+
+
Shares

रिलायन्स स्पिनिङको आईपीओ सर्वसाधारणलाई पुस ७ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ।
  • सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर खुल्ने र न्यूनतम ५०, अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
  • कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ४८ करोड नाफा गरेको छ र स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ।

२८ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि खुल्ने भएको छ । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने छ ।

सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।

नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय भई आईपीओ निष्कासन हुनेमा यो दोस्रो कम्पनी हो । यसअघि शिवम् सिमेन्टको आईपीओ मूल्य बुक बिल्डिङ विधिबाट तय भएको थियो ।

रिलायन्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया फेरि अघि बढेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व वहनमा सबल स्तरमा रहेको जनाउँछ । २०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिनिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।

युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ ।

मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो रकम ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।

गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?