१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भएको बताएका छन् ।
अर्का महामन्त्री गगनकुमार थापासँगको छलफलपछि अनलाइनखबरसँग कुरा गर्दै शर्माले नियमित महाधिवेशन नहुनु भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु भएको बताएका हुन् ।
‘नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु हो,’ उनले भने, ‘ विधानको धारा १७ को उपधारा २ बमोजिम यसको कामकारबाही अघि बढ्छ । विधानको पालना गर्ने कुरा महामन्त्रीहरूको पनि हो, कार्यवाहकको पनि हो, सभापतिको पनि हो। जसरी संसद् विघटन संविधानविपरीत भयो भन्ने कांग्रेसले आफ्नो अधिवेशन पनि विधान बमोजिम नियमित पनि नगर्ने र विशेष पनि नगर्ने हुँदैन यो पनि विधान विपरीत हुन्छ ।’
शर्माले विशेष महाधिवेशनको विषयमा दुई दिनभित्र टुंगो लाग्ने पनि बताए । ‘अबको दुई दिनभित्र यसलाई कुन रुपमा गर्ने भन्ने टुंगो लगाउँछौँ’ उनले भने ।
सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार आज साँझ ५ बजे देउवाले दुई महामन्त्रीसँग छलफल गर्दैछन् ।
कांग्रेसको नियमित महाधिवेशनअनुसार आज गाउँ/नगरको अधिवेशन हुनुपर्ने हो । तर यसको कुनै प्रक्रिया नै सुरु गरिएन । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन् । यसैको आधारमा महामन्त्रीद्वयले विशेष महाधिवेशन तत्काल गर्नुपर्ने भन्दै आएका छन् । विशेष महाधिवेशन माग गरिएको ९० दिनभित्र महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । यसअनुसार पुस २८ गते यसको समय सकिँदैछ ।
सभापति देउवा भने अहिले महाधिवेशन गर्न नहुने पक्षमा छन् । उनले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्नै नहुने बताएका छन् । ‘चुनावअघि महाधिवेशन गर्दा रिसराग बाँकी हुन्छ । महाधिवेशनको रिस चुनावमा पोखिन्छ,’ मंगलबार देउवाले पत्रकारहरूसँग भनेका थिए ।
विशेष पक्षले भने पुस २७ गते विशेष महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4