News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले २०२६ को वार्षिक क्यालेन्डरमा पुरुष क्रिकेटका लागि टेस्ट राष्ट्रसँग नेपालमै खेल खेलाउने लक्ष्य राखेको छ।
- फेब्रुअरीमा पुरुष टोलीले टी-२० विश्वकप खेल्ने र मार्चमा घरेलु मैदानमा लिग २ शृंखला आयोजना गर्ने तयारी छ।
- विद्यालय तहदेखि राष्ट्रिय स्तरसम्म क्रिकेट प्रतियोगिता आयोजना गरी खेलाडी तयार गर्ने योजना क्यानले बनाएको छ।
१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको सन् २०२६ को वार्षिक क्यालेन्डरमा पुरुषतर्फ विगतकै सरह प्रतियोगिताहरू समावेश छन् । पहिलेभन्दा नयाँ कार्यक्रमहरू समावेश गरिएको छैन ।
विशेषगरी पुरुषको सिनियर क्रिकेट टोलीलाई भने टेस्ट राष्ट्रसँग धेरैभन्दा धेरै खेलहरू गराइने किसिमले क्यालेन्डर तयार भएको छ । क्यानका सचिव पारस खड्काले टेस्ट राष्ट्रसँग नेपालमै खेल खेलाइने मुख्य लक्ष्य रहेको बताएका छन् ।
‘नेपाल टेस्ट राष्ट्रसँग खेल्छ वा खेल्दैन भन्ने धेरेको चासो छ । वर्षा सुरु हुनुभन्दा अगाडि कम्तीमा २ वटा टेस्ट राष्ट्रलाई नेपालमै बोलाएर खेल्नका लागि प्रयत्न गरेका छौं’ खड्काले भनेका छन् । उनका अनुसार वर्षायामको समयमा अवे सिरिजमा बढी ध्यान दिइएको छ ।
यही वर्ष फेब्रुअरीमा पुरुष टोलीले टी-२० विश्वकप खेल्दै छ । हाललाई विश्वकपअघि भने कुनै शृंखलाहरू तय गरिएका छैनन् । नेपालले महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएकाले संरचनागत हिसाबले हाल नेपालमै अन्य टोलीलाई बोलाएर शृंखला गर्ने कार्यक्रम नरहेको सचिव खड्काले बताए ।
नेपाली सिनियर टोलीले त्यसपछि मार्च महिनामा घरेलु मैदानमै लिग २ शृंखला खेल्दैछ । उक्त शृंखलाभन्दा अगाडि वा पछाडि टेस्ट राष्ट्रसँग ५० ओभरको द्विपक्षीय शृंखला राख्ने लक्ष्य भएको सचिव खड्काले बताएका छन् ।

गतवर्ष टी-२० विश्वकप छनोट खेल्ने भएकाले पनि विश्वकपलाई नै केन्द्रमा राखेर क्यालेन्डर तयार भएको थियो । यसपटक भने एकदिवसीय शृंखलालाई पनि प्राथमिकतामा राखिएको छ ।
त्यसपछि अप्रिल महिनामा नेपालको ‘ए’ टोलीले शृंखला खेल्ने उल्लेख छ । ए टिमको विकासमा पनि विभिन्न योजनाहरू राखेको क्यान सचिव खड्काले बताएका छन् ।
‘ए टिमलाई अझै धेरै संलग्न गराउने लक्ष्य छ । नेपाल ए को टोलीमा पनि लगानी गरेका छौं । घरेलु क्रिकेटमा गरेको लगानी व्यवस्थित गराउनको लागि अनि अन्तर्राष्ट्रिय टिमलाई बलियो बनाउनका लागि निरन्तर क्रिकेट गतिविधि राख्ने र वर्षभरि खेलाडीहरूलाई संलग्न गराउने लक्ष्य छ’ खड्काले भनेाक छन्, ‘सिनियर टिमसँग खेल्न विभिन्न टिमहरू नेपाल आउँदा त्यस सिरिजमा ए टिमका खेलाडीहरूले पनि मौका पाउनेछन् र एक्सपोजर बटुल्ने छन् । त्यसले सिनियर टिम निर्माणमा अझ स्पष्ट आधार बन्नेछ।’
मे महिनामा नेपालले बाहिर गएर लिग २ शृंखला खेल्ने छ । उक्त शृंखला सकिएपछि ३ टोलीबाहेक अर्को एक टेस्ट राष्ट्रसँग पनि टी-२०आई शृंखला खेल्ने हिसाबले प्रयत्न गरिरहेको बताइएको छ ।
जुनमा टेस्ट टिमसँग द्विपक्षीय शृंखला गर्ने लक्ष्य राखेको पनि सचिव खड्काले जानकारी दिएका छन् । क्यालेन्डरमा जुन १ देखि १५ सम्मलाई उक्त शृंखलाको समय छुट्याइएको छ ।
जुन जुलाई अगस्टमा वर्षाको समय भएको भएर अवे सिरिजमा फोकस गरिएको छ । अगस्टमा एसीसी प्रिमियर कप प्रस्तावित छ भने कुवेतसँग भएको सम्झौताअनुरुप द्विपक्षीय शृंखला खेलिनेछ ।
यस्तै गतवर्ष पहिलोपटक सहभागिता जनाएको अस्ट्रेलियन टप एन्ड टी-२० सिरिजमा नेपाल यसपटक पनि सहभागी हुने उल्लेख छ । ‘टप एन्डमा सहभागी भएपछि सबैतिरबाट सकारात्मक टिप्पणीहरू आएकाले त्यसलाई निरन्तरता दिएका छौं’ सचिव खड्काले भनेका छन् ।
यस्तै सेप्टेम्बरमा नेपालबाहिर गएर द्विपक्षीय शृंखला खेल्ने तय छ । यसअघि नेपालले वेस्ट इन्डिजसँग द्विपक्षीय शृंखला खेलेको थियो । ‘सेप्टेम्बरमा बाइल्याटरल सिरिजका लागि पहल गरिरहेका छौं । आधिकारिक भएपछि जानकारी गराउनेछौं’ सचिव खड्काले बताए ।
अक्टोबरमा नेपालमै लिग २ सिरिज हुनेछ । त्यसपछि एनपीएल हुनेछ भने डिसेम्बरमा अन्तर्राष्ट्रिय शृंखला हुने तय छ ।

