काठमाडौं खाल्डोका प्रसिद्ध किताब पसलहरू चहार्नुहोस्। तिनीहरूका विशाल किताब भण्डारमा तपाईं या त लोकसेवा, शिक्षा सेवा आयोगका किताबहरू भेट्नुहुन्छ या त विश्वसाहित्यका किताबहरू भेट्टाउनु हुनेछ। खासगरी फ्रान्समा मौलाएको अस्तित्ववाद र विसङ्गतवादका साहित्यहरू। आजभन्दा दशकौं अघिका प्रख्यात लेखक शंकर लामिछानेले आफ्ना निबन्ध संग्रहमा कामु, ज्विग आदि लेखकहरूको नाम उल्लेख गरेको प्रसङ्गबाट यो कुरा थाहा हुन्छ कि आजका किताब पसलका अस्तित्ववादी साहित्य किताबका अधिक ग्राहकहरूको नियन्ताहरू वर्तमान भन्दा पनि अतीतमा थिए। लामिछाने त एउटा उपयुक्त पात्र मात्र हुन्, उनी बाहेकका साहित्यकार, सङ्गीतकार विश्व साहित्यका रसपान गरिरहेका हुन्थे।
अहिले आएर विश्वसाहित्यको अवागाहीहरूको सङ्ख्या बढेर आएको छ। किताबको सर्वसुलभताले गर्दा पनि होला। तर त्यसभन्दा अर्को प्रमुख कारण पनि छ। विश्वसाहित्यको अध्ययन गर्नु पाठक समूहमा सभ्यताको मानक पनि भयो। मानौं कामु नपढ्ने मानिस मान्छे नै होइन, मानौं बेकेट नपढ्नेले दुर्लभ अमृत गुमाउँछ। कुनै एकरसमा झुम्मिइरहेका गणलाई नयाँ रस प्रदान गर्न लेखकहरू परम्पराभन्दा भिन्न लेखनी गर्ने हुन्छन्, भिन्न लेखनीको स्रोत भिन्न भिन्न साहित्यको अध्ययन-आस्वादनबाटै हुने गर्छ। तर यी भिन्न लेखनीहरू पनि समयक्रममा यिनका अनुयायीहरूबाट केवल स्तुत्य वस्तु बन्न जान्छ। बस्, परम्पराबाट छुट्टै नयाँपनको परख गरेको चिज स्वयम् परम्परा भएर अन्त्य हुन्छ। मानवीय वृत्तिको चित्राङ्कन बडो विस्मयप्रद छ।
आफ्ना स्मृतिहरू दुहुने क्रममा मैले थाहा पाएको छु- काठमाडौंको अध्ययन र लेखनको माहोल हेर्दा हामी दुई प्रकारका प्रवृत्तिहरूको संसर्गबाट टाढा रहनुपर्छ:
१. अध्ययन र अनुभवको परिपक्वतालाई अतीव न्यून समय दिएर आफ्नो जागिरमुखी र प्रतिष्ठामुखी कार्यको लागि साहित्य पेशामा प्रवृत्त हुनेहरू, जसमा मूलतः “आशुकवि (निमेष निमेष भरमा कविता लेख्न सक्नेहरू”, आँशुकवि (आँशुलाई नै साहित्यको मर्म ठान्नेहरू) “ओशोकवि (ओशो रजनीशका शब्द र विचारहरू लेख कवितामा देखाइ देखाइ लुकाउनेहरू) पर्दछन्।
२. जो शीघ्र, अधिक र अपाच्य अध्ययनको सहयोगमा अभिमानयुक्त हृदयले साहित्यको तत्ववेत्ताको रूपमा स्वघोषणा गर्छन्। अनसूयावृत्ति (अर्काको राम्रो काममा समेत खोट खोज्नेहरू) द्वारा यिनीहरूको अभिमानक्षुधा परितृप्त हुने गर्छ।
अवलोकन क्षमताको अभाव भएर होला, मबाट अर्को एउटा वर्ग या प्रवृत्ति लुकिरहेको रहेछ। यो वर्गले अङ्ग्रेजी भाषामा प्रकाशित सबै थोकलाई सर्वोत्कृष्ट र अन्यान्य भाषालाई निकृष्ट मान्दो रहेछ। आफ्नो भाषा र जीवनशैलीमा लघुताभाष बोध गर्ने यो वर्ग अङ्ग्रेजीमा नछापियुन्जेल, नोवेल पुरस्कारले सम्मानित नभएसम्म या ओस्कार, ग्रामी नजितुन्जेल आफ्ना कलाकर्मको अवमानना गर्छ।
