+
महिला टी-२० विश्‍वकप ग्लोबल छनोट :

बलियो थाइल्यान्डविरुद्ध पहिलो जितको खोजी

२०८२ माघ  ३ गते २१:३० २०८२ माघ ३ गते २१:३०

हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।

बलियो थाइल्यान्डविरुद्ध पहिलो जितको खोजी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्वकपको ग्लोबल छनोट सुरु हुँदैछ जहाँ नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ र पहिलो खेलमा थाइल्यान्डसँग विहान ९ बजे प्रतिस्पर्धा गर्नेछ।
  • नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको छ र महिला विश्वकप खेल्ने लक्ष्य राखेको छ।

३ माघ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्‍वकपको ग्लोबल छनोट सुरु हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्‍वकपमा पुग्ने प्रावधान छ । नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।

पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न लागेको नेपाली महिला टोलीको अबको लक्ष्य महिला विश्‍वकप खेलेर इतिहास रच्ने नै हुनेछ । त्यसका लागि नेपालले आफूभन्दा माथिल्लो वरियतामा रहेका अनि टेस्ट राष्ट्रलाई समेत हराउनु पर्नेछ ।

नेपालले समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । जसअन्तर्गत पहिलो खेल नेपालले आइतबार थाइल्यान्डसँग खेल्दैछ । खेल विहान ९ बजेदेखि सुरु हुँदैछ ।

थाइल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । हालसम्म थाइल्यान्डलाई हराउन नसकेको नेपाली टोली पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो सुरुवात गर्ने सोचमा हुनेछ ।

थाइल्यान्डले महिला टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको टी-२० विश्वकपमा खेलेको थाइल्यान्ड समूह चरणबाट अगाडि बढ्न भने सकेको थिएन ।

त्यस्तै थाइल्यान्डले सन् २०१२, २०१६, २०१८, २०२२ र २०२४ मा महिला एसिया कप पनि खेलेको छ । सन् २०२२ को एसिया कपमा थाइल्यान्डले पाकिस्तानलाई हराएको थियो भने सेमिफाइनलसम्मै पुगेको थियो ।

आईसीसी महिला टी-२०आई वरियतामा थाइल्यान्ड १२औं स्थानमा छ । थाइल्यान्डसँग नेपाली महिला टोलीले पछिल्लोपटक विश्वकप एसिया छनोटको सुपर थ्री मा खेलेको थियो जहाँ नेपाल पराजित भएको थियो ।

त्यही छनोट पार गरेर नेपाल र थाइल्यान्ड ग्लोबल छनोटमा आइपुगेका हुन् ।

हेड टु हेड

महिला टी-२०आईमा नेपालले हालसम्म ७ पटक थाइल्यान्डसँग खेलेको छ । ७ वटै खेलमा नेपाल पराजित भएको छ । त्यसकारण नेपाल थाइल्यान्डविरुद्ध पहिलो जितको खोजीमा पनि हुनेछ ।

नेपालले पछिल्लोपटक एसिया छनोटमा थाइल्यान्डसँग खेलेको थियो । त्यसबेला थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले जवाफमा ८० रन मात्र बनाएको थियो ।

त्यस्तै त्यसअघि नेपालले घरेलु मैदानमै भएको महिला टी-२०आई शृंखलामा थाइल्यान्डसँग खेलेको थियो । नेपाल ३ वटै खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ५ रनले पराजित भएको थियो भने तेस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

टिम कम्बिनेसन

अलराउन्डरको वर्चश्व रहेको नेपाली टोलीमा टिम कम्बिनेशन तयार गर्न केही कठिन हुने देखिएको छ । अभ्यास खेलमा सबै १५ खेलाडीलाई प्रयोग गर्न पाइने सुविधाका बीच नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्दा बलिङ र फिल्डिङमा केही कमजोरी देखिएका छन् ।

