७ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ । प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो ।
यसअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लै बलियो छ । सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्य छन् । ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।
प्रदेश सभामा कांग्रेस १८ सिटसहित ठूलो दल छ । माओवादी केन्द्र ११, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र एक/एक जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहतर्फ कांग्रेसको प्रमुख ४० र ४६ उपप्रमुख छन् भने एमालेले प्रमुख र उपप्रमुख गरेर ५०, माओवादी केन्द्रको २४ रहेको छ ।
सुदूरपश्चिम प्रदेशको मतभारमा कांग्रेस ठूलो दल छ । एमाले दोस्रो, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रोमा छ ।
प्रदेश सभामा नेकपाले एमालेलाई उछिनेतापनि स्थानीय तहमा रहेको एमालेको प्रमुख र उपप्रमुखको संख्याले एमालेलाई समग्र मतभारमा दोस्रो स्थानमै राखेको हो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला तीन दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने कांग्रेस अगाडि छ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी ११ माघमा हुँदैछ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार १९ पुस बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/रउजुरी माथि छानबिन गरी २२ पुस दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
२३ पुस बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।
२४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा नाम फिर्ताका लागि उम्मेदवारलाई समय दिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
२८ पुसमा उम्मेदवारले निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।
११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिक्रिया 4