– मैले देखेको छु, there was joy in every atoms लाई आप्तवाक्य झैं मानेर प्रशंसा गर्ने तर “त्यहाँ प्रत्येक कण–कणमा खुसी व्याप्त थियो” भन्ने वाक्यलाई अति सामान्य वाक्य मान्ने प्रवृत्तिहरू।
– मैले देखेको छु, जतिसुकै अप्ठ्यारो अङ्ग्रेजी शब्दहरू अध्ययनको क्रममा आए पनि आफैं अर्थ लगाउँदै, मनलाई जबरजस्ती धकेल्दै अगाडि बढ्ने तर नेपाली या हिन्दीका कठिन शब्द भेट्ने वितिकै किताबलाई बिट मार्ने व्यक्तिहरू।
– मैले देखेको छु, cigarette after sex का गीतहरूलाई अर्धमूर्छित भावदशामा झैं ननिको भएर सुन्ने तर शान्ति ठटालका लोकगीत बज्दा नाक खुम्च्याउनेहरू।
– प्रत्येक भेटमा, भाषणमा अल्बर्ट कामु, जेम्स जोयस, नोबोकोव, मार्क्स आदिको नामोच्चारण विना चिया पनि निस्तो लाग्ने तर इबरा, विजय मल्ल, गोठाले, बैरागी काइँला, दौलतविक्रम विष्ट आदिका कृतिको कुरा आउँदा “औसत” नामकरण गर्नेहरू।
ओहो! यो वर्गहरूको शास्त्र-शुष्क-भावित हृदय तिनीहरूको आँखामा स्पष्टसँग टल्किरहेको हुन्छ, जो आफ्नो आञ्चलिक विशिष्टतासँग उन्मिलित हुन चाहँदैनन्।
देवकोटाले त हाकाहाकी लेखेका छन्- हामी भानुभक्तबाट शिक्षा शुरू गरेर उनलाई हेला गरी समाप्त गर्छौं। यो रोग अहिले घरघरै ठूलो मात्रामा विद्यमान छ, अनि भानुभक्त सहित अन्य सर्जक हेला हुन थालेका छन्। नेपालीजनको अभ्यन्तरमा केही छ जो आफ्नो धरतीलाई गिज्याएर पारितोष पाउँदछ।
यस्ता उदाहरणहरू बटुल्दै जाने हो भने विराट सङ्ग्रह तयार हुने निश्चित छ। हिन्दीमा एउटा कविता पनि छ – “मिल गया सा मिट्टी, खो गया सा सोना है।” यो प्रवृत्ति हातको माटो फ्याँकेर अङ्ग्रेजी भाषाङ्कित कागजको खोजी गरिहिंड्छ। उखान ‘नजिकको तीर्थ हेला’ लाई म नयाँ परिचयको अन्वेषण मान्दिनँ, बरू जान्दछु कि यो परिचयको भयङ्कर खडेरी हो।
हामी देख्छौं- नेपाली साहित्यलाई पनि विश्वसाहित्यको स्तरमा उकास्न प्रबल महत्वाकांक्षा बोकेका लेखकहरू विश्वसाहित्यको प्रयोगप्रति आकण्ठ डुबेका र त्यसबाट उत्रन नसकेका। विश्वका विविक्त स्वादहरूमा लामो समय स्नात इन्द्रियहरूले आफ्नो माटो, रूख, खाना र लुगाको गन्ध भेउ पाउन नसकेको। अनि हामीले यो पनि देखेका छौं कि यी विविक्त स्वादले जन्माएका विक्षेप साहित्यहरू, जो तेल निकाल्नका लागि बालुवा पेलिरहेका हुन्छन्।
तर हामी पटक्कै आत्मविवेचना गर्दैनौं। यी विश्वसाहित्यका मानक कृतिहरूमा के छ, जसले गर्दा यिनीहरूको स्तर दुरधिगम्य झैं प्रतीत हुन्छ ?
