७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि फरक फरक नाम सिफारिस हुन थालेपछि किचलो सुरु भएको छ ।
विशेषगरी काठमाडौंका विभिन्न क्षेत्रहरूमा संस्थापन र इतर पक्षले फरक फरक नाम सिफारिस गर्न थालेका हुन् ।
काठमाडौं–४ मा दुई पक्षले फरक फरक नामहरू सिफारिस गरेको छ ।
संस्थापन पक्षले सोमबार बिहान आठ जनाको नाम सिफारिस भएको जानकारी गराएको थियो ।
काठमाडौं– ४ को क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आठ जनाको नाम सिफारिस गरेको जानकारी गराएको थियो ।
संस्थापन पक्षबाट सार्वजनिक गरिएका नामहरूमा काठमाडौं–४ मा भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, अनिता विमली, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं थिए ।
सोमबार दिउँसो संस्थापन इतरले सिफारिस भएका अन्य नामहरू बाहिर ल्याएको छ । रिद्दिप्रताप राणालाई पहिलो नम्बरमा राखेर प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । संस्थापनइतरले सिफारिस भएका भनि बाहिर ल्याएका नामहरूमा रिद्दीप्रताप राणा, हरिकृष्ण मगर, रोमन तन्दुकार र सुनिता पाण्डे छन् ।
काठमाडौं–२ बाट केन्द्रीय सदस्य कुन्ती पोखरेलसहित ८ जनालाई प्रत्यक्षतर्फ सिफारिस गरिएको संस्थापन पक्षले जनाएको छ । पोखरेल गत निर्वाचनमा यस क्षेत्रको प्रतिस्पर्धी उम्मेदवार हुन् ।
अर्कोतर्फ, संस्थापनइतरले काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडालाई पहिलो नम्बरमा राखेर पाँच जनाको नाम सिफारिस गरेको छ । संस्थापनइतरले प्रत्यक्षतर्फ नवराज सिम्खडा, शशी सिलवाल, सुजित के.सी, कुन्ती पोखरेल, दिपक के.सी र मणि सिम्खडाको नाम सिफारिस गरिएको छ । काठमाडौं–२ को क्षेत्रीय अध्यक्ष विन्दु विष्टले सोमबार क्षेत्रीय समितिले गरेको निर्णयमा पहिलो नम्बरमा नवराज सिम्खडाको नाम उल्लेख गरिएको छ ।
यसअघि काठमाडौं–१ बाट क्षेत्रीय समितिले नाम सिफारिस गर्दा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नामबिना पठाइएको थियो । क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति समशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए । प्रत्यक्षतर्फ राणासहित शोभित उप्रेति, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको थियो ।
संस्थापन पक्षका क्षेत्रीय अध्यक्षले वरिष्ठ उपाध्यक्ष मिश्रको नाम समावेश नगरी जिल्लामा पठाएपछि विवाद भएको थियो । गत दुई निर्वाचनमा यसै क्षेत्रमा संघीय संसदमा प्रतिस्पर्धा गरेका वरिष्ठ उपाध्यक्ष मिश्रको नाम समावेश नै नगरी सिफारिस गरिएपछि उनी क्रुद्ध भएका थिए ।
सामाजिक सञ्जालमार्फत उनले आक्रोश पोखेका थिए । संस्थापन पक्षप्रति संकेत गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका थिए, ‘बम पड्किऊँ ? सहनुको पनि सीमा हुन्छ । म तथ्यसहित सार्वजनिक रूपमा ‘बम पड्किएँ’ भने के होला ? निरन्तरका षडयन्त्र, आडम्बर, विरोधाभाष र भुठको बेलुन सदाका लागि यसरी फुट्छ कि दुनियाँ चकित पर्नेछ । मैले गत नौ वर्षको राजनीतिमा एक पटक पनि आफ्ना सहधर्मीबारे कहिल्यै नराम्रो बोलेको छैन । यो नै पहिलो हुनेछ । बोलौं ?’
वरिष्ठ उपाध्यक्ष आक्रोशित भएपछि दोस्रोपटक (पुस ६) मा पुन: नाम सिफारिस गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ । मिश्रलाई पहिलो नम्बरमा राखेर काठमाडौं–१ मा रामेश्वर श्रेष्ठ र राम तन्दुकार नाम सिफारिस गरिएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार हुन चाहने व्यक्तिहरूको नामावली महिलासहित ३/३ जनाको दरले प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको निर्णय सहित नामावली संकलन गरी आफ्नो राय संलग्न राखी राप्रपा संसदीय समितिमा ७ दिन भित्र पठाउन अनुरोध गरिएको थियो ।
प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न केन्द्रले तोकेको मापदण्ड अनुसार पठाउन महामन्त्री राजेन्द्र गुरुङले मंसिर २८ मा परिपत्र गरेका थिए । पार्टीमा निरन्तरता, योग्यता, लोकप्रियता, क्षमता, पार्टीमा योगदान र चुनाव जित्ने सम्भावना भएको व्यक्तित्वको नाम सिफारिस गर्न परिपत्र गरिएको थियो ।
२०६४ सालको संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद भएकालाई सिफारिस नगर्ने राप्रपाले जनाएको छ । क्षेत्र, जिल्ला हुँदै उपल्लो तहमा पठाउने विधि भएको उल्लेख गर्दै राप्रपाका एक नेता भन्छन्, ‘क्षेत्रले पठाएको निर्णयमा जिल्लाले रायसहित नाम थप्न सक्ने विधि छ । तर, भाइरल हुनका लागि आफूखुसी नामहरू सार्वजनिक गरिएको छ ।’
प्रतिक्रिया 4