+
+
Shares

दाङ-१ मा प्रमुख दलका ४ उम्मेदवार एउटै पालिकाका

दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका १४ उम्मेदवारहरूमध्ये प्रमुख दलका चार जना उम्मेदवार गढवा गाउँपालिकाका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १६:५५

७ माघ, दाङ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङको एउटै गाउँपालिकाबाट प्रमुख राजनीतिक दलका चार जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका १४ उम्मेदवारहरूमध्ये प्रमुख दलका चार जना उम्मेदवार गढवा गाउँपालिकाका हुन् ।

नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेकपाका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक र राप्रपाका विनय जिसी गढवा गाउँपालिकाका बासिन्दा हुन् ।

दाङ क्षेत्र नम्बर १ मै मनोनयन दर्ता गराएका नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा भने लमही नगरपालिकाका हुन् ।

दाङ १ मा विप्लव नेतृत्वको नेकपा (माओवादी) का उम्मेदवार प्रकाश शाही पनि प्रतिस्पर्धामा छन् । उनी भने गढवा र लमहीको छिमेकी पालिका राप्तीका बासिन्दा हुन् ।

स्वतन्त्र उम्मेदवारको रूपमा नेकपाका बागी कुलप्रसाद केसी (सोनाम) पनि प्रतिस्पर्धामा उत्रिएका छन् । रोल्पा घर भएका केसी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् ।

उनीहरूले ६ माघमा शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् र आफूले नै चुनाव जित्ने दाबी गरेका छन् ।

यीसँगै दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य, जनता समाजवादी पार्टी नेपालका भरतलाल चौधरी, मंगोल नेशनल अर्गनाइजेसनका खुमबहादुर गाहामगर, आम जनता पार्टीका सिताराम यादव, नेश्नल पब्लिक नेपालका मिनबहादुर ठेडीमगर, राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरी र स्वतन्त्र उम्मेदवार मालिकराम यादवले पनि मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?