+
+
Shares

‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामीमाथि…’

रक्तपात, विद्रोह, अन्यौलता यी सब मिश्रित हुँदा उनले गीत लेख्ने वा कला सिर्जना गर्ने सोचेकै थिइनन् । उनी स्वयं भावनात्मक रूपमा विचलित भइरहेकी थिइन् ।

सापेक्ष सापेक्ष
२०८२ पुष २० गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ वर्षीय मोनिका थापाले जेनजी विद्रोहपछि सामाजिक अन्याय र दमनविरुद्ध \'कलिला छाती\' गीत सार्वजनिक गरिन्।
  • गीतले सत्ताको क्रूरता र विद्रोहको पीडा काव्यात्मक रूपमा प्रस्तुत गरेको छ र सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

नसुन्नेहरूका लागि यो केही होइन ।

सुन्नेहरूका लागि यो गीत मात्र पनि होइन ।

बुझ्नेहरूका लागि एउटा खबरदारी, दस्तावेज र प्रतिरोध हो ।

नबुझ्नेहरूको हकमा त हिसाब नै छैन ।

कुरा गरिरहेको यो गीतको पृष्ठभूमि नै भयंकर कालो छ । दर्दनाक छ । क्रुरता छ । दमन छ । शोषण छ । उकसमुकुस छ । छटपटाहट छ । वेदना छ । रोदन छ । मरेको आशा र आँसु छ । थुप्रिएका सपनाहरूको चाङ छ । मरेका सपनाहरूको लास छ । उम्लिरहेको रिस छ । विष्फोटन हुन बाँकी चिच्याहट छ ।

र, यी सब पछि निस्कन्छ:

छेडेर कलिला छाती
फेरि टेक्लास् हामीमाथि
भाषण अनुसशान
यहाँ राशनमै शासन
म बिना चैं
कसले पुँजि दिन्छ तेरो आशन
पत्रपत्रिका भरी ओइरी श्रद्धान्जली
ठडिन्छ तेरो शालिक टेकी शहीद नाबालिग

‘कलिला छाती’ बोलको यो गीत २१ वर्षीय मोनिका थापाले निकालिन्, जब जेनजी विद्रोहपछि अलि साम्य भएको थियो । तर गत भदौ २३ र २४ पछिको लहड बन्न गयो यो गीत । खबरदारी बन्न गयो । सातो लिने बहाना र विद्रोह सम्झाइरहने धुन बन्न गयो ।

अनि एउटा कलाकारको ‘हतियार’ कला नै भएकाले आवाज दिनु नै उनले आफ्नो दायित्व ठानिन् ।

यो गीतको शक्ति शब्द र लय दुवैमा छ । बारम्बार दोहोरिरहने शब्दहरूको उच्चारण सुन्दा पसिना आउन सक्छ । रौंहरू ठाडा हुन सक्छन् । रगत उम्लिन सक्छ । गीतका हरेक पङ्क्तिले तितो र कठोर यथार्थ, मूलत: जेनजी विद्रोहलाई काव्यात्मक विद्रोहको कसी लगाएको छ । गीतमा कुनै करुणा छैन । दया छैन ।

गीतको सुरुवात नै एउटा भयावह दृश्यबाट हुन्छ- छेडेर कलिला छाती, फेरि टेक्लास् हामीमाथि । र, पूरै गीतभर मोनिकाले क्रमिक: रूपमा कठोर हुँदै यी हरफहरू गाएकी छिन् ।

सत्ताको क्रूरता, रगतको राजनीति र हाम्रो विडम्बनालाई एउटै तस्बिरमा उतारेकी छिन् । लय र शब्दहरूमार्फत सत्ताको उन्मादमा अन्धो भएको नेतृत्वलाई सोधि मात्र रहेकीछिन् । तर, मोनिकाले विद्रोहपछि ‘म यस्तै लेख्छु’ भनेर गीतका शक्तिशाली शब्दहरू कदापी लेखेकी होइनन् । यस्तै ‘लय भर्छु’ भनेर धुन तयार पारेकी होइनन् ।

उनले यो गीतमा संलग्न केही अन्तरा जेनजी विद्रोहको निकै अघि लेखेकी थिइन् । जसबेला पनि गीतका शब्दहरूले भने झैं ‘राशनमा शासन’ थियो । तर, नेतृत्वमा रहेका नेताहरू लाच पचाएर भाषण गरिहिंड्थे । उपहास गरिहिंड्थे ।

