+
+
Shares
ब्लग :

मौसमी नेता बन्ने तरमारा रहर

पछिल्लो समय नेपाली कांग्रेसभित्र गगन विश्वले गरेको विद्रोह लोभलाग्दो छ। जसले चटके नेता बन्ने रहर बोकेकालाई गतिलो झापड हिर्काएको छ।

मनोज सुवेदी मनोज सुवेदी
२०८२ माघ ८ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ को आन्दोलनले मौसमी नेता बन्ने रहर बोकेका तरमाराहरूलाई पञ्चाङ्ग बमोजिम साइत जुराइदिएको छ।
  • नेता बन्ने रहर बोकेकाहरूले चर्को भाषण, सामाजिक सञ्जाल प्रयोग र पुरानालाई गाली गर्नुपर्ने योग्यता मान्छन्।
  • नेपाली कांग्रेसभित्र गगन–विश्वले गरेको विद्रोहले इतिहासलाई गाली नगरी भविष्यको लागि उचित कार्ययोजना निर्माण गरेको छ।

बेलायती लेखक अल्फ्रेड लायलले भनेका छन्  Accuracy is absent in oriental mind. अर्थात् पूर्वीय दिमागमा शुद्धता हुँदैन। सही र गलत छुट्याउन सक्दैन।

यद्यपि अल्फ्रेड उपनिवेशलाई सहयोग पुग्ने गरी वकालत गर्ने लेखक हुन्। तर कताकता एशियामा पछिल्लो समयको हलचलपश्चात् मौसमी नेता जन्मने लहड चलेको छ र जनता सही तथा गलत छुट्याउन अलमल रहेको देखिन्छ जसको प्रत्यक्ष शिकार नेपाल बनिरहेको महसुस हुन्छ।

भ्रष्टाचार, बेथिति, नियन्त्रित अस्थिर राजनीति आदि विषयको विरुद्ध गरिएको भदौ २३ र २४ अघि र अहिलेको नेपाली समाजमा तात्विक भिन्नता देखिएको छ। भदौ २३ र २४ को आन्दोलनले मौसमी नेता बन्ने रहर बोकेका तरमाराहरूलाई पञ्चाङ्ग बमोजिम साइत नै जुराइदिएको छ। जसको मिनिमम योग्यता हो- चर्को भाषण, रिपोर्टस् क्लबमा बाक्लो उपस्थिति र नसा फुल्ने गरी चिच्याउनुपर्ने; अनि छुटाउनै नहुने कुरा पुरानालाई गाली गर्नुपर्ने, सामाजिक सञ्जालका रङ्गीन स्क्रिनलाई प्रभावकारी ढङ्गले झिल्काउनुपर्ने यस्तै यस्तै।

आज बिहान ६५ वर्षे हजुरआमा भन्दै हुनुहुन्थ्यो— बाबु हेर त तेरो उमेरका कसरी नेता बनेका छन्। अझ खुलाउँदै भन्नुहुन्छ, यिनीहरूले यसो–यसो भन्छन्। अनि हजुरआमा तिनीहरूको बिम्ब प्रस्तुत गर्दै मलाई प्रश्न गर्नुहुन्छ— तँ पनि यिनीहरू जस्तै हुनुपर्‍यो क्या ! मैले हजुरआमालाई नै प्रश्न गर्छु— किन र हजुरआमा? फेरि हजुरआमा जवाफ दिनुहुन्छ– जताततै यिनको मात्रै चर्चा छ। म गम्भीर हुँदै भित्रभित्रै प्रश्न गर्छु “के चर्चा कमाउनु मात्रै नेता बन्नु हो त”। भनिन्छ नि युगसुहाउँदो नेता वा युगले जन्माएको नेता; के अहिलेका नयाँ नेता यस्तो बिम्बको भार बोक्न सक्षम छन् त ! या फगत चर्चा कमाउन मात्रै ?

