+
+
Shares

भारतमा नेपाली संस्थापक भएको लेनदेन क्लब आईपीओ जारी गर्दै

नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’को सञ्चालक भार्टिस प्लाटफर्म्स आईपीओमा जाने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भार्टिस प्लाटफर्म्सको सहसंस्थापक दीपेश कार्कीको कम्पनी लेनदेन क्लब आगामी १८ देखि ३६ महिनाभित्र आईपीओमा जाने तयारीमा छ।
  • लेनदेन क्लब भारतको सबैभन्दा ठूलो पियर–टु–पियर कर्जा प्ल्याटफर्म हो र ९५ प्रतिशत बजार हिस्सा ओगटेको छ।
  • सन् २०२५ मा कम्पनीले २ अर्ब ३६ करोड भारु आम्दानी र ३४ करोड रुपैयाँ नाफा कमाएको छ।

२८ मंसिर, काठमाडौं । नेपाली युवा दीपेश कार्की सहसंस्थापक रहेको भारतको सबैभन्दा ठूलो पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’को सञ्चालक भार्टिस प्ल्याटफर्म्स आईपीओमा जाने भएको छ ।

यो कम्पनी कार्की र उनको साथी भविन पटेल मिलेर खोलेका हुन् । पटेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् भने कार्की प्रमुख टेक्नोलोजी अधिकृत छन् ।

आगामी १८ देखि ३६ महिनाभित्र प्रारम्भिक सार्वजनिक सेयर निस्कासन (आईपीओ) का लागि तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पटेललाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

‘हामी यसको अन्तिम तयारीमा छौं, आगामी १८ देखि ३६ महिनाको समयसीमा भित्र यो काम गरिसक्ने लक्ष्य निर्धारण गरेका छौं,’ पटेलले रोयटर्ससँग भनेका छन् ।
लेनदेन क्लब भारतमा सूचीकृत हुने पहिलो पीटुपी कर्जा प्रदायक बन्न सक्ने उनले बताएका छन् ।

पीटुपी लेन्डिङ यस्तो डिजिटल प्ल्याटफर्म हो, जसले ऋण लिने र दिनेलाई बैंक वा वित्तीय संस्थाको संलग्नता विना सिधै आपसमा जोडिदिन्छ । यो प्रणालीमा आबद्ध ऋणदाताले आफूसँग भएको पैसा अर्को व्यक्तिलाई सिधै ऋण दिन सक्छन्, ऋण लिनेले पनि सजिलै पाउन सक्छन् ।

विराटनगरमा जन्मे हुर्केका दीपेशले सन् २०२५ मा साथी भविन पटेलसँग मिलेर मुम्बईमा लेनदेन क्लब स्थापना गरेका थिए । उनले भारतको प्रतिष्ठित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका छन् । कार्की अनलाइनखबरको ‘४० मुनिका ४०, २०८२’ सूचीमा पनि परेका छन् ।

‘यो यात्रा लामो थियो, उत्साहले भरिएको थियो र कठिन पनि थियो। तर आज हेर्दा यो लक्ष्य सम्भव देखिन्छ। उद्यमशीलताले फल दिन्छ भन्ने यो एउटा उदाहरण बनोस् र यसले नेपालका युवामा उद्यमशीलताप्रति नयाँ विश्वास जगाओस् भन्ने मेरो चाहना हो’ उनले भने ।

लेनदेन क्लब ९५ प्रतिशत बजार हिस्सासहित भारतको सबैभन्दा ठूलो पीटुपी लेन्डिङ प्ल्याटफर्म बनेको छ ।

सन् २०२४ मा भारतीय रिजर्भ बैंक (आरबीआई)ले यो व्यवसायमा कडा नियम लागु गरेपछि पीटुपी लेन्डिङ प्ल्याटफर्मको व्यवसायमा अत्यन्तै सुस्तता आएको छ भने उच्च अनुपालन लागतको सामना गर्नुपरेको छ । आरबीआईले ऋणको स्रोतसम्बन्धी मापदण्डलाई कडा बनाएको थियो भने सुनिश्चित प्रतिफलमाथि प्रतिबन्ध लगाएको थियो ।

