News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ पुस २३ गते पोखरामा आयोजना गर्ने घोषणा गरेको छ।
- अवार्डअघि पुस २२ गते पोखरामा 'एनएसजेएफ स्पोर्ट्स समिट' दुई सेसनसहित आयोजना गरिने मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिनुभयो।
- वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस लगायत १० विधामा पुरस्कार वितरण गरिने र पिपल्स च्वाइस भोटिङ आजैबाट सुरु हुने अध्यक्ष अधिकारीले बताउनुभयो।
१३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यसअघि स्थगित भएको २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को नयाँ मिति पुस २३ गते बुधबार हुने घोषणा गरेको छ। अवार्ड कार्यक्रम पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने भएको छ।
अवार्डअघि पुस २२ गते ‘एनएसजेएफ स्पोर्ट्स समिट’ पनि पोखरामा आयोजना गरिनेछ। उक्त समिटमा एडेभेन्चर स्पोर्ट्स पनि जोडेर २ सेसन हुने मञ्चका अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए ।
मञ्चले अवार्ड कार्यक्रमको तयारी विगतमा जेनजी आन्दोलनका कारण प्रभावित भए पनि अब नयाँ कार्यक्रम स्थल र आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।
यस वर्ष अवार्डमा नयाँ सहप्रायोजक यती एयरलाइन्स थपिएको छ भने नासा सेक्युरिटिजले नयाँ प्रायोजकको भूमिका ग्रहण गरेको छ। अवार्डमा गोल्छा ग्रुप मुख्य प्रायोजकको रूपमा रहँदैछ र पोखरा महानगरपालिकासँग पनि सहकार्य सुनिश्चित गरिएको छ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा १० विधामा पुरस्कार वितरण गरिनेछ। वर्षको उत्कृष्ट खेलाडी (पुरुष, महिला, युवा), वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयरका विजेतालाई पुरस्कार दिइनेछ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई नगद एक लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर दिइनेछ।
पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ आजैबाट सुरु हुने र पहिलेकै भोटमा जोडिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । यस विधाका मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् ।
पूर्वनिर्धारित मितिमा अवार्ड स्थगित हुनुपर्दा भएको असुविधा र आर्थिक असरका बाबजुद मञ्चले अब कार्यक्रम सफल बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया 4