२६ मंसिर, काठमाडौं । काठमाडौं-३ मा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिसको विषयमा नेपाली कांग्रेसभित्र विवाद देखिएको छ ।
क्षेत्रीय कार्यसमितिको शुक्रबारको बैठकमा प्रत्यक्षतर्फ सन्तोष चालिसेको एकल नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएपछि विवाद देखिएको हो । चालिसे यसअघिको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
असन्तुष्ट पक्षले उम्मेदवार सिफारिसमा असन्तुष्ट जनाउँदै क्षेत्रीय कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
क्षेत्रीय कार्यसमितिले पार्टी विधान मिचेर पदको दुरुपयोग गर्दै एक पक्षीय रूपमा उम्मेदवार सिफारिस गरेको उनीहरूको आरोप छ ।
एकलौटी, अपारदर्शी र मनोमानी निर्णयले कांग्रेसको आन्तरिक लोकतन्त्र, संगठनात्मक सुशासन र प्रणालीगत निर्णय प्रक्रियामाथि गम्भीर धक्का पुर्याए भन्दै उक्त निर्णय अस्वीकार्य हुने उनीहरूको भनाइ छ ।
विधि- विधान विपरीत सिफारिसका लागि प्रस्तावित नाम तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पा यस क्षेत्रबाट प्रत्यक्ष तर्फ उम्मेदवार बन्न चाहेका छन् । तर सिफारिसमा उनको नाम परेको छैन ।
प्रतिक्रिया 4