+

एमएमएससी नेपाल टिभीएस रेसिङ : मद्रास इन्टरनेशनल सर्किटमा नेपालका श्रीहरिको उत्कृष्ट प्रदर्शन

२०८२ पुष  ३० गते १९:१४ २०८२ पुष ३० गते १९:१४
एमएमएससी नेपाल टिभीएस रेसिङ : मद्रास इन्टरनेशनल सर्किटमा नेपालका श्रीहरिको उत्कृष्ट प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राइडर श्रीहरि पौडेलले भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा पहिलो स्थान हासिल गरे ।
  • एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा अभिनव राज मल्ल दोस्रो र दिलिप दनुवार तेस्रो स्थानमा रहे ।
  • नासा नेपालले चेन्नईमा भएको रेसलाई राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको र नेपाली राइडरहरूको प्रदर्शनले आयोजकलाई प्रभावित बनाएको जनाएको छ ।

3३० पुस, काठमाडौं । नेपाली राइडर श्रीहरि पौडेलले भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा) मा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको हो ।

यही जनरी ९ देखि ११ सम्म विश्वस्तरीय ट्रयाकमा भएको एमएमएससी नेपाल टिभीएस रेसिङ रेसमा श्रीहरिसहित नेपाली राइडरहरूले प्रभावशाली प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बटुलेको नासा नेपालले बुधबार विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

नासा नेपालको तर्फबाट मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी) द्वारा आयोजित एमएमएससी नेपाल टिभीएस रेसिङमा पहिलो दिन ओरियन्टेसन, दोस्रो दिन प्राक्टिस रेस हुँदै अन्तिम दिन ११ जनवरीमा फाइनल रेस सम्पन्न भएको थियो ।

जसमा नेपाली राइडरहरूमध्ये श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरे । घरेलु रोड रेसिङमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै दबदबा राख्दै आएका पौडेलले अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा समेत आफूलाई अब्बल सावित गरे । त्यसैगरी अभिनव राज मल्ल दोस्रो तथा दिलिप दनुवार तेस्रो स्थानमा रहे ।

विजेता सहितको सम्पूर्ण नेपाली टिमलाई मद्रास मोटर स्पोर्ट्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

गत डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू चेन्नईमा भएको इनेन्टमा सहभागि थिए ।

नेपाली टिममा श्रीहरि, अभिनव र दिलिपसँगै राजकुमार कार्की, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाईं, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल राइडरको रुपमा रहेका थिए ।

नेपाली टोलीको व्यवस्थापन मोटर स्पोर्ट्स नेपाल क्लबले गरेको थियो भने क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजर तथा बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलको रूपमा सहभागी थिइन् ।

अन्तर्राष्ट्रिय सर्किटमा रेस गर्दा खेलाडी उत्साहित

यस किसिमको अन्तर्राष्ट्रिय एक्सपोजरले नेपाली रेसिङ र रेसरको दिर्घकालिन विकास हुने र यस खालको पहल भविष्यमा पनि गर्नुपर्ने भन्दै विजेता श्रीहरि पौडेलले नासा नेपाल, एफआइए, एमएमएससी र मोटरस्पोर्टस नेपाल क्लवलाई धन्यवाद दिए ।

यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) र मद्रास मोटर स्पोर्ट्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको रेसिङ ट्रयाकको अभाव रहेको अवस्थामा चेन्नईमा आयोजित यस प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको पनि नासा नेपालले जनाएको छ ।

ट्रयाक, मोटरसाइकल, विधि, प्रविधि र प्राविधिक पक्ष सबै उच्चस्तरीय रहेको यस इभेन्टमा नेपाली राइडरहरूको प्रदर्शनले आयोजक तथा प्राविधिक टोलीलाई समेत प्रभावित बनाएको छ । पूर्व एफ–वान प्राविधिक तथा मद्रास मोटर स्पोर्ट्स क्लबका निर्देशक प्रभा शंकरले केही प्राविधिक पक्ष बाहेक नेपाली राइडरहरूको रेसिङ स्तर अनुमानभन्दा निकै उत्कृष्ट रहेको बताए ।

सुरुवाती चरणमा नयाँ ट्रयाक र प्रविधिमा नेपाली राइडरहरू सम्हालिन नसक्लान् भन्ने आशंका रहे पनि उनीहरूको आत्मविश्वास, अनुशासन र गति देखेर टिभिएस इन्डिया को टोलीसमेत सकारात्मक रूपमा प्रभावित भएको जनाइएको छ ।

यसै प्रतियोगिताबाट नासा नेपाल र टिभिएस रेसिङ बीचको पहिलो सहकार्यको औपचारिक सुरुवात समेत भएको छ । यसलाई नेपाली मोटरस्पोर्ट्सका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको नासा नेपालले जनाएको छ ।

केही वर्षदेखि सञ्चालन हुँदै आएको ‘एक्सप्लोर द ट्रयाक’ कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरूबाट उच्च प्रशंसा प्राप्त हुँदै आएको र उचित ट्रयाकको अभाव भएपनि नेपाली खेलाडीको क्षमता, आत्मविश्वास र अन्तर्राष्ट्रिय एक्सपोजर वृद्धिमा यस कार्यक्रमले उल्लेखनीय योगदान पुर्‍याएको नासा नेपालको विश्वास छ ।

तस्बीर : मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी)

एमएमएससी नेपाल टिभीएस रेसिङ श्रीहरि पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय