२ माघ, गुल्मी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लामा क्षेत्र नम्बर–१ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा र क्षेत्र नम्बर–२ का लागि शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यालय स्थापना कार्यक्रम विभिन्न कार्यालयलका प्रमुखहरू, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
निर्वाचन कार्य सम्पादनका लागि जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेललाई मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । त्यसैगरी क्षेत्र नम्बर–२ का लागि जिल्ला न्यायाधिवक्ता हरिहर पौडेललाई निर्वाचन अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र रूपमा अगाडि बढेका छन् । मतदाता नामावली अद्यावधिक, निर्वाचन आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्थापन तथा राजनीतिक दलहरूसँग समन्वयजस्ता कामहरू सुरु भइसकेका छन् ।
निर्वाचन कार्यक्रम अघि बढ्न थालेसँगै जिल्लाका राजनीतिक दलहरू पनि चुनाव केन्द्रित कार्यक्रम र रणनीति बनाउन तयारीमा देखिएका छन । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया क्रमश: अघि बढ्नेछन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ जना मतदाता रहेका छन् ।
तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।
निर्वाचनलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लामा राजनीतिक गतिविधि थप चहलपहल हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4