८ पुस, काठमाडौ । सार्वजनिक रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको वकालत गरिरहेको नेकपा एमालेले चुनावको तयारीलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
सबै जिल्लाबाट समानुपातिक तर्फका आकांक्षीहरूको नाम पठाउन निर्देशन दिएर एमालेले निर्वाचनका लागि तयार रहेको सन्देश दिएको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रदेश कमिटीमार्फत् जिल्ला–जिल्लाबाट समानुपातिक तर्फ बन्दसूचीमा समावेश गरिने नाम मागिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार १३ र १४ पुसमा समानुपातिक तर्फको बन्दसूची बुझाइसक्नुपर्छ । जसअनुसार एमालेले पनि बन्दसूचीमा राखिने नामहरू संकलन तीव्र पारेको छ ।
स्रोतका अनुसार हिजो सबै जिल्ला अध्यक्षलाई समानुपातिक सांसद बन्न आकांक्षा राख्नेहरूको नाम पठाउन भनिएको थियो । तर जिल्ला अध्यक्षहरूले सामान्य छलफल समेत नगरी नाम पठाउन नसकिने अडान लिए ।
‘जिल्लामा साथीहरूसँग छलफल गर्नुपर्यो । क–कसलाई रहर छ भनेर सोध्नुपर्यो, योग्यता र योगदान पनि हेर्नुपर्यो,’ एक जिल्ला अध्यक्ष भन्छन्, ‘भन्नासाथ नाम पठाउने कुरा भएन । त्यसैले लम्बिएको छ ।’
केन्द्रीय कार्यालयबाट भोलिसम्म जसरी पनि समानुपातिकतर्फ सांसद बन्न चाहनेहरूको नाम पठाउन समय दिइएको छ । जसअनुसार जिल्लाका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
‘धेरै जिल्लामा आजै नाम टुंगियो, अब बाँकी जिल्लाहरूबाट भोलिसम्म नाम आउने आशा गरिएको छ,’ एक नेता भन्छन् । समानुपातिक सूचीमा नाम पठाउन एमालेले कुनै मापदण्ड भने तोकेको छैन । ‘कुनै मापदण्ड छैन, रहर गर्नेहरूको नाम पठाउने हो,’ ती नेता भन्छन् ।
नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले भने पार्टीको यस्तो शैलीप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै आफूले आपत्ति जनाएको कुरा सार्वजनिक गरेका छन् ।
‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक उम्मेद्वारको नाम पेश गर्नुपर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेद्वार सिफारिस गर्न निर्देशन गर्नुपर्नेछ,’ भट्टराईले लेखेका छन्, ‘महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु ।’
धेरै नेताले त उपमहासचिव भट्टराईकै स्टाटस हेरेर एमालेले समानुपातिक सूचीतर्फ नाम संकलन गरिरहेको थाहा पाएका थिए । किनकि समानुपातिक सूची बुझाउनेबारे एमालेले कुनै औपचारिक निर्णय गरेको थिएन ।
आज मात्रै जिल्लाका अध्यक्षहरूसँग भर्चुअल संवाद गरेका महासचिव शंकर पोखरेल आफैंले पनि यो विषय उठाएनन् । नेतृत्वविरुद्ध कुनै निर्णय भए जनपरिचालनको तयारीमा जुट्ने संकेत गरेका पोखरेलले समानुपातिक सूचीबारे कुनै निर्देशन नदिएको एक सहभागीले बताए ।
तर ‘ट्र्याक टू’ योजनामा भने समानुपातिकतर्फ बन्दसूची तयार पार्ने काम भइरहेको छ । समानुपातिकको बन्दसूची तयार पार्ने मात्र नभएर अरु चुनावी तयारीका कार्यक्रममा पनि एमालेले भाग लिँदै आएको छ । राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगले बोलाउने सर्वदलीय बैठकमा एमाले नेताहरू सहभागी हुँदै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूलाई छलफलमा बोलाउँदा अध्यक्ष ओली आफैं सहभागी भए । आयोगले समानुपातिक सूची बुझाउनेबारे गरेको प्रशिक्षणमा एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले पनि भाग लिए ।
आयार्यका अनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउने प्राविधिक तयारी समेत उनले पुरा गरिसकेका छन् । ‘कुन क्लस्टरमा कति जना कसरी राख्ने जस्ता प्राविधिक तयारी भइसकेको छ, अब पार्टीले नाम दिएपछि बुझाउने हो,’ उनी भन्छन् ।
प्रतिक्रिया 4