+
+
Shares

प्रचण्ड-माधवको प्रस्ताव अस्वीकार गर्दै हरिबोलले भने- विद्रोहको झण्डा उठाएँ

उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी

‘गगन थापाले आँट गरेर सफल भए । ईश्वर पोखरेलले सुरु गरे तर सफल भएनन्  । तर अब हरिबोल गजुरेल लड्छ र सफल हुन्छ भनेको छु प्रचण्ड र माधव नेपाललाई,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:२०

९ माघ, काठमाडौं । सिन्धुली–२ मा लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका नेकपाका नेता हरिबोल गजुरेलले आफू पूर्वको केन्द्र मानिने सिन्धुली जिल्लाबाट विद्रोहको झण्डा उठाएको बताएका छन् ।

शुक्रबार साँझ करिब २ घण्टासम्म गजुरेलले संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

सिन्धुली–२ मा गजुरेलनै प्रस्तावक बसेर महेश्वर दाहाललाई बागी उम्मेदवारी दर्ता गराइएको छ । प्रचण्ड–माधवले गजुरेललाई काठमाडौं बोलाएर टिकट फिर्ता गराउन आग्रह गरेका थिए ।

तर, उनले महेश्वरको उम्मेदवारी फिर्ता नगर्ने प्रचण्ड–माधवलाई बताएका छन् ।

‘हामीले तपाईं गतिशील नेता भएकाले तपाईंले निर्णय गर्न सक्नुहुन्छ भन्ने अपेक्षासहित हामी आएका हौं, राजन दाहालको उम्मेदवारी फिर्ता गराएर सहयोग गर्नुस् भन्यौं । उहाँले उल्टै तपाईंहरुले फिर्ता लिनुस् भन्नुभयो,’ गजुरेलले अनलाइनखबरसँग भने, ‘तर हामीले मानेनौं । हरिबोल गजुरेलको काम छैन भन्नुहुन्छ भने म फिर्ता गराउँछु भनेँ । उहाँले तपाईं पार्टीमा चाहिन्छ तर महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिनुस् नत्र कारबाही हुन्छ भनेर धम्क्याउनुभयो ।’

गजुरेलका अनुसार उनीहरूबीच डेढ घण्टा छलफल भएको थियो ।

पार्टीमा स्वेच्छाचारिता, निरंकुशता, परिवारवाद हाबी भएकाले विद्रोह भएको गजुरेलको भनाइ छ ।

‘मैले भनेँ– यो पार्टीमा स्वेच्छाचारिता, निरंकुशता, परिवारवाद हाबी भएकोविरुद्ध उठेको विद्रोहको झण्डा हो । मैले पूर्वको केन्द्र सिन्धुलीबाट विद्रोहको झण्डा उठाएँ,’ उनले भने, ‘अब यो पार्टीमा उकुसमुकुसमा परेका, उत्पीडनमा परेका अरु थुप्रै नेता–कार्यकर्ता पनि विद्रोहमा आउँछन् भनिदिएँ ।’

उनले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आँट गरेरै सफल भएको बताउँदै आफू लड्ने र सफल हुने कुरा प्रचण्डलाई बताएको जिकिर गरे ।

‘गगन थापाले आँट गरेर सफल भए । ईश्वर पोखरेलले सुरु गरे तर सफल भएनन्  । तर अब हरिबोल गजुरेल लड्छ र सफल हुन्छ भनेको छु प्रचण्ड र माधव नेपाललाई,’ उनले भने ।

प्रचण्डले उम्मेदवार सिफारिस कमिटीलाई पूरै लत्याएको उनको आरोप थियो ।

‘उम्मेदवार सिफारिस गर्न बनाएको कार्यदलले क्षेत्र नम्बर १ मा राजन दाहाललाई सिफारिस गरेको थियो,’ उनले थप भने, ‘क्षेत्र नम्बर २ मा हरिबोल गजुरेलको नाम एक नम्बरमा र प्रचण्डको नाम दुई नम्बरमा राखेर सिफारिस गरेको थियो । महेश्वर दाहालको नाम चौथो नम्बरमा थियो । प्रचण्डले त एक नम्बर क्षेत्रमा सिफारिस भएका राजन दाहाललाई २ नम्बर क्षेत्रमा ल्याएर उम्मेदवार बनाउनुभयो ।’

यो कुरा थाहा पाएपछि जिल्ला कमिटीले निर्णय पुनर्विचार गर्न भनेर एकमतले निर्णय गरेर प्रचण्डलाई अनुरोध गरिएको पनि उनले बताए ।

‘राजन दाहाल बाहेक अरु नेता छँदैछैन जस्तो भाष्य खडा गरियो । तर राजन दाहाल बाहेक पनि एकसेएक क्षमतावान र चुनाव जित्ने नेताहरु छन् सिन्धुलीमा,’ गजुरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?