+
+
Shares
इतिहास :

जेलमै बितेका बहादुर शाहको चिठी

अहिले काठमाडौंको परोपकार केन्द्र रहेको ठाउँमा पहिले कारागार थियो । बहादुर शाहलाई त्यहीं राखिएको थियो । १५ असार १८५४ मा अस्वाभाविक र रहस्यमय ढंगले उनको मृत्यु भयो ।

राजकुमार दिक्पाल राजकुमार दिक्पाल
२०८२ पुष ९ गते ११:५६

राजनीतिमा अनेक दाउपेच हुन्छन् । कुनै समय नेपालको राजनीतिको केन्द्र थियो, राजदरबार । पृथ्वीनारायण शाहले आफ्नो गोरखा राज्यविस्तार अभियानलाई शुरु गर्दा नुवाकोट जितेपछि गोरखाबाट आफ्नो मुकाम त्यतैतिर सारेका थिए । वि.सं. १८२५ मा कान्तिपुर विजय गरेपछि मल्लकालमै राजदरबार रहेको हनुमानढोका परिसरभित्र बसन्तपुर नामको नयाँ दरबार बनाए र त्यहींबाट शासन चलाउन थाले ।

बसन्तपुर राजदरबार परिसरमा वि.सं. १८२६ चैत सुदी ५ रोज ७ मा राखिएको शिलालेखमा उनले आफ्ना दुई छोराको पनि चर्चा गरेका छन् । विवाहिता रानी नरेन्द्रलक्ष्मीको कोखबाट जन्मेका छोराहरू युवराज प्रतापसिंह शाह र राजकुमार बहादुर शाहको नाम उक्त शिलालेखमा उल्लेख छ ।

इतिहासकारहरू धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठले लेखेको ‘शाहकालका अभिलेख’ (२०३७:९५) अनुसार शिलालेखमा ‘राजाहरूमा सिंह जस्ता भएका महाराजबाट सिंहका डमरु जस्ता दुई छोरा पैदा गर्नुभयो । जेठा प्रतापसिंह शाह र कान्छा बहादुर शाह भनी लोकमा प्रसिद्ध हुनुहुन्छ’ भन्ने उल्लेख छ ।

यही बसन्तपुर राजदरबारभित्र राजकुमार बहादुर शाह र आफ्ना दाजु राजा प्रतापसिंह शाह बीच कहिल्यै मेलमिलाप हुन सकेन । भाउजू राजेन्द्रलक्ष्मीसँग पनि बहादुर शाहको राजनीतिक सम्बन्धमा कहिले मेल, कहिले बेमेल चलिरह्यो । बहादुर शाहले ४० वर्षको आयु बाँच्दा उतारचढावपूर्ण जीवन बाँचे । उनी कालगतिले पनि मर्न पाएनन् ।

पृथ्वीनारायण शाहका यी दुई छोरामध्ये जन्मका आधारमा गद्दीको अधिकार राख्ने युवराज प्रतापसिंह शाह भने पृथ्वीनारायण शाहले सोचे जस्ता थिएनन् । उनका अर्का छोरा राजकुमार बहादुर शाहले सानैदेखि आफ्नो विशिष्ट योग्यता र प्रतिभा देखाउँदै आएका थिए ।

त्यो बेलाका युवराज तथा राजकुमारहरूलाई राजदरबारभित्र राजगुरुहरूबाट दीक्षित गर्ने चलन थियो । इतिहासकारहरूको धारणा अनुसार युवराज प्र्रतापसिंह शाहले आफ्ना गुरुबाट खास राजोचित शिक्षा पाएनन् । उनको जीवनशैली विलासपूर्ण थियो । उनी सिद्धि पाउने र परजन्ममा मुक्ति पाउने अनुष्ठानका लागि मासु, मदिरा र मैथुनको प्रयोग अनिवार्य मानिएको तन्त्रविद्यामा मग्न थिए । विलासितापूर्ण जीवन बाँच्दा बाँच्दै अल्पायुमै उनको देहान्त भयो । (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’– २०५२:१०)

