News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका 'ए' सँगको तेस्रो अभ्यास टी-२० खेल ७ विकेटले जितेको छ।
- नेपालले १३३ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।
- टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ।
१० माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ ।
शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए । आरिफ शेखले अविजित २४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । चमिका करुणारत्नेले सर्वाधिक ३८ रन बनाइ । निरोशन डिक्वेलाले ३३ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १-१ विकेट लिए ।
आजको अभ्यास खेलपछि नेपाली टोली अब भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
तस्वीर : क्यान
प्रतिक्रिया 4