News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली करातेकी स्टार एरिका गुरुङ टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ मा महिला ६८ केजीमाथि फाइनल पुगेकी छिन् ।
- एरिकाले फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन् ।
- एरिका र सोफिया बीच यो तेस्रो अन्तर्राष्ट्रिय भिडन्त हो ।
११ माघ, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा अर्को इतिहास रचेकी छिन् । टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ मा एरिकाले ऐतिहासिक प्रदर्शन गर्दै फाइनल पुगेकी हुन् ।
महिला ६८ केजीमाथी तौल समूहमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४-१ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन् ।
एरिकाले अब स्वर्ण पदकका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन् । यो फाइनल जित्ने सके एरिकाले ऐतिहासिक उपलब्धि हासिल गर्नेछिन् ।
एरिकाले समूह चरणमा चिलीकी खेलाडी गोन्जालेज लाभिन जाभेइरालाई २-१ ले र चेक रिपब्लिककी खेलाडी हाकोभा अमालीलाई ५-३ ले पराजित गर्दा जापानी खेलाडी सुगिता सुमाइरेसँग २-२ को बराबरी खेलेकी थिइन् । यस्तै क्वाटरफाइनलमा साइप्रसकी खेलाडी थेडोसिया जियोमौकीलाई ५-१ ले पराजित गरेकी थिइन् ।
एरिकाले गत वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । यस पटक उनले फाइनलमा स्थान बनाउँदै अर्को इतिहासतिर लम्किएकी छन् ।
अर्कोतर्फ सोफियाले क्रोएसियाका निकोलिना गोलोम्बोसलाई ३-१ ले हराएर फाइनल पुगेकी हुन् ।
६८ केजीमाथि तौल समूहको इभेन्टमा एरिकाको प्रदर्शनलाई डब्लुकेएफले पनि दिनको उत्कृष्ट प्रदर्शन भएको जनाएको छ ।
सोफिया एरिकाका लागि चिरपरिचित प्रतिस्पर्धी हुन् । यसअघि पनि यी दुईबीच विभिन्न प्रतियोगिता खेल भइसकेको छ र नतिजा मिश्रित आएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा एरिका र सोफिया तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा सोफिया र एरिका फाइनलमा भिडेका थिए । त्यसपछि सोफिया विजयी हुँदै स्वर्ण जित्दा एरिकाले रजत जितेकी थिइन् ।
यस्तै चीनमै भएको २०औं एकेएफ कराते च्याम्पियनसिपमा भने एरिकाले सोफियालाई सेमिफाइनलमा हराएकी थिइन् । एरिकाले सोफियालाई आफ्नो आइडल खेलाडी मान्ने गरेकी थिइन् । त्यसैले यी दुई खेलाडीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
प्रतिक्रिया 4