+
+
Shares

रवि-बालेन मिलनमा कसरी जोडिन्छन् जेनजी ?

युवा पंक्तिमा अहिले देखिएको मुख्य चासो हो– जेनजी आन्दोलनकै जगमा भएको यो सहमतिमा आखिर जेनजी कहाँ छन् ? जेनजीलाई रास्वपा र बालेनबीचको सहमतिले कहाँ जोड्यो ?

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १३ गते २१:४३

१३ पुस, काठमाडौं । आइतबार बिहान झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता भयो ।

‘२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै…’ भएको यो सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

पछिल्लो साता नेपाली राजनीतिको केन्द्रमा रहेको वैकल्पिक शक्ति निर्माणका गतिविधिमा आम चासो देखिन्छ । विशेषगरी युवा पंक्तिमा अहिले देखिएको मुख्य चासो हो– जेनजी आन्दोलनकै जगमा भएको यो सहमतिमा आखिर जेनजी कहाँ छन् ? जेनजीलाई रास्वपा र बालेनबीचको सहमतिले कहाँ जोड्यो ?

जबकि, पार्टी राजनीतिमा आएसँगै बालेनले भेटघाट तीव्र बनाएका थिए । उनले भेट्ने लिस्टमा जेनजी अगुवाहरूको पनि नाम थियो । जेनजी फ्रन्टकी अगुवा रक्षा बम लगायतसँग ‘वान टु वान’ छलफल भयो । गत बुधबार साँझ भएको वार्तामा बमले बालेनसँग राजनीतिक सहकार्य गर्न सैद्धान्तिक आधार खोजेकी थिइन् ।

रक्षा बम ।

तत्कालीन समयमा आफ्नै समर्थनमा खुलेको देश विकास पार्टीबाट सक्रिय हुने बताएका बालेनले भेटघाटको क्रममा सोही पार्टीमा सहकार्यको लागि अनुरोध गरेका थिए । त्यसबेला जेनजी अगुवा बमले आफूहरूको सहकार्यको आधार र धरातल नै ‘इमानदारिता र नि:स्वार्थ देश सेवा’ रहेको निष्कर्ष निकालिएको थियो ।

‘देशमा काम गर्ने नेतृत्व चाहिएको छ, जसमा कुनै स्वार्थ नहोस् । हाम्रो कमन ग्राउन्ड इमानदारिता नै हो,’ बालेनसँगको भेटपछि बमले अनलाइनखबरसँग भनेकी थिइन् । योसँगै मेयर शाहले जेनजी अगुवालाई पनि एक ठाउँमा ल्याउन बमलाई विशेष भूमिका खेल्न पनि अनुरोध गरेका थिए ।

बुधबारको उक्त भेटघाटअघि बालेन–रविको ७ पुसको ७ घण्टे भेटले वैकल्पिक राजनीतिको यो कोर्सलाई डोर्याएको थियो । कमलपोखरीमा करिब ५ घण्टा एक्लै (२ घण्टा समूहमा) रवि भेटेका बालेनले त्यसपछि आफ्नो रफ्तार बढाएका थिए । उक्त दिन संवाद सकारात्मक नभएको छनक दिँदै उनले आफैँ अघि बढ्ने सुर कसे र जेनजीहरूसँग पनि भेटघाट गरे ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै रवि र बालेन ।

बिहीबार दिनभर छलफल गरेका बालेनले जेनजी अगुवा रक्षा बम, युजन राजभण्डारी, सुदन गुरुङ लगायतलाई ज्वागलमै बोलाएर भेटे । बालेनले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरे ।

जेनजी अगुवा युजन राजभण्डारीका अनुसार, मेयर शाहले सबै जेनजी एकजुट भएर आउन आग्रह गरे ।

‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस,’ मेयर शाहको सो दिनको भनाइ उद्धृत गर्दै राजभण्डारीले अनलाइनखबरसँग भने ।

द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङसहित प्रदेश संयोजकसँग पनि सोही आसयको कुराकानी गरे । र, यसपछि बालेन पुन: रवि र कुलमानसँग समानान्तर छलफल गर्न थाले । अन्तत: रवि र बालेनबीच मात्र ७ बुँदै सहमति भएको छ । तर यस भित्र जेनजीहरू अहिले कतै देखिँदैनन् । के उनीहरू अब बालेन समूहबाट रास्वपा छिर्छन् ? वा कसरी अटाउँछन् ? जेनजी आन्दोलनकै जगमा भएको वृहत एकताले जेनजीलाई कसरी समेट्छ ?

