News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार बन्नुपर्ने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन्।
- ओलीले पिस्कर सहिद स्मृति दिवस कार्यक्रममा नेपालको न्यायपालिका र राष्ट्रिय संरचना जथाभावी शासनमा रहेको टिप्पणी गरेका छन्।
- उनले महान्याधिवक्ताको कार्यालयले रवि लामिछानेको मुद्धा फिर्ता लिएको निर्णयलाई इतिहासकै लागि लज्जाको विषय भनेका छन्।
१ माघ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट गरे ।
अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरुका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरु जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गरे ।
‘अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पति खाएको छ भने पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावाका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ’, अध्यक्ष ओलीको भनाइ थियो, ‘हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरुको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले प्रश्न गर्दै भने, ‘अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?’
आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उनको आग्रह थियो।
निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्पन नभएको बताए ।
प्रतिक्रिया 4