२३ पुस, काठमाडौं । भक्तपुरको थिमीमा मंगलबार एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे । उक्त घटनामा प्रयोग भएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टु-टु) हतियार रहेको खुलेको छ ।
आत्महत्यामा प्रयोग भएको हतियार अत्याधुनिक किसिमको रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार बरामद बन्दुकमा जिएस-५ जर्मन लेखिएको छ । यो बन्दुक सूर्यकुमार नेम्वाङले लाइसेन्स लिएर राखेको पाइएको छ । नेम्वाङ अवकाशप्राप्त ब्रिटिस आर्मी हुन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट उनले लाइसेन्स लिएर यो बन्दुक राखेको पाइएको हो । नेम्वाङ बेलायत-काठमाडौं जाने आउने गर्थे । भक्तपुरमा भने उनी मध्यपुर थिमी नगरपालिका-६ राई टोलस्थित ससुराली घरमा बस्थे । यो हतियार ससुराली घरमै राखिएको थियो ।
र्याप गरेर दराजमा राखिएको हतियार निकालेर नेम्वाङकै सालो ४० वर्षीय सनिप चाम्लिङ राईले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।
आत्महत्या गरेका राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले प्रहरीसमक्ष बताएका छन् ।
भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरे । मंगलबार दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौंथो तलामा राईले कोठाको चुकुल लगाएर दराजमा राखेको बन्दुक निकालेर आफैंलाई गोली हानेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुको भनाइ छ ।
एक अनुसन्धान अधिकृतका अनुसार उनले सुरुमा खुट्टाले ट्रिगर दाबेर दुई राउन्ड गोली पेटमा हानेका थिए । त्यसपछि तेस्रो राउन्ड गोली कन्चटमा हानेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।
भित्र ठूलो आवाज आएपछि झ्यालको सिसा फोडेर आफन्त कोठामा छिरेका थिए । राई ढलेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त ठिमीका डीएसपी जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी, अपराध अनुसन्धान कार्यालयको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका सदस्यले मृतक राईले मानसिक समस्याको औषधि सेवन गर्ने गरेको बताएका छन् ।
नामसारी गरेर लिएका थिए नेम्वाङले हतियार
बरामद हतियार लिन नेम्वाङले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट लाइसेन्स लिएको पाइएको छ । बरामद हतियारमा भएको नम्बर र लाइसेन्समा उल्लेख भएको नम्बरसमेत म्याच भएको छ । अन्य जाँचबाट उक्त हतियार पोइन्ट टु-टु रहेको पाइएको प्रहरीको भनाइ छ ।
नेम्वाङले उक्त हतियार ललितपुरकै गीता भण्डारी थापाबाट नामसारी गरेर लिएको पाइएको छ ।
नेम्वाङले २०८२ बाट २०८४ सम्मको लाइसेन्स लिएको देखिएको छ । अहिलेसम्मको अनुसन्धानले नेम्वाङले सबै कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिएको प्रहरीले बताएको छ ।
बरामद हतियार हेर्दा अत्याधुनिक किसिमको देखिए पनि सेमी अटोमेटिक (अर्ध स्वचालित) रहेको प्रहरीको भनाइ छ ।
हतियार राख्नेका लागि हातहतियार तथा खरखजाना ऐन-२०१९ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ । त्यसपछि जिल्ला सुरक्षा समितिबाट जाँच गराएपछि उपयुक्त देखिएको खण्डमा हतियार राख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले हतियारको लाइसेन्स दिन्छन् । त्यसपछि हतियार किन्ने प्रक्रियाका लागि गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ ।
लाइसेन्स लिएपछि दुई तरिकाबाट हतियार राख्ने गरिन्छ । एउटा नेपालमै दर्ता भएको हतियार नामसारी गरेर पनि किन्न सक्ने प्रावधान छ भने अर्को बाहिरी मुलुकबाट पनि किनेर लयाउन सकिन्छ ।
अहिले बरामद हतियार भने गीता भण्डारी थापाबाट नामसारी गरेर नेम्वाङले खरिद गरेको पाइएको हो ।
प्रसाईं घटनाबाट नसिकिएको पाठ
पहुँचको भरमा हतियारको लाइसेन्स लिएर बन्दुक राख्ने प्रचलन रहेको पटकपटकका घटनाले देखाएका छन् । गुण्डागर्दीमा लागेका व्यक्तिदेखि राजनीतिक पहुँचका व्यक्तिले आवश्यकताभन्दा पनि रवाफ देखाउने प्रयोजनका लागि हतियार राख्ने प्रवृत्ति देखिन्छ ।
सुरक्षा थ्रेट विश्लेषण गरेर हतियार राख्ने दिने प्रचलनभन्दा पनि पहुँचका भरमा हतियारको लाइसेन्स लिँदा यस्ता दुर्घटना हुने गरेका छन् ।
यसअघि दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत जस्तो संवेदनशील ठाउँमा अर्ध स्वचालित हतियार लिएर प्रवेश गरेका थिए । ५ चैत २०८० मा सर्वोच्चको गेटबाट प्रसाईंका बडिगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए । उनीहरूबाट अर्ध स्वचालित हतियार र १०० राउन्ड गोली बरामद भएको थियो ।
त्यसपछि गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा लाइसेन्स वितरणमा कडाइ गर्नेदेखि हतियारको अभिलेख पनि राख्नुपर्ने औंल्याइएको थियो ।
कति हतियार लाइसेन्स लिएर राखिएका छन् भन्ने एकीकृत डाटासमेत गृहमा थिएन । लाइसेन्सप्राप्त हतियारको डाटा खोज्नसमेत ७७ जिल्लामा सर्कुलर गर्नेपर्ने अवस्था थियो ।
त्यसलाई सफ्टवेयर बनाएर एकीकृत डाटा राख्नुपर्ने भनिएको थियो । तर यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।
त्यसैगरी हातहतियार तथा खरखजाना ऐन, २०१९ हातहतियार तथा खरखजाना नियमावली, २०२८ र मलुकी फौजदारी अपराध संहिता, २०७४ मा पर्याप्त विषय नसमेटिएको भन्दै कानुनमा सुधार गर्नुपर्ने सुझाव समितिले दिएको छ । तर यसमा पनि कुनै सुधार भएको छैन ।
हतियारको अभिलेख व्यवस्थापन, इजाजत दिने बेला गरिने अध्ययन, हतियार लिइसकेपछिको नियमन र नवीकरणका बेला जाँच गर्नुपर्ने, हतियार लिइसकेपछि त्यसको दुरुपयोग भए/नभएको नियमन गर्नुपर्ने भए पनि त्यसमा गृहले कुनै चासो देखाएको देखिँदैन ।
नियमन नहुँदा भक्तपुरकै जस्तो दुर्घटना अन्य ठाउँहरूमा हुनसक्ने जोखिम बढ्ने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया 4