आरबीआईले गत वर्ष २०२४ मा पीटुपी प्लाटफार्मका लागि कडा नियम बनाएपछि पीटुपी लेन्डिङको काम गरिरहेका धेरैजसोको सञ्चालन बन्द भएका थिए । यस्तो अवस्थामा लेनदेन क्लबले भारतको पीटुपी लेन्डिङ बजारको अधिकांश हिस्सा ओगटेको थियो ।

आरबीआईले २०१७ मा ‘पियर–टु–पियर लेन्डिङ प्लाटफार्म निर्देशिका’ ल्याएर यस्ता कम्पनीमाथि नियमन थालेको थियो । त्यसपछि मात्रै २०१८ मा आएर पीटुपी लेन्डिङ प्ल्याटफर्मले लाइसेन्स पाएका थिए । लेनदेन क्लबले पनि त्यहीबेला यो सेवा दिने गरी लाइसेन्स पाएको थियो ।

२०२३ मा आरबीआईले त्यो निर्देशिका पालना गरे/नगरेको भनेर अनुसन्धान गरेको थियो । त्यस क्रममा सबैजसो यस्ता प्ल्याटफर्मले निर्देशिका पालना नगरेको पाइएपछि आरबीआईले ठूलो मात्रामा जरिवाना पनि तिराएको थियो ।

आरबीआईको नियमपछि पनि लेनदेन क्लब भने सम्पूर्ण नियम अनुपालना गर्दै अघि बढेको प्रमुख टेक्नोलोजी अधिकृत कार्कीले बताए । ‘आरबीआईको कडाइपछि भारतमा यो क्षेत्रमा काम गरिरहेको प्रमुख लेन्डिङ प्ल्याटफर्म लेनदेन क्लब मात्रै हो ।

त्यो निर्देशिका आइसकेपछि धेरै प्लेटफार्मले आफ्नो व्यवसाय बन्द गरे, केहीले व्यवसायको आकार व्यापक मात्रामा घटाएका छन् । त्यसो हुँदा त्यो नीतिगत परिवर्तनपछि हामीले करिब ९५ प्रतिशत बजार हिस्सा कायम गरेका छौं’, उनले केही समयअघि अनलाइनखबरसँग भनेका थिए ।

त्यसपछि लेनदेन क्लबले आफ्नो व्यवसाय पनि विस्तार गर्न सफल भएको छ । वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीले २ अर्ब ३६ करोड भारु आम्दानी गरेको छ भने ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । लेनदेन क्लबमार्फत हालसम्म १ खर्ब ७६ अर्ब भारु ऋण वितरण भइसकेको कम्पनीले जनाएको छ ।

यो प्ल्याटफर्म मार्फत ३ करोड २५ लाखले ऋण लिइसकेको पनि कम्पनीले वेबसाइटमा राखेको सूचनामा उल्लेख छ । आईपीओमा जानुअघि १ अर्ब भारुभन्दा बढी नाफा पुर्‍याउने तथा लेखासँग सम्बन्धित अभ्यासलाई अन्य सूचीकृत कम्पनीहरुको जस्तै बनाउने गरी पुनर्संरचना गर्ने लक्ष्य निर्धारण गरेको सीईओ पटेललाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

‘धेरै आन्तरिक पुनर्संरचनाका काम हुनुपर्ने छ, हामीले गएका दुई त्रैमासिकहरूदेखि नै यो गर्न सुरु गरिसकेका छौं,’ पटेलले भनेका छन्

चालु आर्थिक वर्षमा कम्पनीले ३ अर्ब २० करोडदेखि ३ अर्ब ५० करोड भारुसम्म आम्दानी गर्ने र नाफा ५० देखि ६० करोड पुर्‍याउने अपेक्षा गरेको पटेलले रोयटर्सलाई बताएका छन् ।

भार्टिस प्ल्याटफर्म्स ले कर्जा बजार इन्स्टामनी तथा प्रविधि कम्पनी भार्टिस वन पनि सञ्चालन गर्छ । ‘अर्थ क्यापिटल’ र ‘टस्कन भेन्चर्स’ले सहयोग गरेको यस फर्मले पछिल्लो पटक २०२१ मा पहिलो चरणको लगानी जुटाएको थियो ।

यो पनि हेर्नुहोस्

भारतमा पौने खर्बको कम्पनीका नेपाली मालिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?