९ माघ, काठमाडौं । आफूलाई शाखा अधिकृत भन्दै व्यक्तिगत तथ्यांक संकलन गर्ने एक जना नक्कली अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँका कृष जिसी रहेका छन् ।
जिसीले गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्यांक लिन खोज्ने क्रममा पक्राउ परेको अध्यागमन विभागले जनाएको छ ।
जिसीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको विभागले जनाएको छ।
विभागका अनुसार आज शुक्रबार उनी निजामती पोशाकमै थिए । परिचयको क्रममा निजले आफू ब्याज ३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका थिए ।
उनले विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचय पत्र देखाई काठमाडौंको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाएको विभागको भनाइ छ ।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकोले होटलका बाउन्सरले गृहका तिनै नक्कली अधिकृतसँग पैसा असुली गरिदिन सहयोग मागेका थिए । सो अनुसार नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए ।
विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए । उनले निजलाई कालोसूचीमा राखिदिन समेत अनुरोध गरेका थिए ।
नक्कली अधिकृतले यस अघि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचय पत्र समेत लिएको खुलेको छ ।
अध्यागमन विभागको इन्टेलिजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचय पत्रमा कर्मचारी संकेत नम्बर अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको छ ।
प्रतिक्रिया 4