News Summary
Generated by OK AI. Editorially reviewed.- पुस २६ र २७ गते चितवन मेडिकल कलेजमा बिरामी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको दुईदिने सम्मेलन आयोजना हुने भएको छ।
१४ पुस, काठमाडौं । बिरामी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको दुईदिने सम्मेलन आयोजना हुने भएको छ । यही पुस २६ र २७ चितवन मेडिकल कलेजमा सम्मेलन आयोजना हुन लागेको हो । निरामय आयोजना हुने लागेको यस सम्मेलनको सहआयोजक चितवन मेडिकल कलेज अस्पताल रहेको छ ।
‘नैतिक, व्यवसायिक र बिरामी-केन्द्रित हेरचाह’ मार्फत नेपालमा जिम्मेवार स्वास्थ्य प्रणाली सुदृढीकरण’ भन्ने मूल नारासहित सम्मेलन आयोजना हुन लागेको कार्यक्रम संयोजक डा. दीर्घराज जोशीले जानकारी दिए । जोशीका अनुसार कार्यक्रममा देशभरका चिकित्सक, नर्स, फार्मासिस्ट, जनस्वास्थ्य क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागीहरूले आफ्ना अनुसन्धानका मौखिक तथा पोस्टर प्रस्तुती राख्नेछन् । साथै, स्वास्थ्य क्षेत्रका केही विशिष्ट व्यक्तिहरूले किनोट सेसनमार्फत आफ्ना अनुभव र बिरामी सुरक्षा सुनिश्चित गर्न सकिने सम्भाव्य उपायहरू प्रस्तुत गर्नेछन् ।
पूर्णरूपमा बिरामी सुरक्षामा केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन नेपालमा पहिलोपटक आयोजना हुन लागेको डा.जोशीले बताए । हाम्रो स्वास्थ्य प्रणालीका कमजोरीमा औषधिको जथाभावी प्रयोग, दर्ता नभएका स्वास्थ्य संस्थाहरू सञ्चालन हुनु, चिकित्सक र बिरामीबीच बढ्दो तनाव, तथा आम व्यक्तिलाई स्वास्थ्य प्रणालीबारे पर्याप्त जानकारी दिन नसक्नु रहेको उनको भनाइ छ ।
यिनै समस्यालाई केन्द्रमा राख्दै नैतिकता, जवाफदेहिता, इमान्दारता र आध्यात्मिक चेत सहित बिरामीलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीहरूले कसरी कार्य गर्नुपर्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहने डा.जोशीले जानकारी दिए ।
सम्मेलनमा सहभागिताका लागि पुस १९ गतेसम्म आवेदन खुल्ला गरिएको छ । सम्मेलनम सहभागी हुने दर्ता शुल्क विद्यार्थीहरूका लागि १००० रुपैयाँ र अन्य सहभागीहरूका लागि १५०० रुपैयाँ तोकिएको छ। शुल्कमा सम्मेलन किट, साझा आवास, खाना, खाजा तथा प्रमाणपत्र समावेश गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4