+
+
Shares

फेक करेन्सीका योजनाकार भोजपुरी गायक, नेपाल-भारत क्रस बोर्डर कारखाना

बौद्धमा साढे १४ हजार मूल्यको जुत्ता किनबेचबाट सुरु भएको एउटा अनुसन्धान अहिले ‘फेक करेन्सी’ र्‍याकेटसम्म पुगेको छ । प्रहरीको नेपाल-भारत अपरेसनमा ‘फेक करेन्सी र्‍याकेट’का ८ सदस्य पक्राउ परेका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष २२ गते २२:०५
आँखामा पट्टि नलगाएका मुख्य व्यक्ति हुन् भोजपुरी गायक रवि श्रीवास्तव ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बौद्धस्थित लेलिन ब्रान्ड स्टोरमा नक्कली नोट दिएर जुत्ता किन्ने दावा नोर्बु शेर्पा पक्राउ परेका छन्।
  • नेपाल र भारतमा संयुक्त अपरेसनमा फेक करेन्सी र्‍याकेटका आठ सदस्य पक्राउ परेका छन्।
  • भारतको बिहारमा नक्कली नोट छाप्ने मेसिन सहित भोजपुरी गायक रविकुमार श्रीवास्तव पक्राउ परेका छन्।

२२ पुस, काठमाडौं । १२ पुसमा बौद्धस्थित ‘लेलिन ब्रान्ड’ को फेन्सी स्टोरमा एक व्यक्ति जुत्ता किन्न गए । १४ हजार ५०० मूल्यका ब्रान्डेड जुत्ता किनेका ती व्यक्तिले हजार दरका १५ थान नोट तिरे । अनि, ५०० को एउटा नोट फिर्ता लिएर त्यहाँबाट बाहिरिए ।

तर, यो घटना दिनहुँ हुने जुत्ता किनबेचको जस्तो मात्रै रहेन । त्यो साढे १४ हजार मूल्यको जुत्ता किनबेचबाट सुरु भएको एउटा अनुसन्धान अहिले ‘फेक करेन्सी’ र्‍याकेटसम्म पुगेको छ । प्रहरीको नेपाल-भारत अपरेसनमा ‘फेक करेन्सी र्‍याकेट’का ८ जना सदस्य पक्राउ परेका छन् ।

जुत्ता बेचेको केही समयपछि रकम नियाल्दा सञ्चालकलाई शंका लाग्यो । हेर्दा सक्कली देखिने ती नोट नक्कली जस्तो लागेपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीले रकम नियाल्यो र नक्कली भएको पुष्टि गर्‍यो । तर नक्कली नोट लिएर जुत्ता किन्न आउने व्यक्तिबारे केही पत्तो थिएन ।

सीसी क्यामेरा फुटेजमा नक्कली नोट बोकर जुत्ता किन्न गएका व्यक्ति मोटरसाइकल चढेर फर्किएको देखियो । फुटेजमा देखिएको मोटरसाइकल नम्बरको आधारमा प्रहरीले ती व्यक्ति दावा नोर्बु शेर्पा भएको पहिचान गर्‍यो ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-२ घर भई काठमाडौं साँखु बस्ने ३२ वर्षीय शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गर्‍यो । उनै शेर्पाबाट सुरु भएको अनुसन्धानले अहिलेसम्म ८ जना पक्राउ परेको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दावामाथि अनुसन्धान गर्दा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको थियो ।

नक्कली नोट दिएर साढे १४ हजारको जुत्ता किन्ने दावा नोर्बु शेर्पा।

पक्राउ पर्नेमा बाह्रबीसे-२ नै घर भएका ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका-३ घर भई साँखु बस्ने ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० घर भएकी ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौं शंखरापुर नगरपालिका-३ का सुकबहादुर स्याङ्बो छन् ।

उनीहरूबाट प्रहरीले ९३ थान नक्कली हजार दरका नोट पनि बरामद गरेको थियो । नक्कली नोटले रिचार्ज किनेको समेत अनुसन्धानबाट खुल्यो । तर यी नोट कसले कहाँ छापेर बजारमा पुर्‍यायो भन्ने खुल्न बाँकी नै थियो ।

पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसपछि सोमबार मात्रै यसका योजनाकारसहित दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

भारतमा अपरेसन

काठमाडौंबाट ६ जना पक्राउ परे पनि अन्य व्यक्ति भने पक्राउ पर्न बाँकी नै थियो । सोही क्रममा बारा कलैया उपमहानरपालिका-२ कबलपुरका २८ वर्षीय गौरीशंकर यादव पक्राउ परे । यादवलाई पक्राउ गरेर अनुसन्धान गर्दा खुल्यो- यसका योजनाकार भारतमा छन् ।

भारतमा बसेर नक्कली नोट छाप्दै नेपाली बजारमा पुर्‍याएको देखिएपछि भारतीय प्रहरीको समन्यमा अपरेसन गरेर प्रहरीले अर्का व्यक्तिलाई पक्राउ गर्‍यो ।

