२० पुस, काभ्रेपलाञ्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा एमालेको उम्मेदवार सिफारिसमा विवाद देखिएको छ ।
जिल्ला कमिटी बैठकले पार्वत गुरुङको एकल उम्मेदवार सिफारिस गर्ने षडयन्त्र गरेको भन्दै अर्का नेता बालकृष्ण शिवाकोटीले असन्तुष्टि जनाएका छन् ।
उम्मेदवार सिफारिस विवादित बनेपछि दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवार बन्न इच्छुक अन्य नेताहरूको नाम पनि थपेर सिफारिस गरिने बताए ।
‘एमाले दोलखाले गुरुङलाई एकल उम्मेदवार बनाउने र अन्य इच्छा प्रकट गर्ने नेताहरूको पनि नाम लेखी पठाउने निर्णय भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उम्मेदवार बन्न इच्छुक नेताहरू बालकृष्ण शिवाकोटी, रचना खड्का र श्याम बस्नेतको नाम लेखेर पार्टी केन्द्रमा पठाउने निर्णय भएको छ ।’
अध्यक्ष श्रेष्ठका अनुसार पार्टीको नीति अनुसार सर्वसम्मत रूपमा गुरुङलाई सिफारिस गरिएको तथा आकांक्षा राख्नेहरूको पनि नाम पठाइने जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका पार्वत गुरुङ एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि उनी एमालेको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । २०७४ सालको निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ सञ्चारमन्त्री बनेका थिए ।
शिवाकोटीको असन्तुष्टि
एमाले जिल्ला कमिटीमा बहुमतका आधारमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएपछि दाबेदार शिवाकोटी असन्तुष्ट भएका छन् । उनले विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
शिवाकोटीले आफू २०७९ सालमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई ३१५ मतको अत्यन्तै न्यून अन्तरले पराजित भएको व्यक्ति भएको र जिल्ला कमिटी दोलखाको ११औं बैठकमा उक्त निर्वाचनमा पराजयको कारणलाई लिएर ‘कमजोर उम्मेदवार भएकाले पराजित भएको’ भन्ने लाञ्छना लगाएर योगदानको अवमूल्यन गरिएकोप्रति अत्यन्तै दुःखद र आपत्तिजनक विषय भएको बताए ।
‘महागठबन्धन पराजयको प्रमुख कारण हो भन्ने समीक्षा पार्टीले गर्दागर्दै पराजयलाई व्यक्ति विशेषको कमजोरीसँग मात्र जोडेर हेर्नु तथ्यपरक, न्यायोचित र संगठनात्मक मूल्य-मान्यताअनुसार नभएको मेरो स्पष्ट धारणा छ,’ सिवाकोटीले विज्ञप्तिमा भनेका छन् ।
एमाले दोलखाले उम्मेदवार सिफारिस गर्ने क्रममा पार्टीको स्थापित मापदण्ड र विधिको गम्भीर उल्लङ्घन गरेकोप्रति गहिरो आपत्ति रहेको उनको भनाइ छ ।
गुण्डागर्दी नभए चुनाव जित्न सकिन्न भनेर एक जनाको नाम मात्र दोलखा एमालेले सिफारिस गरेको शिवाकोटीको आरोप छ ।
नेता शिवाकोटी यसअघि २०७९ सालमा पनि निर्वाचन लडेका थिए । एमालेबाट उम्मेदवार बनेका शिवाकोटी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीसँग झिनो मतले पराजित भएका थिए ।
शिवाकोटीसँगै रचना खड्का, श्याम बस्नेत र डबल पाण्डे लगायतका उम्मेदवारको दाबी कायम रहे पनि एमाले दोलखाले गुरुङको मात्र नाम सिफारिस गरेको थियो ।
हेर्नुहोस् सिवाकोटीको विज्ञप्ति :

प्रतिक्रिया 4