नेताहरूको त्यो विरोधयोग्य हर्कतले मोनिका उम्लिरहेकी थिइन् । उनलाई उकुसमुकुस भइरहेको थियो । जबदेखि उनले राजनीतिबारे ज्ञान पाउन र बुझ्न थालेकी थिइन्, त्यसबेला देखि नै उनमा निराशा र आजितता व्यापक थियो । यो भावना उनी भित्रै एउटा आक्रोश बनेर बसेको थियो, जसले गर्दा कुनै समाचार सुन्दा पनि उनी दु:खी रहन्थिन् । अनि त्यहीं आक्रोश पोख्न उनले केही शब्दहरू कोरेकी थिइन् ।

भाषण अनुसशान
यहाँ राशनमै शासन
म बिना चैं
कसले पुँजि दिन्छ तेरो आशन

राजधानीमा सत्तापलट गराउने प्रदर्शन हुँदै गर्दा २३ गते मोनिका बाहिरी जिल्लामा थिइन् । समाचार सुनिरहेकी थिइन् । यता माहौल अर्कै भइसकेको थियो । सरकारको दम्भले युवाहरू ढलिरहेका थिए । उता उनको मन वेचैन भइरहेको थियो ।

परिवारको सल्लाहमा मोनिका केही दिन उतै थुनिइन् । माहौल शान्त भएपछिकाठमाडौं फर्किइन् । तर, रक्तपात, विद्रोह, अन्यौलता यी सब मिश्रित हुँदा उनले गीत लेख्ने वा कला सिर्जना गर्ने सोचेकै थिइनन् । उनी स्वयं भावनात्मक रूपमा विचलित भइरहेकी थिइन् ।

तर जब केही जत्थाले जवाफदेही नभइकन सार्वजनिक रूपमा नीच भाषण दिन थाले, तब भने आवाज उठाउन आवश्यक छ भन्ने महसुस हुन थाल्यो । अनि एउटा कलाकारको ‘हतियार’ कला नै भएकाले आवाज दिनु नै उनले आफ्नो दायित्व ठानिन् ।

गत भदौ २३ र २४ पछिको लहड बन्न गयो यो गीत । खबरदारी बन्न गयो । सातो लिने बहाना र विद्रोह सम्झाइरहने धुन बन्न गयो ।

अनि आफ्नो डायरी पल्टाइन् । जहाँ पहिल्यै लेखिएका केही शब्दहरू तत्कालीन समयसँग मिल्ने थियो । जम्मा उनले निर्ममतापूर्वक गोली हानिएको प्रसंगलाई शब्दमा उतारिन्। र, गुनगुनाउँदै जाँदा अहिलेको लय पनि निकालिन् । जो काम क्षणभरमै भएको थियो ।

जे आक्रोश थियो, जे वेदना थियो- त्यसलाई गीतमा निकाल्ने उनको प्रयास थियो । अर्कोतिर लयलाई सादगी बनाउनु पनि थियो । उनले सीमित कर्डहरू प्रयोग गरेर गीत तयार पारिन् ।

अब तयार भइसकेको गीत उनलाई धेरैबेर आफूसँग राख्नु थिएन । उनले अकोस्टिक भर्सन रेकर्ड गरिन् । विद्रोह स्वरूप भिडियोमा ‘रातो’ रङलाई पृष्ठभूमि बनाइन् । र, थप नसोची सामाजिक सञ्जालमा राखिदिइन् ।

त्यसपछि नसुन्नेहरूका लागि यो गीत केही भएन । सुन्नेहरूका लागि यो गीत मात्र पनि भएन । बुझ्नेहरूका लागि एउटा खबरदारी, दस्तावेज र प्रतिरोध भयो । नबुझ्नेहरूको हकमा त हिसाब नै रहेन ।

हालै मात्र उनले यो गीतको स्टुडियो रेकर्ड गरेर भिडियो पनि निकालेकी छिन् । एआईको सहयोगमा बनाइएको उक्त म्युजिक भिडियोमा जेनजी विद्रोहलाई आधार बनाएर कथा देखाइएको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?