+
+
Shares

पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व, ६ महिनामा पौने ६ खर्ब संकलन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८१.७५ प्रतिशत हो।
  • पुस महिनामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत हो।
  • आयकर र भन्सार महसुल दुवै विभागले लक्ष्य अनुसार राजस्व उठाउन असफल भएका छन्, भन्सार विभागले ८३.३५ र आन्तरिक राजस्व विभागले ८०.५१ प्रतिशत मात्र संकलन गरेका छन्।

१ माघ, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ ।

अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो।

पुस महिनामा लक्ष्यको ८९.९६ प्रतिशत राजस्व उठेको मन्त्रालयको तथ्यांक छ । आयकरको प्रथम किस्ता वापतको ४० प्रतिशत रकम बुझाउने समय पुस मसान्त हो ।सोही कारण यो महिनामा राजस्व संकलनको लक्ष्य समेत ठूलो राखिन्छ ।

६ महिनाको तथ्यांक केलाउँदा भने लक्ष्यको ८१.७५ प्रतिशत मात्र राजस्व संकलन भएको छ । पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो । संकलन ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ बराबर भएको छ । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।

सरकारले लिएको वार्षिक लक्ष्यको तुलनामा भने संकलन ३९.२८ प्रतिशत बराबर भएको छ । राजस्व संकलन गत आव २०८१/८२ को तुलनामा भने सामान्य बढेको छ । गत आवको यसै अवधिमा राजस्व ५ खर्ब ६७ अर्ब उठेको थियो । चालु आवमा संकलन भएको राजस्व गत आवको यसै अवधिको तुलनामा २.४७ प्रतिशत मात्र धेरै हो ।

आयकर घट्दै, भन्सार महसुल लक्ष्यभन्दा धेरै कम

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आयकर गत आवको तुलनामा समेत कम उठ्दा त्यसको असर समग्र राजस्वमा देखिएको छ । पुससम्म १ खर्ब ९४ अर्ब रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य थियो ।

संकलन १ खर्ब ३८ अर्ब रुपैयाँ भएको छ । जुन लक्ष्यको ७१.११ प्रतिशत मात्र हो । गत आवको तुलनामा २.६६ प्रतिशत ऋणात्मक वृद्धिदर आयकर संकलनमा भएको छ ।

भन्सार महसुल गत आवको तुलनामा ८.०८ प्रतिशतले बढेको छ । तर, लक्ष्यको तुलनामा भने ७९.०३ प्रतिशत मात्र उठेको छ । भन्सार महसुल अपेक्षित नबढ्दा त्यसको असर कुल राजस्वमा देखिन्छ ।

यस अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ८३ करोड भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । संकलन १ खर्ब १६ अर्ब रुपैयाँ भएको छ । मूल्य अभिवृद्धि करतर्फ ८.३१ प्रतिशतको वृद्धि भएको छ । तर, लक्ष्यको ९०.१२ प्रतिशत मात्र संकलन भएको देखिएको छ ।

पुस मसान्तसम्म १ खर्ब ८६ अर्ब मूल्य अभिवृद्धि कर संकलनको लक्ष्य राखिएको थियो । संकलन १ खर्ब ६७ अर्ब रुपैयाँ मात्र भएको छ । अन्तःशूल्क संकलन ९.४६ प्रतिशतले बढेको छ । १ खर्ब १ अर्ब अन्तःशूल्क संकलन गर्ने लक्ष्य राखिएकोमा ९१ अर्ब २७ करोड मात्र संकलन भएको छ । जुन लक्ष्यको ९०.०६ प्रतिशत हो ।

दुवै विभाग लक्ष्य भेट्न असफल

अर्थ मन्त्रालयका अनुसार भन्सार र आन्तरिक राजस्व दुवै विभाग लक्ष्य अनुसार राजस्व उठाउन असफल भएका छन् । भन्सार विभागलाई सरकारले पुससम्म २ खर्ब ८६ अर्बको लक्ष्य दिएको थियो । संकलन भने २ खर्ब ३८ अर्ब रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ८३.३५ प्रतिशत मात्र हो ।

आन्तरिक राजस्व विभागलाई ३ खर्ब ४४ अर्बको लक्ष्य दिइएकोमा २ खर्ब ७७ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । जुन लक्ष्यको ८०.५१ प्रतिशत बराबर हो । वार्षिक वृद्धिदर भन्सारको ८.४८ प्रतिशत र आन्तरिक राजस्व विभागको २.९९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?