भिक्टर ह्यूगो, दोस्तोएभस्की, टोलस्टोय, कालिदास, व्यास आदि लेखकहरूका कृतिहरूलाई हामी किन वैश्विक साहित्य मान्छौं ? किन “क्लासिक” भन्छौं ? किन अहिले रचना भइरहेका अधिकांश कृतिहरू “क्लासिक” स्तरका छैनन् भन्छौं?
यी प्रश्नहरूका अनेक उत्तर छन्। लेखकको युग, लेखकको आन्तरिक प्रतिभा पनि यस प्रश्नमा अपेक्षित उत्तरहरू हुन्। त्यसो त लेखकको चिरन्तन सान्दर्भिकता नै “क्लासिक” वर्गमा पर्नुको कारण हो। तर जहाँसम्म मलाई लाग्छ यी उत्तरहरूमा एक हदसम्मको सत्यांश भए तापनि मूलभूत अपर्याप्ति छ। प्रश्नको महत्वपूर्ण उत्तर त लेखनीको स्थानीयतामा छ। जुन लेख साँचो अर्थमा स्थानीय बन्न सक्छ, त्यो नै वैश्विक साहित्यको ठूलो सहायक हो।
केही जब हामी गोगोलका कथाहरू पढ्छौ, हामीलाई लाग्छ ती कथाहरू कुनै विश्वसम्पदा बनियुन् भन्ने लोभवश लेखिएका छैनन्। त्यहाँ केवल युक्रेनका किसान, त्यहाँको उखान, जीवनशैली, भूगोल र मनोविज्ञानका सजीव चित्रण छन्, त्यसबखतका फ्रान्सेली साहित्यको अनुकरण गर्न खोजिएको देखिंदैन। फ्योदोर दोस्तोएभस्कीका लगभग सम्पूर्ण रूसको संस्कृति, ईश्वर र मनोवैज्ञानिक पक्षहरूलाई स्पष्ट पार्न लेखिएको छ। टोलस्टोयले आजीवन रूसको प्रकृति र मानवजीवनको सम्बन्धलाई सरल भाषामा असाधारण रूपले प्रस्तुत गरे। जब हामी लेखनाथ पौड्यालका कविता पढ्छौं, हाम्रो नेपालको बेग्लै बौद्धिक र साहित्यिक विपुलताले मुग्ध हुन्छौं। गोठालेका कथाहरूमा नेपाली मनोविज्ञानको वास्तविक वर्णन पाउँछौं।
पारिजातको उपन्यासहरू अस्तित्ववादका वाहक हुन, तर त्यो फ्रान्सको अस्तित्ववाद हो। थाहा छैन- गोठालेले, भिक्षुले पश्चिमको अस्तित्ववाद पढे या पढेनन्, तर उनीहरूको आख्यानको अस्तित्व नेपाली अस्तित्व हो, जसलाई मेरो जीवनका स्मृति र भविष्यका कल्पनाले बेरोकटोक स्वीकार्छन्।
आजकल म देख्दछु, प्रयोगात्मक कथाहरू लेख्ने पढ्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ। विश्वका विभिन्न “वाद” तथा प्रयोगहरूबाट हामी प्रभावित भएका छौं। प्रभावित हुनु आफैंमा नकारात्मक कुरा हैन। नयाँको खोज नै इतिहासको वाहक हो। तर हामी कस्तो मूल्य तिरेर प्रभावित हुँदैछौं ? कतै हामीले आफ्नो भूगोललाई बिर्सिएर प्रयोगको नाममा जराविहीन उडान त भरिरहेका छैनौं? हाम्रा कति कथा-व्यथाहरू छन् जो लेखकको कलमबाट उपेक्षित भएका छन् ? हाम्रो समाज क्रान्ति र विद्रोहको चपेटामा परिरहेको समाज हो। अझै पनि यस्ता साहित्य लेखिएका छैनन्, जसले हामीलाई यी समाजमा लुकेका भावना, मनोविज्ञान