जेनजी आन्दोलनपश्चात्‌को नेपाली समाजमा अधिकांश तरमारा नेताको कमण्डलु बोक्न अग्रसर देखिन्छन् वा अझ भनौं सारा आन्दोलन र देशै परिवर्तन गर्ने क्षमता मैमाथि छ भन्ने ध्वाँस समेत दिन पछिपर्दैनन्। कतै संसदीय व्यवस्थाकै नौलो अभ्यास चुनावभन्दा पहिल्यै प्रधानमन्त्रीको उधारो सम्झौता गरेको देखिन्छ शायद चश्मा लगाएर होला। नेपालको वास्तविकतालाई बुझ्न नसकेको फेरि अर्को चटक देखाउन पछि पर्दैनन्; भनिहाल्छन् डाक्टर साहेब बजेट लेख्न थाल्नुस्!

अवसर मिल्यो भने म सोध्नेछु— सहकारीको पैसा फिर्ता गर्न कति बजेट छुट्याउनुभो, युवाको मस्तिष्कमा प्रतिशोध उत्पन्न गर्न कति बजेट छुट्याउनुभो यस्तै यस्तै। यसो समानुपातिकतिर हेरेको योगदानभन्दा त अनुहारको शारीरिक बनावट पो चाहिन्छ कि राजनीति गर्न जस्तो पो लाग्छ, कसैको पूर्व कर्मचारी बाहेक अन्य सीमितै छन्, कसैका आफ्नै थर बाहेक अन्य सीमितै छन् कतै पूर्व रिटायर पुलिस अफिसरहरूको झुण्ड छ। यस्तै यस्तै मौसमी नेता बन्ने रहर सबैले बोकेका छन्। खुइलिएको तालु कन्याउँदै भन्छन्– यो संविधान राख्ने कि फाल्ने म त टेन्सनमा पो छु। तर विडम्बना “सबै तालुखुइले चाणक्य जस्तो विद्वान् भइदिने भए”! कोही भन्छन् हामीले बनाएको सरकार हो। हामीले भन्दा राजीनामा दिनुपर्छ। अझै दुई कदम अघि  बढेर राजीनामा पनि मागिहाल्छन् अनि चित्त नबुझे सम्झौता नै च्यात्न पनि पछि पर्दैनन्। यस्तै छ मौसमले जुराइदिएका नेताको हविगत। कतै संसदीय व्यवस्था ठिक कि प्रत्यक्ष कार्यकारी ठिक भन्दै त्यसैलाई राजनीतिक रोटी बनाएर हिंडेका छन्।

भनिन्छ, सचेत नागरिक लोकतन्त्रका लागि गहना हुन्। तर आज शहरका प्राय: गल्लीहरू नेता बन्ने रहर बोकेकाहरूले जमात बनाएर केही न केही फलाकेकै हुन्छन् एउटा कुरा चाहिं यो टोलीले राम्रोसँग बुझेको छ। नेता बन्नका लागि दल त चाहिन्छ नै यसो जमात बढी भयो कि निर्वाचन आयोग गइनै हाल्छन् दल दर्ता गर्नको लागि; जसले आधिकारिक रूपमा नेता त बनाइदिन्छ तर व्यावहारिक रूपमा वास्तवमै भन्ने हो भने यस्तो प्रवृत्तिले समग्र उपलब्धि र आन्दोलनलाई नै गिज्याइरहेको छ।

अहिले नेता बन्ने रहर बोकेकालाई नियम, विचार अनि मार्गदर्शक सिद्धान्तहरू केही चाहिंदैन; चाहिएको छ त केवल नारा लगाउन सक्ने चर्को स्वर, सामाजिक सञ्जाल व्यापक रूपमा प्रयोग गर्न सक्ने क्षमता अनि तिनकै भाषामा भन्दा ट्रेन्डिङमा चलेको चलनलाई क्याचअप गर्न।