अहिलेको अवस्थामा बालेन समूहसँग सबैभन्दा निकट देखिन्छ– जेनजी फ्रन्ट । सँगसँगै द काउन्सिल अफ जेनजीलगायत अन्य युवा र विचार मिल्ने समूहहरूलाई पनि मिलाएर जान गृहकार्य भइरहेको बालेन निकट स्रोतको दाबी छ ।

मनिष खनाल ।

यदि बालेनसँग मिलेर रास्वपा प्रवेश गर्ने वा यो पार्टीमा कुनै तरिकाले जाने विषयमा जेनजी फ्रन्टको योजना के छ त ? फ्रन्टका अगुवा मनिष खनालका अनुसार यो समूह अझै पनि छलफलमै छ । ‘हामी छलफलमै छौँ । बालेनज्यूको सचिवालयसँग पनि कुराकानी भइरहेको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा अहिलेसम्म कुनै निष्कर्ष निस्किसकेको छैन,’ खनालले भने ।

यद्यपि, यो मिलनलाई लिएर आफू सकारात्मक रहेको खनालले बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले थपे, ‘आखिर सबै एक ठाउँमा उभिनैपर्छ, मिल्नैपर्छ भन्नेमा हाम्रो बल थियो । वैकल्पिक शक्ति एक ठाउँमा आउँदा खुसी नहुने कुरै भएन । तर उहाँहरूको सम्झौतामा जेनजी र सरकारबीच भएको सम्झौता पनि अलि स्पष्ट रूपमा उल्लेख भएको भए अझै राम्रो हुन्थ्यो भन्ने अपेक्षा हाम्रो थियो ।’

द काउन्सिल अफ जेनजीका अगुवाका अनुसार पनि उनीहरू यो दलमा कसरी जोडिने भन्ने विषयमा छलफलमै छन् । कोशी प्रदेश संयोजक उपार्जुन चामलिङका अनुसार बिहीबार बालेनसँग भेटघाट भए पनि पर्याप्त कुराकानी हुन पाएन । यो पार्टीले जेनजीलाई कसरी समेट्छ, के–कस्ता मुद्दा लिएर जनतामाझ जान्छ भन्नेमा स्पष्ट भएपछि बल्ल निर्णय लिइने उनले बताए ।

‘नयाँ आउँदैमा मिलिहाल्ने भन्ने हुँदैन । उहाँहरू के लिएर आउनुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । अस्ति एक पटक बस्यौँ, तर पर्याप्त छैन । फेरि बस्छौँ । अनि के हुन्छ, त्यो अनुसार निर्णय लिन्छौँ,’ चामलिङले भने ।

द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले भने यसमा समावेश नहुने संकेत देखाएका छन् ।

व्यक्तिलाई केन्द्रमा राखेर आएको पार्टी कति लामो जान्छ भन्ने कुरा सन्देहपूर्ण रहे पनि अहिलेको मिलनलाई लिएर आफूहरू सकारात्मक भएको टिप्पणी चामलिङले गरे । आमजनताले रुचाएको र अपेक्षा गरेका व्यक्तिहरू सहकार्य गर्ने कुरालाई सकारात्मक कोणबाट हेरिनुपर्ने उनको भनाइ छ । ‘अब यसमा जनताले कसरी रेस्पोन्स गर्छन् भन्ने कुरा महत्वपूर्ण हो । बरु उहाँहरूको यो एकता स्थायी रहोस् भन्ने मेरो कामना छ,’ उनले थपे ।

‘भदौ २३ र २४ आफैंमा पूर्ण छैन, फागुन २१ ले पूर्ण बनाउनुपर्छ’
उपार्जुन चामलिङ ।

यता, द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले भने यसमा समावेश नहुने संकेत देखाएका छन् । रवि–बालेनको फोटो पोस्ट गर्दै उनले अब आफूहरू जनताका मुद्दामै केन्द्रित हुने बताए । आफू र रास्वपा फरक ढंगले अघि बढ्ने संकेत गरे ।

‘अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ,’ गुरुङले लेखेका छन्, ‘हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्या समाधान गर्नमा ध्यान दिनेछौँ ।’

