News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका १४ वर्ष २७२ दिनका ब्याटर वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा लिस्ट–ए क्रिकेटमा सबैभन्दा कान्छा शतककर्ता बनेका छन्।
- सूर्यवंशीले ३६ बलमै शतक पूरा गरी ५९ बलमा १५० रन बनाउने कीर्तिमान पनि राखेका छन्।
- उनी आईपीएल र अन्डर–१९ विश्वकपका लागि बलिया दावेदार हुन् र बेङ्गलुरुमा क्याम्पमा सहभागी हुनेछन्।
९ पुस, काठमाडौं । भारतका १४ वर्षीय ब्याटर वैभव सूर्यवंशीले लिस्ट–ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान कायम गरेका छन् ।
१४ वर्ष २७२ दिनको उमेरमा वैभवले हाल भइरहेको विजय हजारे ट्रफीमा बिहारका लागि खेल्दै अरुणाचल प्रदेशविरुद्ध यो कीर्तिमान बनाएका हुन्। यो उनको लिस्ट–ए करियरको सातौं खेल मात्र थियो।
राँचीमा भएको प्लेट लिग खेलमा सूर्यवंशीले केवल ३६ बलमै शतक पूरा गरे, जुन टी–२० बाहेक उनको पहिलो सिनियर शतक हो। उनले ५९ बलमा १५० रन पूरा गर्दै पुरुष लिस्ट–ए क्रिकेटकै सबैभन्दा छिटो १५० रन बनाउने कीर्तिमान पनि राखे।
यसअघि उक्त कीर्तिमान दक्षिण अफ्रिकी ब्याटर एबी डिभिलियर्सको नाममा थियो, जसले २०१५ मा न्युजिल्यान्डविरुद्ध ६४ बलमा १५० रन पूरा गरेका थिए ।
अन्ततः वैभव ८४ बलमा १९० रन बनाएर आउट भए, जसमा १६ चौका र १५ छक्का समावेश थिए। २०० रन बनाउनबाट भने उनी चुके ।
सूर्यवंशी हाल भारतको अन्डर–१९ विश्वकप टोलीमा पर्न सक्ने बलिया दावेदारका रूपमा छन् । यसअघि उनले युएईमा भएको अन्डर–१९ एसिया कपमा पनि ९५ बलमा १७१ रन बनाएका थिए र भारतको युवा एकदिवसीय कीर्तिमान तोड्नबाट केवल ६ रनले चुकेका थिए।
१५ वटा युवा एकदिवसीय खेलमा सूर्यवंशीको औसत ५१.१३ रहेको छ भने उनको स्ट्राइक रेट १५८.७९ छ। गत महिना कतारको दोहामा उनले युएईविरुद्ध ३२ बलमै शतक पूरा गर्दै भारतीय खेलाडीका रूपमा तेस्रो सबैभन्दा छिटो टी–२० शतक बनाएका थिए।
२०२५ सूर्यवंशीका लागि उत्कृष्ट वर्ष सावित भएको छ। १३ वर्षको उमेरमै आईपीएल अक्सनमा छनोट भएका उनी आईपीएल शतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि बने। राजस्थान रोयल्सका लागि खेलेका सात खेलमा उनले २०६.५५ को स्ट्राइक रेटमा २५२ रन बनाए।
आईपीएलपछि उनले इंग्ल्याण्ड र अष्ट्रेलियाविरुद्धका युवा श्रृंखलामा पनि शतक प्रहार गरे। विजय हजारे ट्रफीका केही खेल मात्र खेलेपछि उनी अन्डर–१९ विश्वकपको तयारीका लागि बेङ्गलुरुमा हुने क्याम्पमा सहभागी हुनेछन्।
प्रतिक्रिया 4