राजदरबारभित्रको शिक्षा–दीक्षा

इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ प्रतापसिंह शाह’ (२०६०:२६) मा उल्लेख गरे अनुसार बाल्यकालमा नुवाकोट राजदरबारमा रहँदा पनि युवराज प्रतापसिंह शाहले ज्ञान र शिक्षा हासिल गर्नका लागि त्यति साह्रो उत्साह देखाइरहेका थिएनन् । नाचगान र आमोदप्रमोदहरूतर्फ नै यिनी बढी आकर्षित रहन थालेका थिए ।

यस्तै प्रतापसिंह शाहलाई उनका गुरु गोर्खाली पण्डितहरूले संस्कृत भाषाको धेरथोर ज्ञान गराइदिए पनि त्यस्ता भाषामा लेखिएका व्यवहारोपयोगी नीतिशास्त्र, राजनीतिशास्त्र जस्ता विषयमा यिनलाई नलगाएर नृत्य, सङ्गीत तथा काव्यका रसस्वादनतर्फ लगाइदिएका कारण यिनी सानैदेखि शृङ्गारी स्वभावका भएर निस्केका थिए (बाबुराम आचार्य, ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’– २०६३:२००) ।

बाबुराम आचार्य, ज्ञानमणि नेपाल लगायतका इतिहासकारहरूले राजगद्दीका हकदार युवराज प्रतापसिंह शाहको तुलनामा राजकुमार बहादुर शाहलाई एक साहसी र राजकाजमा दक्ष व्यक्तित्वमा चित्रित गरेका छन् ।

राजकुमार बहादुर शाह प्राय:जसो सधैं आफ्ना बाबु पृथ्वीनारायण शाहका साथमा रहन्थे । इतिहासकार चित्तरञ्जन नेपालीले ‘श्री ५ रणबहादुर शाह’ (२०७५:४) मा उल्लेख गरे अनुसार वि.सं. १८१४ असार महिनामा बहादुर शाह जन्मेका बेला गोरखा राज्यको कान्तिपुर राज्यसँग युद्ध चलिरहेको थियो । हर युद्धमा आफ्नो बुबा विजयी हुँदै गएबाट ती घटनाको असर बहादुर शाहमा पनि पर्दै गइरहेको थियो ।

बहादुर शाह राजनीतिक रूपमा महत्त्वाकाङ्क्षी, युद्धकौशलयुक्त एवम् दूरदर्शी रणनीतिकार रहेको उनका कामहरूले नै पुष्टि गर्छ ।

बहादुर शाहको शैक्षिक योग्यताचाहिं कस्तो थियो त ? आचार्य (२०६२:२०२) ले उल्लेख गरे अनुसार उनी निरक्षर त थिएनन्, तर औपचारिक शिक्षा भने यिनले प्राप्त गरेको देखिंदैन । यिनले नागरी लिपि तथा मातृभाषा नेपालीमा लेखिएका चिठ्ठीपत्रहरू पढ्न र यस्ता चिठ्ठीपत्रहरू लेखी आफ्नो मनमा लागेका भावहरू येनकेन प्रकट गर्न भने सक्थे ।

तर, जन्मकालदेखि नै प्राय: आफ्ना आमाबुबाका साथमा रहँदै आएका र आफ्ना बुबाबाटै लोकव्यवहारका क्रियात्मक शिक्षाहरू प्राप्त गर्दै आएकाले राजकुमार बहादुर शाह बुबा जस्तै साहसी र धैर्यवान् व्यक्तिका रूपमा देखा पर्न थालिसकेका थिए ।

तत्कालीन राजदरबारभित्रको शैक्षिक वातावरणबारे आचार्य (२०६०:२५–२६) ले उल्लेख गरेअनुसार पृथ्वीनारायण शाहले गोरखा राज्यका प्रतिष्ठित ब्राह्मण विद्वान्हरूबाट औपचारिक शिक्षा प्राप्त गरेका थिए । आफ्ना व्यावहारिक शिक्षाहरू जेठी मुमा चन्द्रप्रभावतीबाट प्राप्त गरेका थिए ।