र जीवनशैलीबारे अनभिज्ञ नछोडुन्। भर्खरै जेन जेड विद्रोह भयो। यसको बारेमा कसैले केही लेखिरहेको छ कि छैन होला ? दारुण एवम् विद्रुप वास्तविकताहरू हाम्रै आँखा सामुन्ने घटिरहेका छन् तर पनि प्रयोग र “वाद” हरूको नाममा यस्ता सजीव घटनाहरू (जसले साँचो अर्थमा व्याख्या र पैरवीको माग गरेका छन्) लाई उपेक्षा गर्नु आफ्नो अयोग्यताको प्रकाशन गर्नु हो।
समय असाध्य बदलिएको छ। यहाँ हरकोही लेखक र कलाकार छन्। लेखक-कलाकारको जीवन, प्रतिष्ठा र पैसा देखेर मानिसहरू लेखनमा प्रवृत्त हुन लालायित छन्। यही लालसाको परिणामले होला, हाम्रो समकालले उत्कृष्ट र शाश्वत कृतिहरूको जन्म दिएको छैन्, त्यस्तो कृतित्वलाई पोषण दिनसकेको पनि छैन। यही समयको फाइदा उठाएर विभिन्न “हाउ टू राइट” किसिमका कार्यक्रमहरू पनि सञ्चालनमा आएका छन्। यी कलाको नाममा कृत्रिम आविष्कारहरू गर्छन्। तर कलाकार बन्ने एउटा मात्र विधि या सिद्धान्त छ, त्यो हो- असल कला सृजना गर्न जीवन स्वयम् कला हुनुपर्छ।। कला फूल हो, जो प्रकृतिले दिएका स्वभाव र गुणहरूको विरोधमा नरही अनवरुद्ध भावले पल्लवित, पुष्पित, फलित एवम् सुरभित हुन दिन्छ। कलाकारको जीवन नै कलाको साक्षात् प्रमाण हुनुपर्छ।
यहाँ उल्लिखित स्थानीयता संकीर्ण र प्रकीर्ण पनि छैन। संकीर्ण यस अर्थमा छैन कि यसले संसारमा प्रचलित एवम् नवीन प्रयोगहरूको सम्पर्कबाट टाढा रहोस्। प्रकीर्ण यस अर्थमा पनि छैन कि यसले स्थानीयताको नाममा लोकतत्वहरूको छरपस्ट, अव्यवस्थित योजना गरोस्। अनेक प्रयोगहरूमा, शैली एवम् विन्यासहरूमा रहेर पनि आफ्नो जमिनको कथा, आफ्नो छुट्टै ज्ञान र जीवनको अवमानना नगरोस्।
किर्किगार्डले आफ्नो जर्नलमा लेखेको छन्— “सम्पूर्ण विश्वलाई दुई भागमा विभाजन गर्न सकिन्छ— लेख्नेहरू र नलेख्नेहरू। जसले लेख्छन्, तिनीहरू निराशाको (despair) प्रतिनिधित्व गर्छन्, र जसले पढ्छन्; तिनीहरू त्यस निराशालाई अस्वीकार गर्छन् र आफ्नो ज्ञान श्रेष्ठ छ भन्ने ठान्छन्— तर यदि तिनीहरू आफैं लेख्न सक्षम भएको भए दुरुस्त त्यस्तै कुरा लेख्थे।”
हामीले लेख्न खोजेको कुरा विश्वमा लेखिए भन्दा भिन्न लेखन खोजेको हैन। संसारमा उही प्राचीन कुराहरू नै अवार्चिन समयमा नै दोहोर्याई दोहोर्याई लेखिरहिएको छ, तर त्यसलाई युग-युगान्तरमा, भाषा-भाषान्तरमा भनिरहनुपर्छ। कारण- हामीले हाम्रो निराशा, हर्ष, सङ्कट आदिको अवमूल्यन गर्नुहुँदैन। उधारो निराशा, हर्ष, सङ्कट आदिले हाम्रो परिस्थितिको सम्बोधन गर्न सक्दैन।
प्रतिक्रिया 4