+

खेल जगत‍्मा गम्भीर विषय बन्दै डोपिङ, नेपालमा कस्तो छ अवस्था ?

२०८२ पुष  १४ गते ११:३४ २०८२ पुष १४ गते ११:३४

डोपिङ उल्लंघनको असर खेल मैदानमै सीमित हुँदैन। यसले खेलाडीको मानसिक स्वास्थ्य, आत्मविश्वास र भविष्यका अवसरहरूमा गहिरो चोट पुर्‍याउँछ । एक पटक डोपिङ उल्लंघनको कसूर लागेपछि सही प्रमाणित गर्न खेलाडीले लामो समयसम्म संघर्ष गर्नुपर्छ।

खेल जगत‍्मा गम्भीर विषय बन्दै डोपिङ, नेपालमा कस्तो छ अवस्था ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोपिङले खेलकुदको निष्पक्षता र खेलाडीको स्वास्थ्यमा जोखिम पुर्‍याउँछ र विश्व डोपिङ विरोधी संस्था सन् १९९९ देखि यसलाई नियन्त्रण गर्दै आएको छ।
  • नेपालमा राष्ट्रिय एन्टीडोपिङ एजेन्सी २०८० सालमा गठन भए पनि कानुनी र व्यवहारिक सचेतना कमजोर छ र डोपिङ नियन्त्रणमा चुनौती छ।
  • नर्वेमा महिला फुटबलमा आठ खेलाडी डोपिङ पोजिटिभ देखिएपछि अनुसन्धानले कृत्रिम मैदानबाट सरेको पुष्टि गर्यो र खेलकुदमा नयाँ बहस सुरु भयो।

खेलकुद एक व्यक्तिको जित र हारभन्दा निकै माथि राष्ट्र र राष्ट्रियतासँग जोडिएको हुन्छ । हामीले विचार गर्नु पर्ने कुरा खेलकुदको अवस्थाले खेलाडीको करियर मात्र नभई देश र देशको अवस्था विश्व माझ मज्जाले झल्काउने गर्दछ ।

आजको युगमा खेलकुद विश्वको गतिसँगै गति लिँदै अगाडि लम्किँदै छ । जसका कारण हामीले नयाँ नयाँ नियम व्यवस्था र अवस्था देख्न सक्छौं । यसै क्रममा खेलकुदमा मानव अधिकार र न्यायका कुराहरू जोडिदै गर्दा निस्कने महत्वपूर्ण विषय हो डोपिङ ।

अचानक ‘डोपिङ’ शब्द सुन्नसाथ लाग्ला के हो डोपिङ ? अब सुन्नुहोस्, मानव सभ्यतालाई नियाल्दै गर्दा मानवको जित्न वा उत्कृष्ट बन्न चाहना राख्नु मानवीय गुण हो त्यसैको परिणाम आज सबैभन्दा सर्वोत्कृष्ट प्राणीको रूपमा हामी स्थापित छौं र राज गरिरहेका छाैं। खेलकुदमा अझ सबै खेलाडी जित हासिल गर्ने हेतुले मिहेनत गरिरहेका हुन्छन्, यसै जित्ने जुनुन राखी आफ्नो प्राकृतिक शक्ति नभई अप्राकृतिक शक्ति आर्जन गर्न सप्लिमेन्ट लिने वा जित्नको लागि वर्जित कार्यको सहयोग लिनु नै डोपिङ हो ।

जस्तै खेलाडीको शरीरमा निषेधित पदार्थ भेटिनु, त्यस्ता पदार्थ प्रयोग गर्नु, वा डोपिङ परीक्षणसँग सम्बन्धित कुनै पनि नियम उल्लंघन गर्नु हो। यसले खेलकुदको बराबरी प्रतिस्पर्धा बिगार्छ र खेलाडीको स्वास्थ्यमा अल्पकालिन र दीर्घकालीन दुवै किसिमको जोखिम निम्त्याउँछ। यही कारण विश्व डोपिङ विरोधी संस्था (वाडा) ले सन् १९९९ देखि विश्व डोपिङ विरोधी कार्यहरू लागू गर्दै आएको छ। नेपालमा यसका लागि नेपाल सरकारले पनि राष्ट्रिय एन्टीडोपिङ एजेन्सी (नाडा नेपाल) २०८० सालमा गठन गरिसकेको छ।

