+
+
Shares

बाबुरामले उम्मेदवारी फिर्ता लिएपछि गोरखा-२ जित्ने निश्चितजस्तै भयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:४५

११ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे ।

गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए ।

उम्मेदवारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमश: सुधार हुँदै जाने उनको विश्वास थियो ।

जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त उनले गरे ।

संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको पनि बताए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए ।

मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे ।

पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादबाट हल गरिएको र नमिलेका एक दुई ठाउँमा अनशासनको कारबाहीमार्फत क्रमश: समाधान हुँदै गएको उल्लेख गर्दै उनले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गरे ।

बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?