चन्द्रप्रभावतीले यिनलाई रामायण, महाभारत, पुराण आदिका कथा, नीतिशास्त्रहरूलाई आधार बनाएर रोचक तरिकाले शिक्षा प्रदान गर्ने गरेकी थिइन् ।

गोरखा राजदरबारभित्रको तत्कालीन नारी शैक्षिक वातावरणबारे उल्लेख गर्नुपर्दा पृथ्वीनारायण शाहकी एक बहिनीले राम्रो शिक्षा–दीक्षा पाएको इतिहास पाइन्छ । आचार्य (२०६१:६९) ले उल्लेख गरे अनुसार नरभूपाल शाहका अनेक छोरीहरूमध्ये कौशल्यावतीतिरबाट जन्मिएकी पद्मकुमारीले जीवनभर कुमारी नै रहेर राजदरबारमा नै रही लेखपढ गर्ने काम गरेकी हुनाले उनले विशेष प्रसिद्धि पाएकी थिइन् ।

शारङ्गधर शर्माले वि.सं. १८०८ मा ‘भास्वती’ नामको पञ्चाङ्ग बनाउँदा एक पुस्तिका नै बनाएर नरभूपाल शाहकी कुमारी पद्मकुमारीलाई चढाएका थिए ।

माथि उल्लिखित ‘भास्वती’ नामको पञ्चाङ्गलाई जस्ताको त्यस्तै संस्कृत भाषामा योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १’ (२०५५ : २२५) मा प्रकाशित गरेका छन् । उनले यसलाई ‘भास्वती (गोरखामा नारी शिक्षा) साके १६७३’ भनेका छन् । यसले पद्मकुमारी एक शिक्षित राजकुमारी थिइन् भन्ने पनि देखाउन सहयोग गर्छ ।

‘भास्वती’ एउटा प्रमाण भएकाले शाहकालमा पनि राजकुमारीहरू केही शास्त्रीय शिक्षा लिन्थे भन्ने देखिएको छ (धनबज्र बज्राचार्य, ‘हिमालखबर’–२०७८ फागुन २४) । पृथ्वीनारायण शाहकी बहिनी पद्मकुमारीले ‘भास्वती’ आदि ग्रन्थ पढेकी थिइन् ।

संस्कृतग्रन्थ भास्वतीमा ‘श्रीगोर्षानगरे गोरखनाथ समीपे श्रीनरभूपालशाह कुमारी पद्मकुमारी देव्यै समर्पयामि’ भनी लेखिएको छ । यसैका आधारमा नारी शिक्षाको उचित वातावरण नभएको त्यो समयमा पनि पृथ्वीनारायण शाहकी बहिनी पद्मकुमारीले गोरखा राजदरबारमा राम्रो शिक्षा पाएकी थिइन् भन्ने निष्कर्षमा इतिहासकारहरू पुगेका हुन् ।

पद्मकुमारीले न्याय–निसाफ छिनेको विभिन्न ऐतिहासिक पत्रहरू पाइएको उनले त्यो बेला न्यायनिरुपण लगायत प्रशासनिक क्षेत्रमा योगदान दिएको छनक पाइन्छ ।

आरोह–अवरोहमा बहादुर शाह

वि.सं. १८३१ माघ १ गते ५२ वर्षको उमेरमा पृथ्वीनारायण शाहको देहान्त भएपछि २६ वर्षको उमेरमा प्रतापसिंह शाहले राजमुकुट पहिरिए । आफू राजा हुनासाथ आफ्ना बुबाको काजक्रियामा रहेका भाइ बहादुर शाहलाई उनले नजरबन्द गरिदिए । पक्राउ पर्ने भयले काजी दलजित शाह भने भागे ।