डोपिङ केवल छलकपट मात्र नभई खेलाडीको स्वास्थ्य, खेलकुदको निष्पक्षता र सम्पूर्ण खेल प्रणालीसँग जोडिएको गम्भीर विषय बनेको छ। जानकारीको कमी वा सानो लापरबाहीले पनि खेलाडीलाई अपराधी बनाइदिन सक्छ। यही कारण डोपिङ नियन्त्रणलाई विश्वभर अत्यन्त कडाइका साथ लागू गरिएको छ। डोपिङ नियमको सबैभन्दा कठोर पक्ष भनेको ‘स्ट्रिक्ट लाइबिलिटी’ सिद्धान्त हो। यसको अर्थ, खेलाडीको शरीरमा निषेधित पदार्थ भेटिएमा त्यसको कारण, मात्रा वा नियत जे भए पनि जिम्मेवार खेलाडी नै हुन्छ। खेलाडीलाई थाहा नभएर औषधि खानु, दूषित सप्लिमेन्ट प्रयोग हुनु, वा प्रशिक्षक र चिकित्सकको गल्ती—यी सबै कारण सजाय घटाउने आधार हुन त सक्छन्, तर उल्लंघन मेटिने आधार कहिल्यै हुँदैनन्। त्यसैले ‘मलाई थाहा थिएन’ भन्ने तर्क डोपिङमा स्वीकार हुँदैन।

नेपालमा डोपिङ नियन्त्रणका लागि कानुनी संरचना भए पनि व्यवहारिक सचेतना अझै कमजोर छ। नेपालमा एजेन्सीको कार्यलय भएतापनि कानुनी र व्यवहारिक पाटो एकदमै फितलो देखिन्छ।

विश्व खेलकुदमा यस्ता धेरै उदाहरण छन् जहाँ निर्दोष देखिएका खेलाडीहरूले पनि सजाय भोग्नुपरेको छ। सप्लिमेन्टमा मिसिएको सानो मात्राको निषेधित पदार्थ, साधारण रुघाखोकीको औषधि, वा आफ्नो ठेगाना समयमै अद्यावधिक नगर्दा भएको प्रशासनिक गल्तीले समेत खेलाडीलाई केही वर्षसम्म सम्पूर्ण खेलकुदबाट नै मैदानबाहिर राखेको छ। एक पटक डोपिङ उल्लंघन लागेपछि पदक र पुरस्कार फिर्ता मात्र होइन, खेल जीवन र मानप्रतिष्ठामा नै ठूलो धक्का पुग्छ।

हालै नर्वेमा भएको महिला फुटबल खेलपछि भएको डोपिङ जाँचमा आठ खेलाडिमा डोपिङ पोजिटिभ देखियो । एकै खेलमा आठ जना खेलाडमा पोजेटिभ देखिनु खेलकुद क्षेत्रका लागि आठौं आश्चर्य सावित भयो। फिफाको एन्टी डोपिङ नियम अनुरूप यदि कुनै प्रतियोगितामा दुई भन्दा बढी खेलाडिहरू डोपिङ पोजिटिभ भएमा उक्त खेलाडिहरू सँगै क्लब/ टोली समेत कारवाहीको भागीदारी रहन्छ।

लामो अनुसन्धानपछि त्यो पदार्थ खेलाडीले प्रयोग नगरेको, बरु कृत्रिम फुटबल मैदानमा प्रयोग गरिएको सामग्रीबाट सरेको पुष्टि भयो। अनुसन्धान पछि खेलाडी दोषमुक्त भए, तर यो घटनाले डोपिङ अब केवल खेलाडीको व्यवहारसँग मात्र सीमित नरहेको, खेल्ने वातावरण पनि जोखिम हुन सक्ने देखाएको छ। हालसालै भएको याे घटनाले खेलजगतलाइ अफ्ठ्यारो मोडमा ल्याइपुर्‍याएको छ । यो बहसले खेलकुदलाई नयाँ मार्ग दिने छ भन्ने आशा छ । खेलकुदको प्रतीक अनुशासन र मर्यादापलन हो यसलाई मध्यनजर गर्नु खेलकुद सँग जोडिएका हरेक व्यक्ति, व्यवसायी, प्रशिक्षक, खेलाडी र अभिभावकहरूको जिम्मेवारी हो साथै राज्यको पनि मुख्य दायित्व हो ।

यस घटनाले हामी नेपाली खेलाडी र नेपालजस्तो खेलकुदमा कमजोर धरातल भएको देशको लागि गम्भीर प्रश्न उठाउँछ। नेपालमा पनि फुटबल, फूटसल र अन्य खेलहरू कृत्रिम मैदानमा खेलिन्छन्। तर ती मैदान सुरक्षित छन् कि छैनन्, डोपिङको जोखिम परीक्षण हुन्छ कि हुँदैन, र यदि समस्या आयो भने त्यसको वैज्ञानिक अनुसन्धान गर्ने क्षमता हामीसँग छ कि छैन भन्ने प्रश्न अझै अनुत्तरित छन्।