जबकि, गुरुङले यसअघि यी वैकल्पिक शक्तिका अगुवालाई आफूले नै मिलाउने र त्यसको लागि गृहकार्य गर्ने दाबी गर्दै आएका थिए । यदि यी शक्ति मिले आफू प्रतिनिधिसभा चुनावमा भाग लिनेसमेत घोषणा गरेका थिए ।

यतिसम्म, हिरासतमा रहँदै नख्खु पुगेर रवि लामिछाने भेटेका सुदनले रवि र बालेनको भेट पनि आफूसहितको सहजीकरणमा भएको दाबी गरेका थिए । त्यसअघि भएको कुलमान र बालेनबीचको भेट पनि आफ्नै पहलमा भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । कुलमानको उज्यालो नेपाल पार्टीमा नै आफूनिकटका जेनजी र प्रदेश संयोजकको नाम केन्द्रिय सदस्यको प्रस्तावित सूचिमा टिपाएका थिए । अन्तिम समयमा सबै वैकल्पिक शक्ति एक ठाउँ नउभिएको भन्दै उक्त सूचिमा आफू निकटको नाम झिकाए ।

सुदन गुरुङ ।

पछिल्लो केही साता वैकल्पिक राजनीतिको कोर्स पुन: तीव्र गतिमा अघि बढिरहेको छ । कुलमान घिसिङ उज्यालो नेपाललाई प्रलोपासँग चुनावी सहकार्य गराउने तयारीमा जुटिसके । रवि र बालेन मिलेर रास्वपाको समानुपातिक सूचि तयार गर्दैछन् । तर सुदन हालसम्म कतै पनि देखिएका छैनन् । यसबारे कता/कसरी जोडिने भन्नेमा आफूहरू छलफलमै रहेको उनी निकट जेनजी अगुवा बताउँछन् ।

जेनजी एलायन्सका नेता विकास रसाइलीले रवि–बालेन मिलनलाई सकारात्मक रूपमा लिए पनि त्यसले राजनीतिक, आर्थिक, सामाजिक निकास पाउँछ कि पाउँदैन भन्ने प्रश्न मुख्य भएको बताए ।

बालेन निकट स्रोत पनि जेनजीसँग संवादमै रहेकाले उहाँहरूलाई सँगै लिएर अघि बढ्ने बताउँछ । ‘के–कसरी भन्ने कुरा संवादबाटै निस्कन्छ । हामीले संवाद टुटाएका छैनौँ । सबैलाई मिलाएर अघि बढ्छौँ,’ स्रोतले भन्यो ।

जेनजी मुभमेन्ट अलायन्स भने यो एकतालाई लिएर त्यति उत्साही देखिँदैन । बरु यसका अगुवाहरूले रवि–बालेनको सहमतिपछि सार्वजनिक गरिएको तस्वीरलाई लिएर समावेशी नभएको टिप्पणी गरिरहेका छन् ।

साङ्केन राई ।

जेनजी अगुवा साङ्केन राईले उक्त वार्तामा सहभागी सबै पुरुष रहेको र समावेशी नभएको बताउँदै लेखेकी छन्, ‘अब फेरि भन्नोस्– महिला अधिकार हाम्रा महान पुरुषहरूको देन भनेर ।’

जेनजी एलायन्सका नेता विकास रसाइलीले रवि–बालेन मिलनलाई सकारात्मक रूपमा लिए पनि त्यसले राजनीतिक, आर्थिक, सामाजिक निकास पाउँछ कि पाउँदैन भन्ने प्रश्न मुख्य भएको बताए ।

विकास रसाइली ।

२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउँदाको उत्साह धेरै समय नटिकेर जनता फेरि निराश भएको उदाहरण दिँदै उनले भने, ‘यदि आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा सोचिएन भने निराशा पैदा हुने र पुन: जेनजी आन्दोलन जस्तो अर्को आन्दोलन हुने सम्भावना रहन्छ ।’

‘नेपाली जनताको जनजीविकाको विषय आर्थिक पाटो हो, यहाँको सामाजिक, सांस्कृतिक पाटो हो, यो परिवर्तन नहुँदासम्म नेपाली जनताले सुख पाउनेवाला छैनन्,’ रसाइलीले थपे, ‘त्यसैले नयाँहरूले त्यतातिर सोच्नुपर्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?