+
+
Shares

महाधिवेशनबारे कार्यसम्पादन समितिको निर्णयमा अडिग छौं : सहमहामन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १७:२०

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनसम्बन्धी गरेको निर्णयमा अडिग रहेको बताएका छन् ।

सभापति शेरबहादुर देउवासँगको सोमबार भएको छलफलपछि महाराजगञ्जबाट बाहिरिने क्रममा उनले विशेष अधिवेशनको औचित्य छैन भनिसकेका कारण पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा अडिग रहेको बताएका हुन् ।

‘केन्द्रीय कार्यसमिति एक ढिक्का भएर पार्टी जोगाउने हो । सबैलाई एकढिक्का रहन आह्वान गर्ने हो,’ सहमहामन्त्री यादवले भने, ‘कार्यसम्पादनको बैठकले विशेष अधिवेशन वा भेलाको औचित्य छैन भनिसकेको कारणले केन्द्रीय कार्यसमिति निर्णयमा अडिग छ ।’

कार्यसम्पादन समितिको १८ पुसमा बसेको बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा १५ मंसिरदेखि नै विशेष महाधिवेशनको माथ स्वत: समाप्त भएको दाबी गरेको थियो ।

‘नियमित १५औं महाधिवेशनको कार्यतालिकाबमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा ‘विधानबमोजिम समयमै नियमित १५औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य १५ मंसिरदेखि नै स्वत: समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको थियो ।

सहमहामन्त्री यादवले आगमी वैशाखमा हुने कांग्रेसको १५औं महाधिवेशनले  नेतृत्व चयन गर्ने पनि जिकिर गरे ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८–३१ मा हुन्छ । केन्द्रीय कार्यसम्पादन समितिबाट कार्यतालिका आइसकेको छ । त्यहीबाट केन्द्रीय नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले गरेकै छैन । केन्द्रीय कार्यसमितको निर्णयलाई वडादेखि माथिसम्म सबैले मान्नु पर्ने हुन्छ ।’

सहमहामन्त्री यादवले सबै जना एकढिक्का भएर आगामी आमनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउनुपर्नेमा पनि जोड दिए । देउवा निवासमा अहिले पनि छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?