क्यालिफोर्नियामा मंगलबार आएको आँधीका कारण आवासिय घरहरू प्रभावित हुदाँ सयौं मानिसहरू विस्थापीत भएको जनाइएको छ । क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँधीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउँदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका बासिन्दाहरूलाई अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ ।
क्रिसमसको छुट्टीमा बाहिर निस्कने योजनाहरू माथि पुनर्विचार गर्न आह्वान गर्दै राष्ट्रिय मौसम सेवाका मौसमविद् एरियल कोहेनले प्रकिकूल समयमा सुरक्षित स्थानमै बसेर क्रिसमस मनाउन आग्रह गरेका छन् ।
बुधबारदेखि शुक्रबारसम्म विशेष गरी उच्च भूभाग र सडकहरू मार्फत चट्टान र माटोको ढलसँगै बाढीको सामना गर्नु पर्ने बताइएको छ ।
दक्षिणी क्यालिफोर्नियाका केही भागहरूमा ३०.५ सेन्टिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको कोहेनले बताए ।
“जनवरीको जङ्गली आगोबाट प्रभावित क्षेत्रहरूसहित हालैका प्रभावित क्षेत्रहरू माटो र भग्नावशेषको प्रवाहका लागि अत्यधिक संवेदनशील भएको एलए काउन्टीका अधिकारीहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।
एलए कानून प्रवर्तनका अनुसार मंगलबार २०० भन्दा बढी प्रभावित घरहरू खाली गर्ने आदेश दिएको थियो ।
लस एन्जलस काउन्टी र राज्यका अन्य भागहरूमा मंगलबारदेखि बाढीको निगरानी गरिएको थियो ।
क्यालिफोर्नियाको पूर्वी सिमानामा रहेको प्रमुख पर्वत शृङ्खला सिएरा नेभाडामा यस हप्ता एक फिट भन्दा बढी हिउँ परेको छ भने आँधी आउनु अघि नै पाँच फिटसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको थियो ।
आँधी राज्य भरि ८८ किलोमिटर प्रति घण्टा सम्मको हावाको वेगमा आउने पनि अपेक्षा गरिएको थियो ।
कमजोर माटो र तीव्र हावाको संयोजनले ठूलो सङ्ख्यामा रूख र बिजुलीका लाइनहरू झर्ने सम्भावना रहेको मौसम अधिकारीहरूले चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4