यदि यस्तै घटना कुनै नेपाली खेलाडीसँग भयो भने, के हामीसँग उसको निर्दोषता प्रमाणित गर्ने प्रणाली छ ? यो विषयमा मौन रहनु खतरनाक हुन सक्छ। हुनत यहाँसम्म के पुग्नु सुरुवातमा त खेलाडीलाई (लेवेल फिल्ड) डोपिङको सचेतना दिन कतिको सकेको छ भन्ने प्रश्नमा जाऔं अनि हाम्रो नेपालको एन्टीडोपिङ एजेन्सी कत्तिको जीवित छ वा छैन भन्ने तर्फ जान जरुरी छ । हामी नेपाली खेलाडीको लागि खुसीको कुरा नेपालमा डोपिङ जाँच हुँदैन भए पनि कसैलाई वास्ता छैन ।

केही समय त यो कुरा ले खुसी दिन सक्ला राष्ट्रिय स्तरमा खेल्दा सम्म त हामी सुरक्षित रहौला तर अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै नखेल्ने हो ? नेपाल खेलकुदमा अन्तर्राष्ट्रिय जगतमा के जाँदै नजाने हो र ? यदि अन्तराष्ट्रिय जगतमा गएर पोजिटिभ आउँदाको परीणामको भागेदारी को हुनेछ ? खेलाडी स्वयं वा राखेप ? मन्त्रालय वा नेपाल एन्टीडोपिङ एजेन्सी ? खेलाडीले तिर्ने ५००० डलर होस् या क्लब वा खेल संघले बुझाउन पर्ने ५ लाख डलरसम्मको जरिवाना, आर्थिक रूपमै पनि हामीलाई एकदमै भारी पर्ने वाला छ ।

डोपिङ उल्लंघनको असर खेल मैदानमै सीमित हुँदैन। यसले खेलाडीको मानसिक स्वास्थ्य, आत्मविश्वास र भविष्यका अवसरहरूमा गहिरो चोट पुर्‍याउँछ । एकपटक डोपिङ उल्लंघनको कसूर लागेपछि सही प्रमाणित गर्न खेलाडीले लामो समयसम्म संघर्ष गर्नुपर्छ। नेपालमा पनि लामो समय देखि डोपिङ पोजिटिभ केसहरू विभिन्न वर्षहरूमा पोजिटिभ आएको देखिन्छ । हाम्रा एक खेलाडीले साग गेममा जितेको स्वर्ण पदक र पुरस्कार फिर्ता गर्नु परेको इतिहास हामी सामु अझै ताजा छ ।

नेपालमा डोपिङ नियन्त्रणका लागि कानुनी संरचना भए पनि व्यवहारिक सचेतना अझै कमजोर छ। नेपालमा एजेन्सीको कार्यलय भएतापनि कानुनी र व्यवहारिक पाटो एकदमै फितलो देखिन्छ। नेपालको खेलकुद विकास ऐनले त डोपिङ केसहरू लाई जिल्ला अदालतले हेर्ने भनेको छ । सन् २०१० मा युनेस्को कन्भेन्सनको संसदबाट पारित गरेको देशले हाराहारी १० वर्ष पछि बनाएको ऐनमै डोपिङका आधारभूत मान्यताहरूलाई नै अनदेखा गरेको छ ।

धेरै खेलाडीलाई निषेधित पदार्थबारे पर्याप्त जानकारी छैन। सप्लिमेन्ट प्रयोगबारे स्पष्ट मार्गदर्शनको अभाव छ। प्रशिक्षक र चिकित्सक का लागि नियमित तालिमको कमी छ। ‘स्ट्रिक्ट लाइबिलिटी’को यथार्थ नबुझेमा नेपाली खेलाडीहरू अन्जान गल्तीका कारण पनि प्रतिबन्धको जोखिममा पर्न सक्छन्। डोपिङ किन महत्वपूर्ण विषय हो भन्ने कुरा यहीँ स्पष्ट हुन्छ। यो केवल नियम उल्लंघनको विषय होइन, खेलाडीको स्वास्थ्य, करियर र खेलकुदको भविष्यसँग जोडिएको विषय हो। त्यसैले डोपिङलाई डरको विषय होइन, जानकारी र सचेतनाको विषयका रूपमा लिन आवश्यक छ।

खेल जित्न मेहनत चाहिन्छ, तर खेलाडि जोगाउन सचेतना। नेपाली खेलकुद प्रणालीले अब डोपिङलाई गम्भीर विषयका रूपमा लिएर शिक्षा, निगरानी र अनुसन्धानमा लगानी गर्न ढिलाइ गर्नु हुँदैन।

(लेखक फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् । सँगै अन्तराष्ट्रिय स्वर्ण पदक विजेता र वकील पनि हुन्)

डोपिङ

धेरै कमेन्ट गरिएका

लेखक
करिना पुरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय