News Summary
Generated by OK AI. Editorially reviewed.- ११औं प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता माघ २४ गते काठमाडौंमा 'बलियो एकता, सुरक्षित राष्ट्र' नारासहित आयोजना हुने भएको छ।
- प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० कि.मि. दौड, ५ कि.मि. वाकाथन र ५ कि.मि. दौड समावेश गरिएको छ र करिब २५०० जनाको सहभागिता रहनेछ।
- म्याराथन पुरुष खुल्ला प्रथम हुने खेलाडीलाई रु. ३ लाख नगद र मोटरसाइकल पुरस्कार दिइने व्यवस्था गरिएको छ।
११ माघ, काठमाडौं । ११औं प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।
नेपाली सेनाले महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित सञ्चालन गरिँदैछ।
खेलकुदमार्फत सामाजिक एकता मजबुत बनाउने र नागरिक–सैनिक सम्बन्ध प्रगाढ गर्ने उद्देश्यका साथ सन् २०७२ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौँ संस्करण हो।
प्रतियोगितामा म्याराथन (४२.१९५ कि.मि.), हाफ म्याराथन (२१ कि.मि.), १० कि.मि. दौड, ५ कि.मि. वाकाथन र ५ कि.मि. दौड समावेश गरिएको छ। म्याराथन विधा पुरुष खुल्ला मात्र रहनेछ भने हाफ म्याराथन महिला तथा पुरुष दुवैका लागि खुल्ला हुनेछ।
१० कि.मि. दौडमा सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत कर्मचारी, सैनिक महाविद्यालय तथा अवकाश प्राप्त/सेवारत सैनिकका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी र गैरसैनिक व्यक्तिका कक्षा १०–१२ मा अध्ययनरत छोरा–छोरी सहभागी हुन पाउनेछन्।
५ कि.मि. वाकाथनमा प्रमुख अतिथि तथा आमन्त्रित विशिष्ट व्यक्तित्वहरू सहभागी हुनेछन् भने ५ कि.मि. दौडमा सैनिक महाविद्यालयका कक्षा ७–९ मा अध्ययनरत छात्र–छात्रा सहभागी हुनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा करिब २५०० जनाको सहभागिता रहनेछ। यसमा म्याराथनतर्फ २५०, हाफ म्याराथन ६००, १० कि.मि. दौड ८००, ५ कि.मि. वाकाथन ४५०, ५ कि.मि. दौड १०० र अफिसियल ३०० जना रहनेछन्।
खेलाडी दर्ता माघ ११ देखि १८ गतेसम्म हुनेछ भने दर्ता पूर्ण रूपमा निःशुल्क रहनेछ। दर्ता अनलाइन उपलब्ध भए पनि फाराम भरेर स्वयं उपस्थित भई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
खेलाडी तथा पाहुनाहरूलाई टिसर्ट र प्याक लन्च प्रदान गरिनेछ। म्याराथन धावकहरूको माघ २३ गते स्वास्थ्य परीक्षण गरिनेछ भने प्रतियोगिताको क्रममा दक्ष मेडिकल जनशक्ति सहित एम्बुलेन्स, स्कटिङ मोटरसाइकल, बस तथा सुरक्षा व्यवस्था मिलाइनेछ। प्रत्येक २.५ किलोमिटरमा चेकपोइन्ट, वाटरपोइन्ट र स्पोन्जिङ पोइन्टको व्यवस्था गरिएको छ।
नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजंग राणाले प्रतियोगिता खुल्ला भएकाले स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाउन पाउने जानकारी दिए।
यस वर्ष समय अभावका कारण विदेशी खेलाडीलाई व्यवस्थित रूपमा समावेश गर्न नसकिएको उल्लेख गर्दै आगामी संस्करणहरूमा यसलाई कार्यान्वयन गरिने बताए।
नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले प्रधानसेनापति खुल्ला म्याराथनले नेपाली एथ्लेटिक्सको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गरे।
पुरस्कार
पुरस्कार संरचनाअनुसार म्याराथन (४२.१९५ कि.मि.) पुरुष खुल्ला विधामा प्रथम हुने खेलाडीलाई नगद रु. ३ लाख प्रदान गरिनेछ। द्वितीय हुनेले रु. २ लाख र तृतीय हुनेले रु. १ लाख प्राप्त गर्नेछन्। चौथो स्थानमा आउने खेलाडीलाई रु. ५० हजार, पाँचौँलाई रु. ३० हजार, छैटौँलाई रु. २५ हजार, सातौँलाई रु. २० हजार, आठौँलाई रु. १५ हजार, नवौँलाई रु. १० हजार र दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई रु. ५ हजार नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
हाफ म्याराथन (२१ कि.मि.) महिला तथा पुरुष खुल्ला विधामा महिला र पुरुष दुवैका लागि समान नगद पुरस्कार संरचना राखिएको छ। दुवै वर्गमा प्रथम हुने खेलाडीले रु. १ लाख, द्वितीय हुनेले रु. ७५ हजार र तृतीय हुनेले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
१० कि.मि. दौड अन्तर्गत सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयमा कार्यरत कर्मचारी, र खुल्ला समूह (महिला/पुरुष) सबै समूहमा समान नगद पुरस्कार व्यवस्था गरिएको छ। यसअन्तर्गत प्रथम हुनेलाई रु. १० हजार, द्वितीय हुनेलाई रु. ७ हजार र तृतीय हुनेलाई रु. ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
५ कि.मि. दौड (सैनिक महाविद्यालयका कक्षा ७–९ अध्ययनरत छात्र/छात्रा) तर्फ पनि छात्र र छात्रा दुवैका लागि समान नगद पुरस्कार संरचना रहेको छ। यस विधामा प्रथम हुनेले रु. १० हजार, द्वितीय हुनेले रु. ७ हजार र तृतीय हुनेले रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यी नगद पुरस्कारका अतिरिक्त विशेष पुरस्कारअन्तर्गत ४२.१९५ कि.मि. म्याराथन पुरुष प्रथम हुने खेलाडीलाई एक थान मोटरसाइकल, २१ कि.मि. हाफ म्याराथन पुरुष प्रथम हुने खेलाडीलाई एक थान मोटरसाइकल र २१ कि.मि. हाफ म्याराथन महिला प्रथम हुने खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया 4