News Summary
Generated by OK AI. Editorially reviewed.- विवाह दुई व्यक्ति बीचको कानुनी बन्धन मात्र नभई जीवनभरको सामाजिक, आर्थिक र भावनात्मक साझेदारी हो।
विवाह केवल दुई व्यक्ति बीचको कानुनी बन्धन मात्र होइन, जीवनभरको सामाजिक, आर्थिक र भावनात्मक साझेदारी हो । त्यसैले विवाहलाई केवल आदर्शको दृष्टिले मात्र होइन, समाजको यथार्थ संरचनाबाट पनि हेर्नु आवश्यक छ । विवाह दुई परिवार, संस्कार, सामाजिक परिवेश र जीवन दर्शन बीचको गहिरो बन्धन हो । नेपाली समाजमा विवाह अझै पनि निजी निर्णय मात्र होइन, पारिवारिक र सामाजिक संरचनासँग जोडिएको छ । यही यथार्थलाई नबुझी गरिने बहसहरू अक्सर अर्थहीन बन्छन् ।
आजको युवा पुस्तामा विवाहको अर्थ बदलिँदै गएको छ । प्रेम, व्यक्तिगत स्वतन्त्रता र समानतालाई उच्च प्राथमिकतामा राख्ने प्रवृत्ति बढेको छ । यसै क्रममा अन्तरजातीय विवाहलाई प्रगतिशीलता र सामाजिक परिवर्तनको प्रतीकका रूपमा पनि लिने गरिएको छ । यद्यपि तथ्यांकले देखाउँछ कि नेपालमा अझै पनि अधिकांश विवाह सजातीय नै हुने गरेको छ । यसले सामाजिक परिवर्तन सुरु भएको संकेत त दिन्छ, तर संरचना अझै उस्तै रहेको देखिन्छ ।
जातलाई केवल सांस्कृतिक पहिचानको लेबल भनेर हेर्नु पर्याप्त हुँदैन । व्यवहारिक जीवनमा जात सामाजिक–आर्थिक वर्ग (सोसियो–इकोनोमिक क्लास) जस्तो कार्य गर्छ । आर्थिक अवस्था, शैक्षिक अवसर, पेशागत संरचना, सामाजिक पूँजी, संस्कार र दैनिक जीवनशैली-यी सबै क्षेत्रमा जातीय समूहभित्र समानता पाइन्छ । यसले सामाजिक सहजता, पारस्परिक बुझाइ र नेटवर्कलाई सशक्त बनाउँछ । सजातीय विवाहमा दुवै परिवार, दुवै सामाजिक सञ्जाल र आर्थिक परिवेश मिल्ने भएकाले जीवनशैली र अपेक्षामा कम टकराव हुन्छ । यसले विवाहपछिका चुनौतीहरूलाई सम्हाल्न सहज वातावरण बनाउँछ ।
सजातीय विवाहको यथार्थ स्वीकार गर्नु वा यसको स्थायित्व उल्लेख गर्नु कुनै विभेदको समर्थन होइन । हाम्रो समाज पूर्णरूपमा समतामूलक भइसकेको छैन । आर्थिक, शैक्षिक र सांस्कृतिक असमानता अझै गहिरो छ । यस्तो अवस्थामा समान संरचनाभित्र भएको विवाह बढी सहज र दिगो देखिनु एक सामाजिक तथ्य हो । यसलाई नकार्नु भनेको वास्तविकता अस्वीकार गर्नु हो । त्यसैले जातलाई सामाजिक–आर्थिक वर्गको रूपमा बुझ्न आवश्यक छ ।
तर अन्तरजातीय विवाहलाई एकदमै गलत मान्नु पनि ठीक होइन । यसले समाजको जटिलतालाई एकपक्षीय रूपमा हेर्ने गल्ती हो । परिवर्तन चाहनु राम्रो हो, तर परिवर्तनको सामाजिक मूल्य (सोसियल कस्ट) को भार केवल दम्पतीले नै बेहोर्नुपर्ने विचार खतरनाक हुन सक्छ । यसले दम्पतीमाथि अतिरिक्त दबाब सिर्जना गर्छ र असफलतामा समाजले दोषारोपण गर्ने प्रवृत्ति बढाउन सक्छ । यसर्थ विवाहलाई सामाजिक प्रयोगशालाको रूपमा हेर्नु हुँदैन। यो जीवनभरको सहयात्रा हो- जहाँ भावनाको उष्णतासँगै संरचनागत सहजता पनि महत्वपूर्ण हुन्छ ।
विवाह सफल बनाउने आधार जातीय समानता वा भिन्नतामा मात्र निर्भर हुँदैन । सफल वैवाहिक जीवनको आधार हो—परस्पर सम्मान, सहयोग, निरन्तर संवाद, प्रेम, विश्वास र समर्पण । यी गुणहरूलाई बलियो बनाउन उपयुक्त सामाजिक माटो र वातावरण आवश्यक छ, जुन हामीले सामूहिक रूपमा सिर्जना गर्नुपर्छ ।
अन्ततः विवाहको निर्णय व्यक्तिगत कुरा हो। तर समाजले पनि यस्तो वातावरण बनाउनुपर्छ, जहाँ प्रेम र समझदारीका साथ निर्णय लिन सहज होस् । जब दम्पती र परिवारबीचको समझदारी बलियो हुन्छ, तब विवाह दीर्घकालीन बाचा मात्र नभई जीवनभरको साझा यात्रा बन्न सक्छ।
प्रतिक्रिया 4