यसअघि काजी दलजित शाह लगायतले योग्यता हेरेर युवराज प्रतापसिंह शाहलाई नभई राजकुमार बहादुर शाहलाई राजगद्दीको उत्तराधिकारी बनाउनुपर्ने सुझाव पृथ्वीनारायण शाहलाई दिएका थिए । तर, पृथ्वीनारायण शाहले चलिआएको ज्येष्ठभागी परम्परालाई क्रमभङ्ग गर्न चाहेनन् (नेपाल, २०५२:११) ।

यही कारण जन्मका आधारमा आफूले पाउनुपर्ने राजगद्दी आफ्नो भाइले हड्पिदेला भन्ने भय थियो, प्रतापसिंह शाहलाई । त्यसैले बुबाको काजक्रिया सकिनासाथ बहादुर शाह देशनिकालामा पर्दा उनी भारतको बेतिया गएर बसे । प्रतापसिंह शाहको छोटो शासनकालभर बहादुर शाहले स्वदेशमा पाइला टेक्न पाएनन् ।

राजदरबारबाट निष्कासनमा परेपछि उनी बेतियामा इसाई पादरीकहाँ बसेका थिए । उनी बेतिया पुगेपछि उनलाई पाहुना स्वीकार गर्ने इसाई पादरी माइकल एन्जोलोले तत्कालीन राजा प्रतापसिंह शाहलाई बहादुर शाह बेतिया आइपुगेको खबर गर्न पत्र लेखेका थिए ।

वि.सं. १८३४ आश्विन सुदी ६ रोज ३ मा बेतियाबाट हिन्दी भाषामा लेखिएको पत्रको व्यहोरा यस्तो छ :

…श्रीबाहादुरर्साहा बट्यामाहो आइ पौंचा था. सो साहेशका हजुर्मु षवर्भेदिया है. सो आदितेवार्मु वेतियामा दाषिल हुवा है. हाम्सो मुलाकात् किया है. वहुत् वातचित् हुवा है. हामसे वचन दिया है कि श्रीमाहाराजके बर्सै उसका बात बनाया जायेगा. फेर्हामने ठिक देषा है कि माहांराजने आगे गोसा कर्ता था लिकि जल हाम नेपालमु गया था. तल हांमने ठिक देषा है कि महांराजने आफ्ना भाइकों पियार कर्णे लगा है. अव सव गोसा मेटाया हैग सो हाम्ने श्रीबाहदु साहिको विंति किया है. सो हामारा वातको माना है…ऊ आफ्ना भाइकों आफ्ना हजुर्मु वोलवाना चाहिये. दउलथ ञांहा भेजिदिना कि कासिमु उसकों भेजिदिना सो वन्दिसका वात न हि है. उनन हामको भि छोडिदेगा. अवर्आप पट्ना कि कलकता कि जांहा उसका दिल होगा तांहां जायेग लेकिं जो हजुर्मु बोलावने होगा. उस्का दि तयार्है उनले भाईमाफिक् सेवा करैगा… (दिनेशराज पन्त, “पूर्णिमा” पूर्णाङ्क ५५– मङ्सिर २०४० : ३४–३५) ।

यो पत्र हेर्दा माइकल एन्जोलोले राजा प्रतापसिंह शाहलाई बहादुर शाहमाथि भाइका रूपमा व्यवहार गरी स्वदेश फिर्ता गर्न आग्रह गरेको पनि देखिन्छ ।

वि.सं. १८३४ मङ्सिर वदी ३ मा थोरै समयको राजभोगपछि राजा प्रतापसिंह शाहको अल्पायुमै देहान्त भयो । त्यसबेला युवराज रणबहादुर शाह अढाइ वर्षका नाबालक थिए । विधवा रानी राजेन्द्रलक्ष्मीको बोलावटमा निर्वासनबाट बहादुर शाह झिकाइए । बीचमा उनलाई बाटैमा रोक्न पनि खोजियो । अनेकौं अवरोधका बावजुद उनी राजधानी आइपुगे अनि भाउजू राजेन्द्रलक्ष्मीसँग मिलेर यिनले शासन चलाउन थाले ।