हिजो समाजलाई के योगदान गरें र आज म यसको भागीदार छु भन्ने यिनलाई कुनै हेक्का छैन, नेता बन्ने रहर जो चलेको छ नेपालमा। यो लेखिरहँदा मैले हिजोको नेपाली समाज सम्झन्छु जहाँ आपसी सद्भाव, भाइचारा, समाजप्रति अठोट, योगदान दिने व्यक्तिहरू जसले समाजले मलाई के दिने भन्ने भन्दा पहिला मैले समाजलाई के दिएँ भन्ने कुरा सोच्ने गर्थे।

अझ भनौं चरम दलीय कारणले एकअर्कालाई मानिसको रूपमा र छिमेकीको रूपमा नहेरी शत्रुताको व्यवहार गरिन्छ अन्यथा छिमेकीको घर जलिरहँदा त्यसलाई निभाउन सहयोग गर्नुको साटो जलाइनुपर्छ भनेर छिमेकी नै अगुवा भएर निस्कन्छन् त ? भन्छन् लोकतन्त्रलाई अझै सुदृढ बनाएर लैजान्छौं। यिनलाई सद्बुद्धि आइदेओस् लोकतन्त्र केवल बोली मात्र होइन व्यवहार र संस्कार पनि हो।

यो प्रवृत्तिले न समाजलाई एकताबद्ध बनाउन सक्छ न त मुलुकलाई निकास नै दिन सक्छ। यो त फगत नेता बन्ने रहर मात्र हो; कथित सम्झौताहरूका बुँदा दिनप्रतिदिन थपिंदै छन्। अनुहार थपिंदै छन्। त्यसमा यो समाज र राष्ट्रलाई के दिने भन्ने प्राथमिकता पर्दैन; पर्छ त केवल व्यक्तिगत स्वार्थ।

नेपाली समाजलाई यस्तो नेता र दल चाहिएको छ, जसले हालसम्मको उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई थप निकास देओस् न कि केवल अपशब्दको संज्ञा मात्र। नेपाली समाजलाई एकताबद्ध र सुदृढ बनाउन हर क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरोस्।

आफूलाई प्रधानमन्त्रीमा योग्य भनिरहँदा एकपटक सोचिदेओस् मैले यो मुलुकलाई हालसम्म के दिएको छु, संविधानलाई च्यात्ने र फाल्ने होइन अपनत्व र समयानुकूल सापेक्षित रूपमा परिमार्जन गर्न बहस र पहलकदमी गरिदेओस्, नेपालको भूराजनीतिक जटिलता भौगोलिक अवस्थिति भित्रका विविध जातजाति र समाजलाई केन्द्रमा राख्न सकोस् देश रूपान्तरण गर्न सक्ने ब्लुप्रिन्ट कोर्न सकोस् न कि सञ्जाल अनुकूलको एजेण्डा र त्यसै अनुसार आफू बन्ने एजेन्डा।

पछिल्लो समय नेपाली कांग्रेसभित्र गगन–विश्वले गरेको विद्रोह लोभलाग्दो छ। जसले चटके नेता बन्ने रहर बोकेकालाई गतिलो झापड हिर्काएका छन्; यो सबैका लागि उदाहरणीय छ। उनीहरूले इतिहासलाई गाली गरेनन् बरु अपनत्व लिए र भविष्यको लागि उचित कार्ययोजना पनि निर्माण गरेका छन्। अझ भन्छन् मलाई कारबाही गर्ने शेरबहादुर देउवासँग नै म आशीर्वाद लिन जान्छु। यस्तो संस्कार सबैका लागि उदाहरणीय र यो मुलुकका लागि फाइदाजनक छ।

समय र आवश्यकता अनुसार जन्मिएका अनुहार समयको माग अनुसार परिपक्व हुनु आवश्यक छ। अन्यथा चैतमा प्रयोग हुने ठुटे हलो बर्खामा प्रयोग नभएर ढिस्कामा फ्याँके जस्तै प्रयोगहीन हुन्छन्। बर्खाको खहरे हिउँदमा सुके जसरी मौसमी नेता बन्ने होइन कि नदी जस्तै सदाबहार बगिरहने नेतृत्व विकास गर्नु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?