जसअनुसार आइतबार बाराको फेटा गाउँपालिका-३ घर भएका २८ वर्षीय रविकुमार श्रीवास्तव समातिए । उनलाई भारतीय प्रहरीको सहयोगमा बिहार मोतिहारी लाला टोल पनौनामा अपरेसन चलाएर पक्राउ गरिएको हो ।

मोतिहारीको पतौरा गाउँमा रहेको एउटा घरलाई नक्कली मुद्रा छाप्ने कारखानामा परिणत गरिएको थियो ।

बाहिरबाट हेर्दा साधारण जस्तै देखिने त्यो घरमा भित्र भने पैसा छाप्ने मेसिन नै राखेर नेपाली र भारतीय नक्कली नोट छपाइ हुने गरेको भारतीय प्रहरीले बताएको छ ।

निश्चित टार्गेट दिएर नक्कली नोट छाप्ने काम हुने गरेको भारतीय सञ्चार माध्यमले समेत उल्लेख गरेका छन् ।

योजनाकार भोजपुरी गायक

भारतबाट पक्राउ परेर काठमाडौं ल्याइएका रवि भोजपुरी गायक रहेको पाइएको छ । नेपालमै रहेर नक्कली नोट छाप्दा असुरक्षित हुने भएपछि भारतमा डेरा नै लिएर यो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।

रवि श्रीवास्तव अफिसियल नाममा उनले युट्युब च्यानलसमेत चलाएका छन् । जसमा उनले २०० भन्दा बढी भिडियो पोस्ट गरेका छन् । आफैंले गायका भोजपुरी गीतहरू उनले आफ्नो युट्युब च्यानलमा पोस्ट गर्ने गरेको देखिन्छ । उनका गीतमा २ मिलियनसम्म भ्युज देखिन्छ । रवि श्रीवास्तव भोजपुरी गीत क्षेत्रमा चर्चित नाम रहेको यसले पुष्टि गर्छ ।

उनै चर्चित भोजपुरी गायकको बिहारमा रहेको कोठामा अपरेसन गरी प्रहरीले नक्कली नोट छाप्ने मेसिनसमेत बरामद गरेको छ ।

उनीबाट भारतीय नम्बर प्लेट बीआर ०५ एएफ २५११ नम्बरको बुलेट मोटरसाइकल, ५ वटा गड्डीमा भारु ५०० दरका ३१७ थान नक्कली नोट, एलजीको मोनिटर, प्रिन्टर, सीपीयू, लेजर टोनर, नक्कली पेस्तोल, लालीगुँरासको वाटरमार्क छापिएको १ हजार दरको १८० थान कागज र सादा कागज ७५ गरी जम्मा २५५ थान कागज बरामद भएको छ ।

३ महिनादेखि छपाइ

अहिले प्रहरी हिरासतमा रहेका गायक श्रीवास्तवले प्रारम्भिक सोधपुछका क्रममा पछिल्लो तीन महिनादेखि नक्कली नोट छाप्न सुरु गरेको बयान दिएका छन् । श्रीवास्तवको भनाइलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृत भन्छन्, ‘युट्युब हेरेर रकम छाप्न सिकेको हुँ । अहिलेसम्म नक्कली नोट बजारमा पठाएर आफूले २ लाख ७० हजार कमाएको छु ।’

गुगलबाट नेपाली र भारु नोट सर्च गर्ने र त्यसैको कपी गरेर छाप्ने गरेको उनले बताएका छन् । रकम छाप्नका लागि ३५ हजार भारुमा प्रिन्टर खरिद गरेको उनको भनाइ छ ।

बिहारमा बसेर नक्कली नोट छाप्ने र गौरी शंकर यादवमार्फत ती नोटहरू नेपाली बजारमा पठाउने गरेको देखिएको प्रहरीले बताएको छ । त्यसवापत गौरी शंकरले उनलाई २ लाख ७० हजार बुझाइसकेका छन् । बाँकी रकम भने विभिन्न व्यक्तिलाई कमिसनस्वरूप बुझेको बताइएको छ ।

श्रीवास्तले प्रहरीलाई बताएअनुसार उनले अहिलेसम्म ९ लाख नेपाली रुपैयाँ छापेको बताएका छन् ।

जेलबाट भागेर फेक करेन्सीको कारोबार

कारागारबाट भागेर नक्कली नोटको कारोबारमा संलग्न प्रकाश गुरुङ।

फेक करेन्सी प्रकरणमा पक्राउ परेका ८ जनामध्ये सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-३ घर भई साँखु नै बस्ने ३२ वर्षीय प्रकाश गुरुङ कारागारबाट भागेका व्यक्ति हुन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा उनी ललितपुरस्थित नख्खु कारागारमा थिए । २४ भदौमा उनी नख्खु कारागाराबाट भागेका हुन् । त्यसपछि अहिले फेक करेन्सी कारोबारमा जोडिएको खुलेको एसपी भट्टराई बताउँछन् ।

लागुऔषध मुद्दामा उनलाई ५ वर्ष कैद र ११ हजार रुपैयाँ जरिबानाको फैसला अदालतले सुनाएको थियो । गत ३ असारमा मात्रै उनी कारागार चलान भएका थिए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?