+
+
Shares

पार्टी बैठकमा ओलीले भने- निर्वाचनको निर्भय वातावरण अझै बनेन

‘निर्वाचनको आत्मा भनेकै निर्भयताको वातावरण हो, तर सरकारले त्यो वातावरण बनाउन सकेको छैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १३:३७

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अझै पनि आम निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण र भयरहित वातावरण नबनेको बताएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकार निर्वाचनको मूल मर्मअनुसारको वातावरण निर्माण गर्न असफल भएको आरोप लगाए ।

अध्यक्ष ओलीले लोकतान्त्रिक निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै पछि नहट्ने स्पष्ट पार्दै फागुन २१ गते प्रस्तावित निर्वाचनका सन्दर्भमा सुरुदेखि नै एमालेको धारणा स्पष्ट रहँदै आएको पनि बताए ।

‘निर्वाचनको आत्मा भनेकै निर्भयताको वातावरण हो, तर सरकारले त्यो वातावरण बनाउन सकेको छैन,’ उनले भने ।

उनका अनुसार भदौ २४ गतेको घटनापछि भगाइएका पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहनु, लुटिएका आधुनिक हतियारमध्ये सात सयभन्दा बढी हतियार र हजारौं राउण्ड गोली बरामद नहुनु गम्भीर विषय हो ।

यसले सुरक्षा चुनौती बढाएको र निर्वाचनका लागि आवश्यक विश्वासको वातावरण खल्बलिएको उनको भनाइ छ ।

ओलीले सुरक्षा निकायको मनोबल कमजोर बनाउने खालका प्रत्यक्ष तथा परोक्ष कारबाही भइरहेको उल्लेख गर्दै भदौ २४ को विध्वंशमा संलग्न तथा पछि पनि अपराधमा लागेकामाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न बाधा सिर्जना गरिएको आरोप लगाए । ‘यस्तो अवस्थामा सरकारले कसरी भयरहित निर्वाचनको प्रत्याभूति गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

एमालेले यो विषय सार्वजनिक रूपमा मात्र नभई सरकारका प्रतिनिधिसँगको वार्तामा पनि पटक–पटक उठाउँदै आएको ओलीको भनाइ छ । तर ती प्रयासका बाबजुद पनि अझैसम्म निर्वाचन सुनिश्चित हुने र निर्भय वातावरण बनेको अनुभूति नभएको उनले बताए ।

यद्यपि, ढिलो–चाँडो मुलुक निर्वाचनमा जाने निश्चित रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टी सधैं तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।

केन्द्रीय कमिटी बैठकले सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनका लागि सधैं तैनाथ र तम्तयार रहन तथा आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?