+
+
Shares

आफ्नो प्रस्ताव रोकिएपछि चुनाव लड्नतिर लागे महावीर पुन

शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग बसेको बैठकमा पनि पुनले जहाँसुकैबाट जितेर आउन सक्ने बताएका थिए । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताबारे प्रधानमन्त्री र मन्त्रीहरूलाई जानकारी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:०१

६ माघ, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अन्तरिम सरकारको मन्त्री बनेपछि पुनले राजनीतिमा नलाग्ने, दल नखोल्ने र चुनाव नलड्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका थिए । उनी भन्थे– कसैले टिपेर ल्यायो भने फेरि मन्त्री हुने, नभए नहुने ।

तर अकस्मात राजीनामा दिएर चुनाव लड्न गृह जिल्ला म्याग्दी पुगेका छन् । उम्मेदवारी दर्ताका क्रममा उनले कुनै दलमा आबद्ध नहुने बताएका छन् ।

‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि ?,’ पुनले भनेका छन्, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’

धेरैलाई सरप्राइज लागेको यस्तो निर्णयबारे उनले प्रधानमन्त्री सुशीला कार्की सहित अरू मन्त्रीहरूलाई पहिलेबाटै जानकारी दिँदै आएको खुलेको छ ।

‘उहाँले पहिलेबाटै चुनाव लड्ने संकेत दिँदै आउनुभएको थियो,’ एक मन्त्री भन्छन्, ‘आफ्नो मन्त्रालयको प्रस्ताव अगाडि नबढेको सन्दर्भमा उहाँले म आफैं प्रधानमन्त्री बनेर काम गर्नुपर्ने भयो भन्नु हुन्थ्यो ।’

शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग बसेको बैठकमा पनि पुनले जहाँसुकैबाट जितेर आउन सक्ने बताएका थिए । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताबारे प्रधानमन्त्री र मन्त्रीहरूलाई जानकारी दिएका थिए ।

‘आचारसंहितामा त गर्न हुने भन्दा पनि नहुने कामहरूको लामो सूची हुने भयो,’ बैठक स्रोत भन्छ, ‘उहाँले भने अध्यादेश ल्याउने अवसर माग्नुभयो, तर प्रमुख आयुक्तले मान्नुभएन ।’

यसपछि आफू हात बाँधेर बस्न नसक्ने पुनले बताएका थिए । ‘त्यसो भए हात बाँधेर बस्नुपर्ने भयो त,’ उनले भनेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय पुगेको आफ्नो मन्त्रालयको प्रस्ताव अगाडि बढाएर मात्र निर्वाचन आचारसंहिता लागु गर्न आग्रह गरेका थिए । शिक्षा क्षेत्रकै पुनर्संरचना गर्न आफ्नो प्रस्ताव कार्यान्वयन अनिवार्य रहेको तर्क पुनले गरेका थिए ।

विश्वविद्यालयहरूको कुलपतिबाट प्रधानमन्त्री हट्नुपर्ने, मन्त्रालय फुटाएर विज्ञान तथा प्रविधि मन्त्रालय अलग गर्नुपर्ने र शिक्षा नियमावली संशोधनको प्रस्ताव पुनले अगाडि बढाएका थिए । प्रधानमन्त्री नै कुलपति हुने प्रणालीले विश्वविद्यालयहरूमा समस्या आएकाले राष्ट्रपति संरक्षक रहनेगरी अध्यादेश तयार पारिएको थियो । गत १ माघमा मात्र उक्त अध्यादेश प्रधानमन्त्री कार्यालय पठाइएको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालय अलग बनाउन उनले पहिलेबाटै वकालत गर्दै आएका थिए । मन्त्री भएपछि विद्यालयहरुको व्यवस्थापनलाई सुधार्न भनेर शिक्षा नियमावली संशोधनको प्रस्ताव तयार पारिएको थियो ।

तर उनका तीनै प्रस्ताव अगाडि नबढेपछि पुनले चुनाव लड्ने मनसाय बनाएको अनुमान गरिन्छ । ‘रमाइलो पारामा उहाँले शिक्षा मन्त्रालयको रिफर्म गर्न अब म आफैं प्रधानमन्त्री हुनुपर्ने भयो होइन त भन्नु हुन्थ्यो,’ बैठक स्रोत भन्छ ।

नभन्दै सुटुक्क ग्याग्दी पुगेर पुनले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?