१४ वर्षको उमेरमा अधिकांश बच्चाहरू स्कूल जान्छन्, भिडियो गेम खेल्छन्, वा गृहकार्यमा व्यस्त हुन्छन् । हामी पनि त्यस उमेरमा तिनै कुराहरूमा व्यस्त थियौं नै होला ।
तर एक त्यस्ता बालक पनि छन् जसले १४ वर्षको उमेरमा विश्वको उत्कृष्ट फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शतक प्रहार गरेर नयाँ इतिहास नै बनाएका छन् ।
उनी हुन् वैभव सुर्यवंशी । राजस्थान रोयल्सका ओपनिङ ब्याटर वैभवले गत सोमबार गुजरात टाइटन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङको उच्चतम स्तरमा पुगेर सबैलाई चकित पारे ।
भारतको विहार राज्यस्थित समस्तीपुर भन्ने सानो जिल्लाबाट आएका वैभवको क्रिकेट यात्रा नै असाधारण छ। उनले आफ्नो आईपीएल करियरको पहिलो बलमै छक्का हानेर सुरुवात गरेका थिए ।
त्यति मात्रै नभएर आफ्नो आईपीएल करियरको तेस्रो खेलमै उनले गुजरातविरुद्ध विस्फोटक शतक बनाएर सबैलाई चकित पारिदिए। यससँगै उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने।
वैभवको यो सफलताको पछाडि उनको परिवारको बलिदान र समर्थन छ। उनका बुबा संजीव सूर्यवंशी आफैं एक क्लब स्तरका क्रिकेटर थिए। उनले छोरा वैभवमा केही विशेष देखे र ५ वर्षकै उमेरदेखि घरमै क्रिकेट सिकाउन थाले।

तर गाउँमा राम्रो एकेडेमी नभएकाले उनले वैभवलाई पटनास्थित एक राम्रो एकेडेमीमा भर्ना गराए । त्यसको लागि उनले आफ्नो जमिन बेच्नुपर्यो। आमाले हरेक बिहान ३ बजे उठेर वैभवको लागि खाना बनाउने र प्रशिक्षकलाई समेत खाना पठाउने गर्थिन्।
पटनामा वैभवले छिट्टै प्रशिक्षकहरूको मन जिते। प्रशिक्षक मनिष ओझाका अनुसार वैभवले कुनै पनि नयाँ कुरो सिकाउँदा तुरुन्तै सिक्न सक्ने र खेलको दबावमा पनि त्यसलाई उत्तिकै सजिलै प्रयोग गर्ने गर्थे ।
वैभव यति प्रतिभाशाली थिए कि १० दिनमै प्रशिक्षकहरूले उनलाई उमेर समूहभन्दा माथिका खेलाडीहरूसँग अभ्यास गराउन थाले। उनी हरेक दिन बिहान ७:३० बजेदेखि साँझ ४ बजेसम्म ४५० बल खेलेर अभ्यास गर्थे। १२ वर्षको हुँदा उनलाई पूर्ण रूपमा क्रिकेट पेशा बनाउन अनुमति दिइयो।
एक दिनको कुरा हो- प्रशिक्षक मनिष ओझाले वैभवको अभ्यास सत्रपछि सोधे, ‘तिमी किन हरेक बलमा छक्का-चौका मात्रै हान्छौ ? राज्य स्तरको खेल चार दिन लामो हुन्छ, तिमीले सिंगल पनि लिन सिक्नुपर्छ।’
तर वैभवले सहज जवाफ दिए: ‘सर, म यदि छक्का हान्न सक्छु भने, किन सिंगल लिऊँ ?’ त्यो दिन ओझाले महसुस गरे कि, ‘ऊ अर्को स्तरको लागि तयार भइसकेको छ।’
वैभवको आक्रामक खेलशैली त्यसै दिनमा सीमित रहेन। सोमबारको खेलमा उनले विश्वस्तरका बलरहरू — इशान्त शर्मा, मोहम्मद सिराज, वाशिंगटन सुन्दर र राशिद खानलाई समेत सहजै छक्का-चौका हिर्काए ।
उनले बिहारको अन्डर-१९ टोलीबाट राम्रै प्रदर्शन गरे र त्यसपछि भारतको अन्डर-१९ टोलीमा समावेश भए। अष्ट्रेलियाविरुद्धको खेलमा उनले ५८ बलमा शतक बनाए। त्यसपछि उनी बिहारको रणजी टोलीमा परे र २०२४ को आईपीएल लिलामीमा राजस्थान रोयल्सले उनलाई १.१ करोड भारुमा अनुबन्ध गरे।
उनको आक्रामक खेलशैलीले उनलाई ‘बोस बेबी’ भन्ने उपनाम दिलाएको छ। उनले क्रिकेटका महान खेलाडी ब्रायन लारालाई आदर्श मानेका छन्।
प्रशिक्षकहरू भन्छन्, ‘हामीलाई थाहा थियो ऊ आईपीएलको स्तरसम्म पुग्छ। तर जब राजस्थान रोयल्सले उसलाई लिएको थाहा पाइयो, जहाँ राहुल द्रविड जस्ता महान खेलाडी छन्, हामी दोब्बर खुसी भयौं।’
बिहारको राज्य सरकारले उनलाई १० लाख भारु नगद पुरस्कारको पनि घोषणा गरेको छ। अब उनको नजर मुम्बईसँगको अर्को खेलमा छ, जहाँ उनी जसप्रीत बुमराहजस्तो विश्वस्तरीय बलरको सामना गर्दैछन्।
१४ वर्षको उमेरमै यति ठूलो उपलब्धि हासिल गर्नु सामान्य कुरा पटक्कै होइन। क्रिकेट जगतले अब वैभवलाई गम्भीरताका साथ हेरिरहेको छ।
-एजेन्सीबाट साभार विवरणको सहयोगमा प्रतिक भट्टबाट तयार पारिएको
 
                    










 २०८२ वैशाख  १७ गते २०:२१
                        २०८२ वैशाख  १७ गते २०:२१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4