News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा तेस्रोपटक उम्मेदवारी दिएका छन्।
- नेपाली कांग्रेसले मिना खरेललाई, एमालेले अस्मिन घिमिरेलाई र नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई चितवन २ बाट उम्मेदवार बनाएको छ।
- लामिछानेले सहकारी ठगी मुद्दाको सुनुवाइका कारण भौतिक उपस्थित हुन नसकेर वारेसमार्फत उम्मेदवारी दिएका थिए।
६ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आधार क्षेत्र मान्दै आएको चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने तेस्रोपटक उम्मेदबार बनेका छन् ।
सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइको लागि मंगलबार दिनभर वीरगन्जमा रहेका कारण भौतिक रूपमा उपस्थित हुन नसकेपछि लामिछानेले वारेसमार्फत उम्मेदवारी दिए । तर, मंगलबारै साँझ भरतपुर आएर आफ्ना समर्थकहरूलाई भेटे ।
चितवन क्षेत्र नं. २ मा लामिछानेले तेस्रोपटक उम्मेदवारी दिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले नयाँ उम्मेदवारलाई मौका दिएका छन् ।
कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मिना खरेललाई उम्मेदवार बनाएको छ । कांग्रेसकै अन्य उम्मेदवार हुँदा असहयोग हुन सक्ने अवस्था रहे पनि खरेलका नाममा भने कांग्रेसभित्र एकता छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ घर भएकी खरेल जिल्लामा परिचित छिन् । कांग्रेस उम्मेदवार खरेलले सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभवलाई राजनीतिक क्षेत्रमा जोड्न चाहेको बताइन् ।
एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार बनेका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य रहेका घिमिरे जनवादी गायक हुन् । अनेरास्ववियूको राजनीति गरेका घिमिरे आफ्नो क्षेत्रका युवाहरूलाई परेको बेलामा सहयोग गर्न उद्दत हुन्छन् ।
चितवन क्षेत्र नं. २ बाट यसअघि उम्मेदवार बनेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न तयार नभएपछि एमालेले युवा नेता घिमिरेलाई निर्वाचनमा उठाएको हो ।
घिमिरेले चितवन २ का जनताले आफ्नै भूगोलमा जन्मिएको जनप्रतिनिधि नपाउनु दुर्भाग्यपूर्ण भएकोले यसपटक युवाहरूको भावनालाई समेत प्रतिनिधित्व गर्ने गरी उम्मेदवारी दिएको बताए ।
नेपाली कम्युनिष्ट पार्टीले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा रहेको चितवन क्षेत्र नं. २ मा रवि लामिछाने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार २ सय ६४ मत ल्याएर विजयी बनेका थिए । त्यसपछि उनी उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए ।
वैधानिकता सकिएको नेपाली नागरिकता लिएर उम्मेदवार बनेर विजयी भएको भन्दै सर्वोच्च अदालतको आदेशमा उनको सांसद पद खारेज भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पुन: नेपाली नागरिकता लिएका लामिछानेले २०८० वैशाखमा भएको निर्वाचन पनि जिते । यसपटक उनले अघिल्लोपटकभन्दा बढी मत ल्याएका थिए ।
दोस्रोपटक निर्वाचित भएपछि पनि उनी उपप्रधानमन्त्री र गृहमन्त्री बने । तर, सहकारीको रकम अपचलन अभियोगमा संसदीय छानबिन समितिले दोषी ठहर गरेयता उनी विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन् ।
प्रतिक्रिया 4