अभ्यास खेलहरूमा गरेको प्रदर्शनका आधारमा नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीको स्थान निश्चित छ । टप अर्डरमा सम्झना खड्का र बिन्दु रावलले पनि राम्रो गरेका छन् । यीबाहेक लोअर अर्डरका खेलाडी चयनमा नै प्रशिक्षक केन्द्रित रहने देखिन्छन् ।

बलिङमा अधिकांश खेलाडी खर्चिला नै देखिएका छन् । यस्तोमा नेपालका लागि कुन प्लेइङ ११ अनि कतिजना अलराउन्डर राख्दा ठीक हुन्छ भनेर चयन गर्न प्रशिक्षकलाई एक किसिमको चुनौती नै रहने अवस्था छ ।

यता थाइल्यान्डले भने अनुभवी खेलाडीलाई नै समावेश गरेर प्लेइङ ११ तयार गर्ने सम्भावना छ । अनुभवी खेलाडी नताया बूचाथामको सन्यासपछि पनि थाइल्यान्डसँग प्रशस्त मात्रामा म्याच विनरहरू छन् ।

प्रभाव पार्न सक्ने खेलाडी

नेपालका लागि ब्याटिङमा टप अर्डरका सम्झना खड्का र बिन्दु रावलले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूबाट राम्रो सुरुवातको अपेक्षा रहनेछ । यस्तै इन्दु, पूजा, रुबिना र सीता रानामगरबाट अलराउन्ड प्रदर्शनको अपेक्षा रहनेछ । कविता कुँवरको बलिङमा पनि नजर रहनेछ ।

कप्तान इन्दु नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । त्यसपछि सीता राना मगर र रुबिना क्षेत्री छन् । बलिङमा सीता रानामगर र कविता कुँवरले धेरै विकेट लिएका छन् ।

थाइल्यान्डका लागि टप अर्डर ब्याटर नथाकन चन्थम र नानपत कोन्चारोन्काइको प्रदर्शन विपक्षीलाई घातक साबित बन्न सक्छ । कप्तान नारुमोल चाइवाइको ब्याटिङ अनि चनिदा सुथिराङको अलराउन्ड प्रदर्शन थाइल्यान्डको बलियो पक्ष हो ।

थाइल्यान्डका लागि नथाकन चन्थम सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् भने त्यसपछि कोन्चारोन्काइले सबैभन्दा धेरै रन बनाएकी छन् । बलिङमा पुथावोङ र काम्चोम्फू सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष ३ भित्र छन् ।

कप्तानले के भने ?

नेपाली टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा खेल्न उत्साहित रहेको बताएकी छन् । उनले अभ्यास खेलमा राम्रो खेल्ने अवसर प्राप्त भएको र प्रतियोगितामा पनि त्यही लय निरन्तरता दिने बताएकी छन् ।

थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले नेपाल आउनुअघि भारतमा पनि अभ्यास खेल खेलेर आएको र यहाँ आएर पनि खेल्न पाउँदा कन्डिशनमा राम्रोसँग झुम्ने अवसर पाएको उल्लेख गरिन् । प्रतियोगितामा राम्रो खेलेर अगाडि बढ्ने उनको विश्वास छ ।

सम्भावित ११

नेपाल : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सोमु विष्ट, सीता राना मगर, रोमा थापा

थाइल्यान्ड : नारुमोल चाइवाइ, अफिसरा सुवानचोनराथी, नथाकन चन्थम, नानपत कोन्चारोन्काइ, चनिदा सुथिराङ, फनिता माया, सुलीपर्न लाओमी, ओनिचा काम्चोम्फु, सुनिदा चतुरोङरताना, थिपाथ्चा पुथावोङ

खेल : नेपाल विरुद्ध थाइल्यान्ड
समय : विहान ९ बजे
स्थान : त्रिवि क्रिकेट मैदान
मौसम : सफा, शीतले भिजेको मैदान

नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय