+
+
Shares
अबिचुअरी :

खिमबहादुर गन्धर्व: जसले सारङ्गी बजाएर महेन्द्रदेखि माओसम्मलाई मन्त्रमुग्ध पारे

च्याट्टै छिन्यो सारङ्गीको तार

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष २४ गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाटुलेचौरका खिमबहादुर गन्धर्वले २०१३ सालमा चीनको बेइजिङमा सांस्कृतिक कार्यक्रममा सारङ्गी बजाएर नेपाली मौलिक संस्कृति प्रस्तुत गरे।
  • राजा महेन्द्रको राज्याभिषेकमा सारङ्गी बजाउन परीक्षा दिएर खिमबहादुरलाई सांस्कृतिक टोलीसहित चीन भ्रमणको अवसर प्राप्त भयो।
  • ९१ वर्षका खिमबहादुरलाई प्यारालाइसिस र दमले थलिएको अवस्थामा बुधबार साँझ निधन भयो र उनी सारङ्गी संस्कृतिका ज्ञाता थिए।

२४ पुस, पोखरा । चीनको बेइजिङमा भव्य सांस्कृतिक कार्यक्रम थियो । पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्वले सारङ्गी रेटेर रैथाने भाका हाले । अर्का ठकुरी थरका उनका साथीले मादल ठोके र माया गुरुङसेनी छमछम नाचिन् । यो २०१३ सालको कुरा हो । जहाँ चिनियाँ र नेपाली मौलिक संस्कृति देखाइएको थियो, बाजाहरू बजाइएको थियो ।

नेपालको सांस्कृतिक टोलीसहितको भ्रमणको नेतृत्व गरेका थिए, राजा महेन्द्रको निकटस्थ जनकवि केशरी धर्मराज थापाले । बेइजिङको त्यो भव्य सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षक व्यक्ति थिए, चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष माओ त्से तुङ ।

खिमबहादुरले आफैंले बनाएको सारङ्गी रेटेर विवाह, ब्रतबन्धमा गाइने रैथाने भाका हाल्दा माओ माओले हँसिलो अनुहार पारे । नेपालको प्रस्तुति सकिनेबित्तिकै माओले मुस्कुराउँदै खिमसँग हात मिलाएर धाप मारे ।

‘मैले हाम्रै गामठाममा बिहे, ब्रतबन्धमा गाइने गीतसँगै राष्ट्रिय गीत पनि सारङ्गी बजाउँदै गाएँ । मादलको तालमा नाच पनि थियो । यो देखेपछि माओले हाँस्दै आएर हात मिलाएर के–के भने, मैले कसरी बुझ्नु, कहिल्यै नटेकेको देश, नदेखेका मुन्छे,’ २०७४ सालको मध्ये भदौमा खिमले हामीसँग ‘खुइलिन बाँकी ऊबेलाको स्मृति सम्झिएका थिए, ‘त्यो दिन संसारै जितेजस्तो भयो ।’

खास उनी तत्कालीन राजा महेन्द्रको राज्याभिषेकमा परीक्षा दिएर सारङ्गी बजाउन पुगेपछि नै चाइना जाने अवसरको ढोका खुलेको थियो । धर्मराजको अगुवाइमा ५ जना कालाकारको समूह चाइना पुगेर विभिन्न ठाउँमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरेका थिए । उनीसँगै बिर्खबहादुर गन्धर्व पनि थिए ।

चीनबाट फर्किएपछि धर्मराज थापाले राजा महेन्द्रलाई खिमकोसमेत प्रशंसा गरेर कार्यक्रम सफल भएको सुनाएका थिए । चीनमा सांस्कृतिक कार्यक्रम गरेर फर्किएपछि नै उनले नेपालकै प्रतिनिधित्व गरेर भारत हुँदै बर्मासम्म सारङ्गी बजाउँदै पुगे । सारङ्गीले नै खिमबहादुरलाई चीनदेखि बर्मासम्म, झुपडीदेखि दरबारसम्म पुगे ।

प्रज्ञा प्रतिष्ठानदेखि पोखराको संगीत प्रशिक्षण केन्द्रसम्म सारङ्गी गुरु बने । राजा महेन्द्रले चितवनमा बस्ती बसाउन जग्गा दिँदा उनी पनि त्यतै लागे तर परिस्थितिले फेरि बाटुलेचौरमै फर्कायो । खिमबहादुरकै सहपाठी तथा जेठान झलकमानका गीत रेडियो नेपालबाट चम्किए । उनी भने जहाँ–जहाँ पुगे पनि बाटुलेचौरमै फर्किए र नयाँ पुस्तालाई सारङ्गीका ज्ञानहरू सिकाए ।

उनका केही गीत रेडियो नेपालमा रेकर्डसमेत भएका थिए । तर, अहिले ती चक्काहरू छैनन् । खिमबहादुरसँग कखरा सिकेका वरिष्ठ गायक पूर्ण नेपाली भन्छन्, ‘सारङ्गी लिएर चीनसम्म पुग्ने सम्भवत उहाँ पहिलो गन्धर्व हो ।’

 उनले जवानीमा गाउँदै हिँडेको गीत छ–

च्याट्टै छिन्यो टेलिफोन तार

पाइन मैले मयाको खबर

दरबारदेखि प्रज्ञा प्रतिष्ठानसम्म पुग्दा बल्ल टेलिफोन देखेका खिमबहादुरले टेलिफोनकै कारण बातचित गर्न नपाएका जोडीसँगै गाउँले जीवनको कथा यो गीतमा भनेका थिए । देशविदेशमा सारङ्गीको ओझ बढाएका, बाटुलेचौरकै सारङ्गीको धुनमै रमाएका खिमबहादुरको अब भने शरीरबाटै च्याट्टै प्राण छिनिएको छ ।

प्यारालाइसिस, दमलगायतको समस्याले गाँजेपछि थलिएका खिमबहादुर ९१ वर्षको उमेरमा बुधबार साँझ यो धर्तीबाट अस्ताएका छन् । झण्डै शदाब्दीनजिक पुगेर इहलीला त्यागेका खिमबहादुरलाई भने उनकै शब्दहरू र सारङ्गीका धुनहरू पछ्याएका बाटुलेचौरका लक्ष्य ब्याण्डसँगै धेरैले भनिरहेका छन्, ‘च्याट्टै छिन्यो सारङ्गी तार । खिम गन्धर्वले छाडेसी संसार ।’

पोखरा–१६ बाटुलेचौरमा तल काली खोला सुसाइरह्यो, माथि खिमबहादुरको जीवन । राजा महेन्द्रदेखि माओसम्म भेटे पनि उनको जीवनले भने ठूलो उन्नति गर्न सकेन । जिन्दगीको जोडघटाउ गर्दै कहिले चितवन पुगेर सुकुम्बासी बने त कहिले जीवन धान्न पोखरा विन्ध्यवासिनी मन्दिर संगीत प्रशिक्षण केन्द्रमा सारङ्गी गुरु बनेर औंला खियाइरहे ।

‘खिमबहादुर पुरानो पुस्ताको गन्धर्व ज्ञान र संस्कृतिको ज्ञाता हुनुहुन्थ्यो । उहाँ स्वअध्ययनबाटै लेखपढ गर्न सक्नुहुन्थ्यो र अरुलाई पनि पढाउनुहुन्थ्यो । म नै सिलट र खरीले लेखेर उहाँबाट कखरा सिकें, ‘पूर्णबहादुरले भने, ‘उहाँसँगै गन्धर्व समुदायको एउटा इतिहास ढलेको छ ।’

जसका औंलाहरूले गन्धर्व समुदायकै संस्कृति, सभ्यताअनुसार सारङ्गीबाट माल, मंगल धुन निकाले । पिंगल र अर्बाजोको शास्त्रीय संगीतको सुरु निकाले । उनी गन्धर्व समुदाको मंगल–पिंगलको ज्ञाता नै थिए । तर, गरिबी  अभावहरूले उनको गीत, संगीतलाई थिचिरह्यो । उनका धेरै गीत रेकर्ड नै हुन पाएनन् । अन्तत: प्यारालाइसिससँग लड्दै अन्तत मृत्युसँग हार माने ।

महेन्द्रको राज्याभिषेकमा हिँडेर काठमाडौं

वि.सं. २०११ चैत १ नेपालको राजा घोषणा भएका महेन्द्रले २०१३ साल वैशाख २१ गतेमात्र राज्याभिषेक गरेका थिए । महेन्द्रको राज्याभिषेकमा बाटुलेचौरका खिमबहादुर सारङ्गी बजाउन नारायणहिटी दरबार पुगेका थिए । त्यो पनि परीक्षा दिएर, ५ दिन हिँडेर ।