तर, भाउजूसँग पनि बेलाबेलामा यिनको ठाकठुक पर्दै रह्यो । कहिले भाउजूले यिनलाई नजरबन्द र देशनिकालासम्म गर्थिन् भने आफ्नो शक्ति पुग्दा यिनले भाउजूलाई चाँदीको नेल हालेर थुनामा पठाउँथे ।

राजेन्द्रलक्ष्मीले सर्वजित रानालाई मूल काजी बनाएर शासन चलाइरहेका बेला महारानीसँग सर्वजितको नाजायज सम्बन्ध समेत रहेको आरोप लगाएर बहादुर शाहले श्रीहर्ष पन्तको सहयोग लिई सर्वजित रानाकोे हत्या गराए (नेपाल, २०५२ : १९–२०) ।

पछि शक्तिमा आएपछि राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई थुनामा पठाइन् । राजेन्द्रलक्ष्मीको वि.सं. १८४३ साउन २ गते निधन भएपछि त्यसबेला थुनामा रहेका बहादुर शाह थुनामुक्त भए र पुन: शक्तिमा आई आफ्ना भतिज राजा रणबहादुर शाहको नायवी लिएर शासन चलाउन थाले ।

बहादुर शाहको पतन

राजेन्द्रलक्ष्मीको निधनपछि बहादुर शाहले राजा रणबहादुर शाहको नायवी लिएर शासन चलाउँदा पश्चिमी क्षेत्रका अधिकांश भूभाग आफ्नो राज्यमा मिलाए । यही कारण अधिकांश इतिहासकारहरूले बहादुर शाहलाई बुबा पृथ्वीनारायण शाहको बिंडो थाम्ने एक योग्य छोराका रूपमा चर्चा गर्ने गरेका छन् ।

रणबहादुर शाह पनि जवान हुँदै गइरहेका थिए । अब उनी विस्तारै आफ्ना काकाबाट होइन, आफैंबाट मुलुकको शासन चलाउन चाहन्थे । इतिहासकारहरूले रणबहादुर शाहलाई एउटा सनकी राजाको रूपमा चर्चा गरेका छन् ।

रणबहादुर शाहले पशुपतिनाथको दर्शन गर्न आएकी तिरहुतिया ब्राह्मणी कान्तिवतीलाई जबरजस्ती रानी बनाएपछि काका– भतिजबीच अन्तरविरोध शुरु भएको थियो ।

यसैगरी राजा रणबहादुर शाहले बहादुर शाह बसेको राजदरबारभित्रै एक भवनमा राज्यको शक्तिशाली पदको जिम्मेवारी समेत दिएर चौतरियाहरू दाजु विदुर शाही र भाइ शेरबहादुर शाहीलाई बस्न पठाएपछि उनी एकाएक दु:खित हुँदै त्यहाँबाट निस्केर तीर्थयात्रीहरूका लागि बनाइएको पशुपतिनाथ नजिकैको एक धर्मशालामा बस्न थाले ।

जतिखेर दरबार छाडेर बहादुर शाह पशुपति, देवपाटनमा आफैंले बनाएको सदावर्त घरमा बसी साधुसन्तका साथ समय बिताइरहेका थिए, त्यतिबेला रणबहादुर शाह व्यसनी र फजुलखर्ची भई राजकोषको धन रित्याउँदै थिए ।

बहादुर शाहले धेरै धन लुकाएर राखेका छन् भन्ने शङ्का गरी वि.सं. १८५३ फागुन २ गते रातको समय एक कम्पनी सैनिक पठाई उनलाई पक्रेर ल्याई आफू बालक छँदा कामकाज गरेको हिसाब बुझाऊ भनी कैदमा राखे (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’– २०६८ : १८–२२) ।