घरेलु क्रिकेट : पीएम कप र जय ट्रफी निरन्तर, एनपीएलको मिति अगाडि सारियो
पीएम कपको जिल्ला र प्रदेशअन्तर्गतका प्रतियोगिता जनवरीदेखि फेब्रुअरी महिनासम्म चल्नेछ । राष्ट्रिय प्रतियोगिता भने मार्चदेखि अप्रिलसम्म हुनेछ ।
गत वर्षदेखि नाम परिवर्तन गरेर भएको जय ट्रफी दुई-दिवसीय क्रिकेट प्रतियोगिता यसपटक फेब्रुअरीमा हुनेछ । पीएम कप २०८२ मा शीर्ष चारमा रहने टोलीले सहभागिता जनाउने छन् ।
यस्तै चर्चित फ्रेन्चाइज क्रिकेट लिग एनपीएलको तेस्रो संस्करण यसपटक अक्टोबरमै हुनेछ । पहिलो दुई संस्करण नोभेम्बर-डिसेम्बरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हुने समय यसपटक भने अगाडि सारिएको हो ।
यसपटक अक्टोबरमा हुने लिग २ शृंखला लगत्तै एनपीएल हुनेछ । ‘दशैंको बेलामा लिग २ को शृंखला सकिन्छ । सम्भवत: त्यसलगत्तै एनपीएलको तेस्रो सिजन हामी गर्नेछौं’ सचिव खड्काले भनेका छन् ।
जुनमा नेशनल टी-२० च्याम्पियनसिप हुने तय छ । यो गतवर्ष पनि क्यालेन्डरमा समावेश भएको कार्यक्रम हो तर हुन भने सकेन ।

विद्यालय तहदेखि खेलाडी तयार गर्ने योजना
गत वर्ष आयोजना भएको नेशनल स्कूल च्याम्पियनसिप यस वर्ष पनि निरन्तरता दिइएको छ । क्यालेन्डर अनुसार फेब्रुअरी महिनादेखि जिल्लामा स्कूल च्याम्पियनसिप हुनेछ भने मार्चमा प्रदेश अनि मे महिनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनेछ ।
यहाँबाट खेलेका उत्कृष्ट खेलाडीलाई इस्ट जोन कपका लागि तयारी गर्ने लक्ष्य रहेको सचिव खड्काको भनाइ छ । ‘स्कूल लेभलदेखि नै खेलाडी तयार गरेर एसीसी यू-१६ इस्ट जोन कपका लागि राम्रो टिम निर्माण गर्ने लक्ष्य छ ।
यस्तै अप्रिलमा यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हुने क्यालेन्डरमा उल्लेख छ । त्यस्तै क्यान युथ कप पनि आयोजना हुने उल्लेख छ ।
प्रतिक्रिया 4