+
+
Shares

दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख

वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले भने, ‘दाङका वनमा सालका रूखमा महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते ६:०९
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको तुलसीपुर उपमहानगरपालिका र आसपासका सामुदायिक वनमा सालका रूखहरू डढेलो लागेको जस्तो देखिने समस्याले महामारीको रुप लिएको छ ।
  • दाङ जिल्लामा ३६९ सामुदायिक वन छन् र हाल १५/२० वटा सामुदायिक वनमा सालका यस्तो समस्या देखिएको छ।
  • डिभिजन वन कार्यालयले महामारी नियन्त्रण गर्न विभागमा चिट्ठी पठाएको छ।

८ माघ, तुलसीपुर ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् ।

पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् ।

यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् ।

‘विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्,’ तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने,, ‘यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।’

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो ‘महामारी’ देखिएको बताए । ‘दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ’, उनले भने ।

वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा यस्तो समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । ‘यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्यो भने त पलाउँछ’, उनले भने, ‘पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।’

महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । ‘जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन’, उनले भने, ‘विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।’

एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए ।

उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको बताए ।

जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताउँछन्

यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ ।

दाङ जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छभने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्,  जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् ।

यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन रहेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् ।

हाल दाङका १५/२० वटा सामुदायिक वनमा सालका पातमा डढेलो लागेको जस्तो देखिने समस्या छ ।

– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?