स्वदेशमा आफ्ना भतिजा राजा रणबहादुर शाहबाट आफ्नै ज्यान कतिखेर हरण हुने हो भन्ने त्राहिमाम्मा रहनु परेको अवस्थामा बहादुर शाह चीनमा गएर सुरक्षित रूपमा आश्रित हुन चाहन्थे । यसका लागि उनले चिनियाँ बादशाहसँग पत्राचार पनि गरेका थिए (नेपाल, २०५२:३५) । तर, उनी चीनतिर जान नपाउँदै पक्राउ परे ।

रणबहादुर शाहलाई यतिले मात्रै पुगेन । उग्रचण्डी बनेर निस्केका उनले बहादुर शाह विरुद्ध विभिन्न दोषहरू उल्लेख भएको पत्र चीनतिर पठाए । पत्र बोकेर चीनतर्फ जाने दूतहरूमा सर्वजित पाँडे, चामु भण्डारी र अजित खड्का थिए ।

उनीहरूले बोकेर लगेको पत्रमा बहादुर शाहले प्रतापसिंह शाहको हत्या गर्ने षडयन्त्र गरेको, आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई नचाहिंदो आरोप लगाएर सर्वजित रानालाई मराएको, राजेन्द्रलक्ष्मीलाई विष खुवाउने षडयन्त्र गरेको, आफूलाई तीन पटक सलाम नगरेको, भोटसँगको युद्धका क्रममा गुम्बाहरू भत्काइदिएर त्यसको अपसकुन लागि आफ्नो देश झण्डै डुबेको, देशभित्र अङ्ग्रेजहरूलाई प्रवेश गराएको लगायत थिए (नेपाली, २०७५:१०३ –४) ।

राजा रणबहादुर शाह आफ्नो कुरा गराएर कायल पारी बहादुर शाहलाई धर्मपत्र गराउने पक्षमा थिए । उनले यस्तो धर्मपत्रमा सही गरे माफी दिएर दरबारमै राख्ने कुरा पनि गरेका थिए । तर, यस्तो मोहरमा बहादुर शाहले सही गर्न मानेनन् (नेपाल, २०५२:३६) ।

बहादुर शाहले आफ्नो जीवनको अन्त्यतिर आइपुग्दा तत्कालीन राजा रणबहादुर शाहलाई कारागारबाटै पत्र लेखी आफूलाई कैदी जीवन बिताउनुमा कुनै गाह्रो नभएको, बरु त्यता (दरबार)मा आउन गाह्रो लागिरहेको बताएका थिए । उनले लेखेको उनकै हस्ताक्षर सहितको पत्र सूर्यविक्रम ज्ञवालीले ‘प्राचीन नेपाल’ (सङ्ख्या २१–कात्तिक २०२९:६०–६१) मा प्रकाशित गरेका छन् । पत्रको व्यहोरा यस्तो छ:

अर्जि

उप्रान्त वहाँको समाचार बक्सी पठाउनु भयो सुन्ये ये तरहले बन्दछ त्यसै गर्नु हवस् उप्रान्त मोहरको सहीमा नआक्नु मर्जी माफिक गरौंला वकी इहाँ वस्ना कन गाह्रो त मान्याको छैन ताँहाँ आउन गाह्रो लागी ह्रये छ हजुरको मेहरमानी कत्ती पनि छैन तस् कारण मलाई ता यहाँ बस्नु बढिया छ मुकाम कीला सुभम् सुभम् ।

वंदा बहादुर साहको कुर्नेस बंदगी ३

यो पत्रको सक्कल इतिहासकार बाबुराम आचार्यले सन् १९३६ अप्रिल २९ (वि.सं. १९९३ वैशाख १७ गते) त्यतिखेर दार्जीलिङमा रहेका सूर्यविक्रम ज्ञवालीलाई आफ्ना लेख रचना सहित पठाएका थिए । पछि उनले ज्ञवालीसँग केही पटक यो पत्र फिर्ता पनि मागेका थिए । त्यसबेला ज्ञवालीले ‘कता परेको छ, खोज्नुपर्छ’ भन्ने जवाफ दिएका थिए । आचार्य यो पत्रको चित्र नै प्रकाशमा ल्याउन चाहन्थे (ज्ञवाली, २०२९:६१) ।

