News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गर्दै आफूमाथि लागेको मुद्दा प्रतिशोध भएको बताएका छन्।
- उनले भने, 'मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुः भयो तपाईंहरूलाई नपुरी सुखै छैन।'
२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताप्रति कटाक्ष गरेका छन् । पार्टीको समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको मुद्दा मामिलालाई प्रतिशोध भन्दै कटाक्ष गरेका हुन् ।
उनले शीर्ष नेताप्रति रिस पोख्दै भने, ‘मलाई पुर्न साढे ६ फिटको खाल्डो खने हुन्छ भनेकै हो तर यति ठूलो खाल्डो खन्नुः भयो तपाईंहरूलाई नपुरी सुखै छैन ।’
उनले पुराना दलहरू एक जुट भएर रास्वपामाथि आक्रमण जारी राखेको पनि बताए । निर्वाचन हुन नदिन कसैले षडयन्त्र नगर्न पनि लामिछानेले आग्रह गरे ।
त्यस्तै यसअघि अन्य दललाई मतदान गर्दै आएकाहरूलाई पनि उनले यसपटक आफूले माया गरेको दललाई प्रतिपक्षमा बस्न दिनेगरी रास्वपालाई समर्थन गर्न आग्रह गरे ।
‘म तपाईंहरू सबैलाई भन्छु- पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस् । पुराना दलका नेताले पनि हाम्रो दलको बारेमा चिन्ता नगर्नुस् पर्दैन । संसद्लाई तपाईंहरूले बजेट भाषणबाहेक हेर्न नमिल्ने बनाउनु भएको थियो,’ उनले भने, ‘युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने बनाउने रास्वपा हो । गिरेको मनोबल र अर्थतन्त्रलाई हामी उकास्छौँ ।’
उनले आफ्नो दलका नेता राजनीतिक रुपमा परिपक्क हुँदै गरेको पनि सुनाए । त्यस्तै अन्य दलका नेताले गरिरहेको राजनीतिमा भने उनले प्रश्न उठाए ।
‘त्यो राजनीति पनि के राजनीति ? देशलाई हरिकंगाल बनाएर छोडेर सम्भावना नै सम्भावना भएको देशलाई संभावना नभएको बनाउनु भयो । हामीसँग मुलुकलाई गन्तव्यमा जाने वातावरण बनाउने क्षमता छ,’ उनले भने, ‘अब चुनावबाटै निकास दिने हो । तपाईंले माया गरेको दलबाट निकास नआएपछि पनि तयही दलाई माया गर्नुहुन्छ भने त्यसलाई एकपटक प्रतिपक्षमा बस्न दिनुहोस् ।’
प्रतिक्रिया 4