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।
सर्वसाधारणले आगामी शुक्रबारसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ सम्म लम्बिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कस्तो छ कम्पनी ?
यो करिब ३ दशकअघि स्थापित धागो उत्पादक तथा निर्यातमूलक कम्पनी हो । सुनसरीको खनार र दुहबीमा यसका दुई वटा धागो कारखाना प्लान्ट छन् । कम्पनीले केयर रेटिङबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व बहनमा सक्षम रहेको जनाउँछ ।
कम्पनीमा करिब ४ हजार कर्मचारी छन् । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुन्छ ।
कम्पनीले सेयर बिक्रीबाट गर्ने आम्दानीलाई कुनै ऋण घटाउन वा घाटा पूर्तिका लागि नभई उद्योगको क्षमता विकास गर्न खर्च गर्ने जनाएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्याउँदै ८४४ प्रतिशतको छलाङ मारेको छ । प्रतिसेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ ।
कम्पनीको पछिल्लो ५ वर्षको प्रतिसेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ ।
मंसिर पहिलो साता सार्वजनिक लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।
प्रतिक्रिया 4