यो पत्रको छायाँप्रति हेर्दा आचार्य (२०६२:२०२) ले भने जस्तो उनी निरक्षर त थिएनन्, मनका भावहरू मुश्किलले लेखेर व्यक्त गर्न सक्थे ।

बहादुर शाहले जेलबाट राजा रणबहादुर शाहलाई लेखेको पत्र (स्रोत : प्राचीन नेपाल)

यो पत्र पढ्दा राजा रणबहादुर शाहले बहादुर शाहलाई कैदबाट निस्की बाहिर आउने हो कि भन्ने प्रस्ताव गरेको तर उनले आफू कैदमै रहने चाहना व्यक्त गरेको भन्ने बुझिन्छ । सम्भवत: कैदमै रहँदा उनले आफ्नो ज्यान सुरक्षित हुने सम्झेका थिए । तर बहादुर शाह कैदमा पनि जिउँदो अवस्थामा रहन पाएनन् ।

रहस्यमय प्राणान्त

अहिले काठमाडौंको परोपकार केन्द्र रहेको ठाउँमा पहिले कारागार थियो । बहादुर शाहलाई त्यहीं राखिएको थियो (डा. भद्ररत्न बज्राचार्य, ईकान्तिपुर– २०७३ जेठ २९) ।

वि.सं. १८५४ असार १५ गते अस्वाभाविक र रहस्यमय ढंगले उनको मृत्यु हुनपुग्यो । उनको मृत्यु अस्वाभाविक थियो भन्ने विषयमा इतिहासकारहरू एकमत छन्, तर कसरी उनको मृत्यु भयो भन्ने बारेमा उनीहरूमा मतैक्य भने छैन ।

बहादुर शाहले डोरीको पासो लगाएर कैदी अवस्थामै आत्महत्या गरेको आचार्य (२०६८:२३) ले उल्लेख गरेका छन् ।

यता नेपाल (२०५२:३६) ले बहादुर शाहले आत्महत्या गरेको नभई उनको हत्या नै भएको उल्लेख गरेका छन् । उनका अनुसार वि.सं. १८५४ असारको औंसीको मध्यरातमा बहादुर शाहलाई कैदी अवस्थामै मारियो । भोलिपल्ट बिहान पटुकाले पासो लगाएर दलिनमा झुण्डिएको लास देखियो भन्दै उनले आत्महत्या गरेको घोषणा गरियो ।

उनी परलोक भएको सूचना दिन चीन बादशाहलाई पठाएको पत्रमा भने बहादुर शाह सिकिस्त बिरामी हुँदा कैदबाट मुक्त गरी भरमग्दुर औषधिमूलो गर्दा पनि केही नलागी दैवको इच्छा दिन आइपुगेको हुँदा परलोक भए भनी लेखिइएको छ ।

तर, बहादुर शाहकै विषयमा विद्यावारिधि गर्ने इतिहासकार डा. बज्राचार्य (२०७३) ले भने उनको मृत्युबारे आङैजिरिङ्ग हुने तथ्य प्रकाशमा ल्याएका छन् ।

बहादुर शाहकै परिवारलाई स्रोत बनाएर उनले उल्लेख गरे अनुसार जेलमै रहेका बेला तत्कालीन राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो । तातो तेलले पुर्‍याएको पीडाले नै अन्तत: उनको मृत्यु भएको थियो । त्यस अगाडि उनकी पत्नीको बदनाम गर्ने चेतावनी दिइएको थियो । यसरी एक देशभक्तले अकालमै आफ्नो ज्यान गुमाएका थिए ।

लेखक
राजकुमार दिक्पाल

राजकुमार दिक्पाल इतिहासमा रुचि राख्ने सञ्चारकर्मी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?