News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन क्रिकेट क्लबले एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ।
- चितवनले १४४ रनको लक्ष्य एक बल अगावै ९ विकेट गुमाउँदै पूरा गरेको थियो भने शुभ कंशकारले ६७ रन बनाए।
- प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भएका छन् र चितवनका दीपेश कंडेल उत्कृष्ट बलर घोषित भएका छन्।
१३ पुस, काठमाडौं । घरेलु टोली चितवन क्रिकेट क्लब इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि जितेसँगै चितवनले नगद ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ ।
एपीएफले दिएको १४४ रनको लक्ष्य चितवनले एक बल अगावै ९ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि शुभ कंशकारले ६७ रन बनाए भने दीपक डुम्रेले ३७ रन बनाए ।
एपीएफका इर्शाद अहमदले ४ ओभरमा १८ रन खर्चिदै ५ विकेट लिए । अभिशेष गौतम र दिवान पुनले समान एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । दीपक बोहोराले ४७ रन, सुमित महर्जनले २८, अमर सिंह राउटेलाले २५ र सलाहुदिन खानले २२ रन बनाए ।
चितवनका लागि दीपेश कँडेलले ४ ओभरमा २८ रन खर्चिदै २ विकेट लिए भने विपिन खत्री, नरेश प्रधान र दीपेश श्रेष्ठले समान एक–एक विकेट लिए । चितवनका शुभ कंशकार प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भएका छन् । दासले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटरमा दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलरमा चितवन क्रिकेट क्लबका दीपेश कंडेल घोषित भए । उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्ली वन्डर्स क्रिकेट क्लबलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित गर्यो । १९८ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सकेपछि आर्मी ३६ रनले विजयी हुँदै प्रतियोगितामा तेस्रो भयो ।
खेलमा तृतराज दास प्लेयर अफ द म्याच घोषित भए । आर्मीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
विजेता टिमलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया 4