उनी काठमाडौं जाँदाको किस्सा पनि रोचक छ । पोखरा मोहोरिया टोलमा बडाहाकिम धनशमशेरको सेतो बरबार थियो । सारङ्गी बजाउँदै हिँड्ने खिमबहादुरलाई पनि खबर भयो, ‘बडाहाकिमले बोलाइबक्सेको छ ।’

बडाहाकिमले किन बोलाए होलान्, उनी डर र अन्योलतासहित सेतो दरबारमा पुगे । जुन दरबार पछि कवि भूपी शेरचनका बाबुले किनेका थिए र अहिले भूपीकै परिवार बस्छन् । धनशमशेरको दरबार पुग्दा अरु पनि खिमबहादुरले देखे, त्यहाँ त अरु ४०/५० जना गन्धर्वहरू सारङ्गीसहित जम्मा भएका थिए ।

‘दरबारैभरि ४०/५० जना गन्धर्व छन्, लौन के रहेछ भन्ने भयो । कोही लेखनाथतिरबाट पनि आका थिए,’ खिमले मसँगको कुराकानीमा भनेका थिए, ‘ल अब आफ्नो गीतसहित सारङ्गी बजाउ पो भने ।’ उनीहरूले पालैपालो सारङ्गी बजाए । अन्तिममा निर्णय सुनाइयो, खिमबहादुर र बिर्खबहादुर गन्धर्व छानिएका छन् ।

‘केका लागि छानियो भनेको त राजा महेन्द्रको राज्याभिषेकमा पो सारङ्गी बजाउन रहेछ,’ खिमबहादुरले मुस्कानसहित त्यो क्षणलाई जोडेका थिए, ‘हामी हिँडेर काठमाडौं पुग्यौं र राजाको अगाडि सारङ्गी बजाउँदा दंग थियौं, राजा पनि मन्त्रमुग्ध थिए ।’

उनी पास भएर राज्यभिषेकमा सारङ्गी बजाउन दरबारदेखि चाइनासम्म त पुगे तर आफ्नै जिन्दगीमा धेरै परीक्षा पास हुन नसकेको आफैंसँग दुखेसो पोखिरहन्थे ।  ‘दुख खेप्नुपर्‍यो । पैसा कमाउन सकिएन । पैसा कमाउन नसकेपछि आइसञ्चो त कहाँ हुँदोरैछ र ? तर पनि यो बुढेसकालमा त्यतिभाँती पीर मान्न छोडिदिएँ,’ उनले सुस्केरा काड्दै सुनाएथे ।

गन्धर्वहरूको मूल पेसा नै सारङ्गी बजाउनु थियो । मान्छेका दु:ख, बेदना र लाहुेरमा मारिएको लाहुरेको कथा उनीहरूले सारङ्गी रेटेर गाउँघरमा सुनाउँदै हिँड्थे । ‘गीत गाउँदै धेरै ठाउँ घुमियो । कसैले चामल, पैसा, खानेकुरा दिन्थे, कसैले चामलमात्रै,’ खिम ती दिन सझिन्थे ।

राजाको राज्याभिषेकमै सारङ्गी बजाउनेलाई चीन पठाउने निर्णय भएर त्यसको नेतृत्व धर्मराज थापाले गरेका थिए । धर्मराज बाटुलेचौरकै थिए । उनैले चिठी लेखेर काठमाडौं बोलाएपछि चीन जाने चाँजो मिलेको थियो ।

श्रीमतीको ढुंग्री र आमाले केही दामसहित २०१३ सालमा उनी पोखराबाट ६० रुपैयाँ तिरेर जहाजमा काठमाडौं पुगेका थिए । ‘सारङ्गी बोकेर गाउँ डुल्ने गाइने त्यसरी जहाज पनि चढेको थिएँ,’ उनी मुस्कानसहित सुनाएका थिए ।

झलकमान धर्मराजकै बालसखा थिए । उनले नै झलकमानलाई रेडियोमा जागिर दिनेदेखि खिमबहादुरलाई चीन लैजाने, प्रज्ञा प्रतिष्ठानमा सारङ्गी बाद्यवादकको जागिर दिने काम गरेका थिए ।

चाइनाबाट फर्केपछि खिमले २/३ वर्ष प्रज्ञा प्रतिष्ठानको सारङ्गी गुरु भएर पनि काम गरेका थिए । सारङ्गी गुरु भएकै बखत उनले थुप्रैलाई आफैं गीत लेखेर, संगीत भरेर गाउँगाउँ पठाए । त्यहाँ सारङ्गी सिकेर धेरै जना गाउँगाउँसमेत जाने उनी बताउँछन् । उनी आफैं कविता लेखेर संगीतसमेत भर्थे ।

गन्धर्व दाइ दु:खको भारीमा….

