+
+
Shares

यूएईका श्रम काउन्सेलर पौडेललाई फिर्ता बोलाउन श्रम मन्त्रालयले नमानेपछि…

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ पुष २३ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईका लागि श्रम काउन्सेलर दिपेन्द्र पौडेललाई परराष्ट्र मन्त्रालयले छानबिनपछि ६/७ महिना पछि नेपाल फिर्ता बोलाएको छ।
  • पौडेलले पीडितको उजुरी नफर्स्याैट गरी काम सम्पन्न देखाएको पाइएको र उनले गल्ती स्वीकार गरेका छन्।
  • परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेर सरुवा गरेको र दूतावासले तीन सदस्यीय छानबिन समितिबाट दोषी देखाएको जनाएको छ।

२३ पुस, काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई) का लागि श्रम काउन्सेलर दिपेन्द्र पौडेललाई फिर्ता बोलाउन श्रम मन्त्रालयले लामो समयदेखि आनाकानी गर्दै आएको छ ।

उनका विरुद्धमा गुनासाहरू आएपछि परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई पत्र लेखेर नै फिर्ता बोलाउन भनेको थियो । तर, श्रम मन्त्रालयले उनलाई फिर्ता बोलाउन आनाकानी गरेको हो ।

पीडित व्यक्तिहरूको उजुरी फर्स्याैट नगरी काम सम्पन्न गरेको देखाएपछि परराष्ट्रले उनको सरुवा गरेको छ । पीडितले दिएका उजुरीमा कार्य पूरा नगरी सम्पन्न गरेको देखाएपछि उनीमाथि छानबिन गरिएको थियो । छानबिनपछि परराष्ट्रले श्रम मन्त्रालयलाई पत्राचार गरेको थियो ।

श्रम मन्त्रालय स्रोतका अनुसार ६/७ महिना अगाडि नै परराष्ट्रले पत्र पठाएको थियो । तर, श्रमले बेवास्ता गर्दै आएको छ। नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाउन ताकेता गर्दा समेत बेवास्ता गरेको पाइएको हो।

‘६/७ महिना अगाडि नै उहाँको विषयमा परराष्ट्रले पत्र लेखेको थियो । तत्कालीन सचिवज्यूले कुनै प्रवाह गर्नुभएन । परराष्ट्रले आन्तरिक रूपमा छानबिन गरेर उनलाई फिर्ता बोलाउनुपर्ने देखिएपछि सरुवा गरेर नेपाल बोलाएको हो,’ श्रम मन्त्रालयका ती अधिकारीले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरुवा सम्बन्धी निर्देशिका अनुसार उनको सरुवा गरिएको बताए । परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उनले कामै नगरी काम गरेको सूचीमा राखेको पत्ता लागेको थियो । पीडितले दिएको उजुरीलाई कामै नगरी सम्पन्न भएको सूचीमा राखेको पाइएपछि विभागले छानबिन गरेको थियो ।

उनलाई कारबाही स्वरूप गत शनिबार नै सरुवा गरेर श्रम मन्त्रालय नै फिर्ता बोलाइएको हो । पौडेलले दूतावासमा आफ्नो जिम्मेवारी लिने क्रममा आफूले गर्नुपर्ने काम नै नगरी उजुरीका ‘पेन्डिङ’ मा रहेका अनलाइन फाइल सिस्टमबाटै सम्पन्न सूचीमा राखेको पाइएको थियो ।

श्रमिकले शव नेपाल झिकाउने, रोजगारदाताले तलब नदिएको, जेल परेका श्रमिकलाई जेलमुक्त गर्न पीडितका परिवारले हालेको उजुरी, विदेशमा हराएका व्यक्तिको खोजीका लागि परेको निवेदन, ब्लड मनी तथा अन्य संवेदनशील मुद्दासँग सम्बन्धित उजुरी कन्सुलर मार्फत दूतावासमा पर्ने गरेका छन् । तर, पौडेलले ती उजुरीमा दूतावासको सिस्टमबाटै कार्य सम्पन्न भएको सूचीमा राखेको पाइएपछि छानबिन भएको थियो । छानबिन क्रममा पौडेल दोषी देखिएपछि थप अनुसन्धानका लागि मन्त्रालयमा विवरण पठाइएको थियो ।

पीडितले विभागमा आफ्नो उजुरी अघि नबढेको भन्दै गुनासो गरेका थिए । तर, विभागको सिस्टममा हेर्दा उनीहरूको उजुरी फर्स्याैट भइसकेको देखाएको थियो । यो विषयमा परराष्ट्रले उनीसँग स्पष्टीकरण समेत सोधेको थियो । स्पष्टीकरणका क्रममा उनले गल्ती भएको स्वीकार गरेपछि निर्देशिका अनुसार सरुवा गरेर नेपाल फिर्ता बोलाइएको हो ।

दूतावासमा हुँदा श्रमिकले गर्ने फोन नउठाउने, उनीहरूका समस्यामा गम्भीर नहुने, समयमा काम नगरिदिने गरेका थिए । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार श्रमिकबाट पौडेलका विषयमा धेरै गुनासो आउने गरेको थियो ।

जेलमा रहेका श्रमिकहरूका विषयमा समेत गम्भीर नहुने, नेपाल सरकारले दिएको कार्यादेश अनुसार काम गर्ने नगरेको राजदूत क्षेत्रीको भनाइ छ ।

परराष्ट्रले यो विषयमा छानबिन गर्न भनेपछि दूतावासले उनीबारे छानबिन गरेको थियो । दूतावासले गठन गरेको तीन सदस्यीय छानबिन समितिबाट उनको गल्ती देखिएको र स्वीकार गरेको राजदूत क्षेत्रीले बताए ।

दूतावासले छानबिन गरेपछि परराष्ट्रलाई पत्राचार गरेको थियो । सोही अनुसार परराष्ट्रले उनलाई सरुवा गरेर नेपाल फिर्ता बोलाएको हो ।

परराष्ट्रले उनलाई स्पष्टीकरण सोध्न भनेको थियो । सोही अनुसार स्पष्टीकरण सोध्ने क्रममा उनले ‘गल्ती गरेँ’ भनेर स्वीकार गरेका थिए ।

उनी दूतावासलाई जानकारी नै नदिइकन श्रम सहचारी पंकज लाभ कर्णलाई लगेर ओमान गएका थिए । त्यो विषयमा समेत उनले गल्ती भएको र अबदेखि त्यसरी नजाने बताएका थिए ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?