+
+
Shares

पार्टीमा पेशागत संघ-संस्थाको प्रतिनिधित्व सुनिश्चित गराउन देउवाको ध्यानाकर्षण

नेपाली कांग्रेसको महाधिवेशन तथा पार्टी संरचनामा पेशागत संघ(संस्थाको प्रतिनिधित्व सुनिश्चित गराइदिन माग राख्दै ध्याकर्षण पत्र बुझाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको महाधिवेशनमा पेशागत संघ(संस्थाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण पत्र बुझाइएको छ।
  • पत्रमा संविधानअनुसार बौद्धिक वर्गको प्रतिनिधित्व, पार्टी संरचनामा पेशागत संघको प्रतिनिधित्व, र निर्वाचनमा पेशागत उम्मेदवारलाई प्राथमिकता माग गरिएको छ।
  • पेशागत संघलाई पार्टीको वैचारिक थिंक–ट्याङ्कको रूपमा संस्थागत गर्न र कम्तीमा केन्द्रीय कार्यसमितिको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न भनिएको छ।

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तथा पार्टी संरचनामा पेशागत संघ(संस्थाको प्रतिनिधित्व सुनिश्चित गराइदिन माग राख्दै ध्याकर्षण पत्र बुझाइएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एसोसिएसन, डीएलएका अध्यक्ष सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, सिडेनका अध्यक्ष रवि भूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, प्रजातन्त्रवादी चिकित्सक संघका कार्यवाहक अध्यक्ष डा विक्रान्त ढकाल, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले हस्ताक्षर गरिएको पत्र सभापति देउवालाई बुझाइएको हो । ध्यानाकर्षण पत्रमा ४ बुँदे माग पनि पेस गरिएको छ ।

यस्ता छन् मागहरू

१. संविधानको मर्मअनुसार बौद्धिक वर्गको प्रतिनिधित्व सुनिश्चित गरियोस्।
संविधानले राष्ट्रिय सभालाई बौद्धिक तथा अनुभवी वर्गको प्रतिनिधित्व गर्ने थलोका रूपमा परिकल्पना गरे तापनि व्यवहारमा सो मर्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। नेपाली काँग्रेसले लोकतन्त्रप्रति आस्थावान पेशागत संघ–संस्थाबाट राष्ट्रिय सभासहित राज्यका विभिन्न निकायमा प्रतिनिधित्व हुने स्पष्ट र विश्वसनीय सुनिश्चितता प्रदान गरोस्।
२. पार्टी संरचनामा पेशागत संघ–संस्थाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गरियोस्।
नेपाली काँग्रेसको महाधिवेशन, नीति निर्माण प्रक्रिया तथा संगठनात्मक संरचनामा पेशागत संघ–संस्थाको पूर्ण, सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरियोस्। यसका लागि पेशागत संघ–संस्थाका प्रतिनिधिहरूलाई मतदातामा मात्र सीमित नगरी उम्मेदवार बन्ने अधिकारसमेत खुला गरियोस्। साथै, कम्तीमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको कुल सदस्य संख्याको १० प्रतिशत प्रतिनिधित्व पेशागत संघ–संस्थाबाट अनिवार्य रूपमा सुनिश्चित गरियोस्।
३. प्रतिनिधि सभा निर्वाचनमा पेशागत पृष्ठभूमिका उम्मेदवारहरूलाई प्राथमिकता दिइयोस्।
प्रतिनिधि सभाको निर्वाचनमा पेशागत संघ–संस्थासँग आवद्ध, सक्षम, योग्य र अनुभवी व्यक्तिहरूलाई देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सार्ने स्पष्ट नीति अवलम्बन गरियोस्।
४. पेशागत संघ–संस्थालाई पार्टीको वैचारिक थिंक–ट्याङ्कका रूपमा संस्थागत गरियोस्।
नीति निर्माण, विकास रणनीति, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा राष्ट्रिय हितका विषयमा पेशागत संघ–संस्थालाई पार्टीको वैचारिक थिंक–ट्याङ्कका रूपमा उपयोग गर्दै संस्थागत भूमिका प्रदान गरियोस्।
हामी दृढ विश्वास गर्दछौं कि नेपाली काँग्रेसले आफ्नो गौरवशाली लोकतान्त्रिक विरासत, समावेशी सोच र ऐतिहासिक जिम्मेवारीअनुसार यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नेछ। पेशागत संघ–संस्थासँगको सशक्त र सम्मानजनक सहकार्यले पार्टीलाई अझ बलियो, आधुनिक र जनउत्तरदायी बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?