गन्धर्वबस्ती बाटुलेचौरबाट चितवनमा झेरका खिमबहादुर केही वर्ष खेतीपाती गरेर २०४० सालतिर फेरि बाटुलेचौर फर्किएका थिए । उनका दुई श्रमिती हुन्, पहिलो श्रीमतीतर्फका कुनै पनि सन्तान रहेनन्, पछि अर्को श्रीमती ल्याएको उनी बताउँथे । ‘उमेर छँदा त म पनि रंगिलै थिएँ । राम्रा/राम्रा केटी पनि हुरुक्कै हुन्थे,’ चाउरी अनुहारमा जवानी झल्काउँदै उनी ठट्टा गर्थे ।

खिमबहादुरलाई सारङ्गीजत्तिको प्रिय अरु केही चिज लागेन । सारङ्गी संस्कृति बचाउनुपर्छ भन्ने खिमबहादुरले संगीत प्रशिक्षण केन्द्र पोखरामा २०५५ सालदेखि २०६६ सालसम्म प्रशिक्षण दिए । अब न सारङ्गी रह्यो, न सारङ्गी बजाएरै जीवन धान्ने दिन रहे भन्ने चिन्ता उनलाई थियो । तर, पछिल्लो समय भने झलकमान सारङ्गी पाठशाला, लक्ष्य ब्याण्डले सारङ्गी–संगीतलाई आधुनिकतासँग जोडेको छ, व्यावसायिकता दिएको छ ।

‘उहाँ बाटुलेचौरमा दु:खजिलो गरेर बस्नुभयो । तर, सारङ्गी र गीतसंगीतबाट टाढा हुनुभएन । जीवनमा अनेक हण्डरठक्कर खानुभयो तर ज्ञान नयाँ पुस्तालाई पनि बाँडिरहनुभयो । पछिल्लो समय भने रोगले च्याप्यो,‘ खिमबहादुरका ज्वाइँ भीमबहादुर गायकले भने, ‘उहाँको बरु आफैं मरिदिन्छु, देशलाई बचाउँछु भन्ने गीत पनि रेकर्ड थियो ।’

संगीत प्रशिक्षण केन्द्रमा खिमबहादुरलाई जोडेका नजिकबाट चिनेका कवि तथा गीतकार तीर्थ श्रेष्ठ एक सारङ्गी साधक, एक संगीत इतिहास ढलेको बताउँछन् । उनले थुप्रै सम्मान र पुरस्कार त पाए तर बेलैमा धेरै गीत रेकर्ड गर्न नपाउँदा चुक्चुकाइरहन्थे । बाटुरेचौरको उत्तिसघारी रहेको पाखाबाटै गन्धर्व जातीको संस्कार, संस्कृति र संगीतको ज्ञान पाएका खिमबहादुर भने कहिलेकसो पछुताउँथे । उनीसँग सारङ्गी सिकेकाहरू अहिले देशविदेशमा सारङ्गीलाई पुर्‍याएका छन् । सारङ्गी बजाएर दुखबिरहको गीत गाउँदै हिँड्ने युगबाट कार्यक्रमहरूमा बोलाएर पैसा तिरेर सुन्ने संस्कार बस्दै गइरहेको छ ।

आफ्नो ज्ञान हस्तान्तरण गरिरहेकै भए पनि बालसखा झलकमानले चर्चाको शिखर चुम्दा उनी भने पछाडि परेको महसुस गर्थे ।

त्यसैले त धेरैजसो भेटहरूमा आफैंले लेखेको यो गीत गुनगुनाइरहन्थे–

‘गन्धर्व दाइ दु:खको भारीमा, जीवन बित्यो उत्तिसै घारीमा ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?